१५ चैत्र २०८०, बिहीबार

 

‘जेरी’ ले फेरेको जिन्दगी (फोटोकथा)

जेरी भन्दा साथ सबैको मुख पानीले भरिन्छ । जति जटिल रुपले जेरी बनेको हुन्छ त्यति नै मिठो स्वाद जेरीको हुन्छ । या भनौं, हेर्दा गोलो तर जेलिएको, खाँदा स्वाद मिठो । जिन्दगीको यात्रा पनि यस्तै छ । अनेक यात्राका घुम्तीहरु पनि जेरी झै जेलिएका छन् । यही जेरी झै जेलिएको जिन्दगीको यात्रालाई मिठास बनाउन जो कोहीले कहाँ सक्छ र ?

बागलुङ नगरपालिका ६ भान्छा (लहरे पिपल) का टिकाराम सापकोटाको जिन्दगी यही जेरीले फेरिदिएको छ । बाबा नारायणदत्त सापकोटा र आमा पूर्णकली सापकोटाका उनी कान्छा छोरा हुन् ।

जिन्दगीका उकाली ओरालीका ती यात्राहरुलाई अहिले सफल व्यवसायीका रुपमा परिचित गराइ दिएको छ त्यहि जेरीले ।
१३ बर्षको उमेरमा भारत पुगेका उनी बुम्बई, दिल्ली र सिलाङ्गमा तीन बर्ष विताए । त्यहि बेला उनले एक माडवारीको घरमा काम गर्ने मौका पाए ।


हरेक हप्ता जसो माडवारी मिठाईका परिकार बाहिरबाट मगाउने गर्दथ्यो । त्यही बेलामा एक दिन उनले मिठाइ बनाउने र ल्याउने त्यो व्यापारीलाई भेटे । उसले त्यही जेरी बनाएको देखे । त्यसपछि उनको मनमा जेरीको परिकारका साथै अन्य मिठाईका परिकार बनाउने भूत चढ्यो । उक्त व्यापारीलाई नेपालसँगै ल्याउने सोच पनि बनाए तर उसले नमानेपछि उनी नेपाल एक्लै फर्किए । २०४६ सालमा फूलमाया सापकोटासँग लगनगाँठो कसे । २४ बर्षको उमेरबाट शुरु भएको उनको व्यापारको यात्रा अहिले युवा, सफल व्यापारीको रुपमा स्थापित भएको छ ।


व्यापारीमा पहिलो पुस्ता
उनी आफ्नो खानदानको व्यापारीमा पहिलो पुस्ता हुन् । जब गाउँबाट बजारमा व्यापार गर्नको लागि झर्ने उनले सोच बनाए त्यतिबेला उनीमाथि थुप्रै आशंका गाउँलेहरुले गरे । कान्छो छोरो काम गर्ने गाह्रो भयो त्यसैले व्यापार गर्ने भूत पालेको छ । बजार झर्छ, केही समयमा डुब्छ त्यसपछि भएको बाउबाजेको जेथा पनि बेच्छ । अनि टाट पल्टिन्छ । उनीमाथि गाउँलेले लगाएको गम्भीर मिथ्या आरोप थियो । तर गाउँलेको त्यो सोच गलत सावित गरिदिएका छन् । २४ बर्षदेखि निरन्तर यही मिष्ठान्न (जेरी) पेसामा लागेका उनी अहिले मिष्ठान्न व्यवसायीहरुको नेता बनेका छन् ।

 

१४ हजारमा साला भेनाको पसल
२०५२ साल जतिबेला नेपालमा सशस्त्र द्वन्द्वको प्रारम्भ भएको थियो । त्यहि बेलामा भेना (देवीलाल कडेँल) सँग मिलेर शिवधार चोकमा चिया पसल थापे । आधा आधा लगानीमा चिया पसलबाट शुरु गरेको उनको व्यवसायको यात्रा २ बर्षमा विभाजन हुन पुग्यो । अर्थात् भेना सालाले छुट्टाछुट्टै पसल खोल्ने निर्णय गरे ।


कर्जामा बस खरिद
चिया पसलबाट शुरु भएको उनको व्यवसायिक यात्रामा फेरी अर्को नयाँ व्यवसाय र सेवा थपियो । कर्जामा उनले बस किने । लामो दुरीको रात्रीकालिन यात्रा शुभराम्भ गरे । ‘यस बाट राम्रो कमाइ हुन सकेनन् त्यसैले गाडी बेचिदिए र फेरी यही व्यवसायमा लगानी बढाएर थप व्यवस्थित बनाउने सोच बनाए ।’ उनले भने ।

सफल मिष्ठान्न व्यवसायी
१० लाख लगानीमा आफ्नो व्यवसायलाई थप विस्तार गरे । अहिले उनी युवा सफल मिष्ठान्न व्यवसायी बन्न सफल भएका छन् । अहिले धौलागिरी खाजा घर एण्ड मिठाई पसलबाट उनले सेवा दिइरहेका छन् । यहाँ ३२ प्रकारका दूध र बेसनबाट बनेका परिकारहरु पाइन्छ । साथमा नास्ता, चिया पनि खुवाउने गरेका छन् । यसमा श्रीमती फूलमायाको पनि राम्रो साथ छ ।

मासिक ३० हजार नाफा
अहिले उनले व्यापारबाट मासिक ३० हजार नाफा निकाल्ने गरेका छन् । २ जनालाई समेत रोजगारी दिएका उनको पसलमा चार जनाले निरन्तर काम गरिरहेका हुन्छन् । यसैबाट २ छोरी एक छोराको शिक्षा दिक्षा, पालनपोषणका साथै आफ्नो परिवार चलाइरहेका छन् । जिन्दगीको कमाईबाट बचत गरेको हिस्साले घरघडेरी समेत जोर्न भ्याएका छन् ।


संघीयताले व्यापारमा समस्या
विगतको तुलनामा बागलुङ बजारको व्यापार घटेको उनको तर्क छ । संघीयताले उनी जस्ता २६ मिष्ठान्न व्यापारीहरुको रोजीरोटीमाथि लात हानेको छ । ‘पहिलेको तुलनामा व्यापार कम छ, व्यापार कम भएपछि कमाइ कम नै हुने भो ’ उनले भने ।
मिष्ठान्न व्यवसायी संघ बागलुङका अध्यक्ष समेत रहेका उनले मिष्ठान्न व्यवसायीहरुका धेरै समस्याहरु रहेको बताउँछन् । केही मिष्ठान्न व्यवसायीहरुले अस्वस्थ्य प्रतिस्पर्दा गरेको उनी बताउँछन् । हामी मिष्ठान्न व्यवसायीहरुले एकै दररेट राख्ने नियम बनाएका छौं । यस्ता पसलमा खैनी, चुरोट तथा मद्यपान निषेध गरिएको छ तर केही यस्ता मिष्ठान्न व्यापारीहरु पनि छन् जसले अस्वस्थ प्रतिस्पर्दामा हात हालेका छन् । सापकोटाले भने ।

स्थानीय तहसँग माग
मिष्ठान्न व्यवसायी संघको अध्यक्ष भएका कारण उनको स्थानीय तह (बागलुङ नगरपालिका) ले विभिन्न ठाउँमा सार्वजनिक शौचालयको व्यवस्था गर्नुपर्नेमा जोड छ । सार्वजनिक शौचालय नभएका कारण समस्या झलेका बटुवाहरुको समस्या समाधानका लागि आवश्यक पूर्वधार निर्माण गर्नुपर्ने उनको सुझाव छ ।

बजारको अनुगमन गरी अस्वस्थ प्रतिस्पर्दा गर्ने र मापदण्ड विपरित व्यवसाय संचालन गर्नेहरुलाई कारवाही गर्नुपर्नेमा उनको जोड छ ।

(टीकाराम सापकोटासँग पत्रकार महेन्द्र केसीले गरेको कुराकानीमा आधारित)

प्रतिक्रिया दिनुहोस्