१३ बैशाख २०८१, बिहीबार

 

चारसयले ‘करोडपति’

बागलुङ । नेपालमा केही हुदैन, कमाउन र सपना साकार पार्नको लागि विदेश नै जानुपर्छ भन्नेहरुको लागि बलेवाका यदुनाथ घिमिरे अपवाद हुनसक्छन् । कमाउन र प्रगति गर्नको लागि विदेश नै जानुपर्छ भन्ने अहिलेका पुस्ताका लागि प्रेरक बन्न सक्छन् ।

झण्डै २९ वर्ष व्यवसायमा लागेका बागलुङ नगरपालिका १२ बलेवा ,अमलाचौरका यदुनाथ घिमिरे कमाउन र भविष्य बनाउनको लागि विदेश जाने सोच कहिल्यै बनाएनन् । बरु उनले आफ्नै देशमा केही व्यवसाय गर्ने अठोट गरे । ५६ बर्षका यदुनाथले २०४६ सालमा पोखरामा सामान्य चिया पसल खोलेर आफ्नो व्यवसायको प्रारम्भ गरे । नजिकै रहेको स्कूलका केटाकेटीलाई चक्लेट बेच्थे ।

मात्र ४ सय रुपैँयामा संचालन गरेको उनको त्यो व्यवसाय र त्यतिबेलाको उनको सोच अहिलेको अवस्थामा आइपुग्ने छु भन्ने सायद थिएन होला । उनले यो कल्पना सायद गरेका थिएनन् पनि होला ।


जिन्दगी चलाउन पाए हुन्थ्यो भन्ने उनको सोच थियो होला तर अहिले उनी २९ वर्ष लामो व्यवसायबाट सफल व्यवसायीका रुपमा स्थापित भइसकेका छन् । त्यतिमात्रै होइन करोडौंका मालिक समेत बनेका छन् ।

यसरी भयो शुरुवात
पोखराबाट व्यवसायको थलानी गरेका यदुनाथले २०५२ सालमा बागलुङ पुरानो वसपार्कमा चिया पसलका साथै  मिठाइ पसल खोले । आफै जेरी, विभिन्न प्रकारका मिठाई बनाउन जानेका यदुनाथले २०५९ सालसम्म यो व्यवसाय चलाए ।

२०५९ सालदेखि बागलुङ नगरपालिका ३ नारायण चोकमा धौलागिरी मसला उद्योग संचालन गरे । साना तथा लघु उद्योग अन्तरगत संचालन गरेको मसला उद्योगले अहिले उनलाई करोडपति बनाइदिएको छ ।

डेढ लाखको लगानीमा शुरु भएको उक्त मसला उद्योगमा अहिलेसम्म यदुनाथले झण्डै १० लाख लगानी गरेका छन् । तर प्रतिफल त्यसको तेब्बर मिलेको छ ।

उत्पादन केके हुन्छ ?
खुर्सानीको धुलो, चिया मसला, मसलाको धलो ,मरिच पाउण्डर, टिमुरको छोप, टिमुरको धुलो, बेसार, अदुवा आदीको अहिले उक्त उद्योगमा उत्पादन हुने गरेका समाग्री हुन् ।

उद्योगका लागि आवश्यक पर्ने कज्जा पदार्थ स्थानीय स्तरमा पाएसम्म नपाए विरगञ्जदेखि ल्याउने गरेको उनले बताए ।


बागलुङ बजार केन्द्रीत व्यवसाय
यदुनाथले शुरुका दिनहरुमा आफ्नो उद्योगमा उत्पादन भएको वस्तुहरु छिमेकी जिल्ला म्याग्दी, पर्वतसम्म पु¥याउने गर्थे तर अहिले उनको व्यवसाय बागलुङ बजारमा मात्रै समिति भएको छ ।

‘उमेरले पनि साथ दिएन्, काम गर्ने जोश जाँगर त्यतिबेलाको जस्तो छैन, त्यसैले पनि होला व्यवसायलाई विस्तार गर्न गाह्रो भइराखेको छ’ उनले भने ।

बागलुुङ बजारमा माग भएको ठाउँमा आफै मोटरसाइकलमा ढुवानी गर्ने गरेको छु यदुनाथले भने ।


आम्दानीले घरघडेरी
यही उद्योगबाट भएको आम्दानीले आफूले घर घडेरीसम्म जोर्न भ्याएको उनी बताउँछन् । अहिले दैनिक १० देखि १५ हजारसम्मको मसला विक्री हुने गरेको बताउने यदुनाथले २ जना महिलालाई समेत रोजगारी दिएका छन् ।

एउटा छोरा अमेरीका छ । कान्छो छोरो अहिले १० कक्षामा पढ्दै छ । यही व्यवसायबाट भएको आम्दानीले अहिले सबै खर्च चलेको छ । व्यवसायबाट सन्तुष्ट छु उनले भने ।

(घिमिरेसँग पत्रकार महेन्द्र केसीले गरेको कुराकानीमा आधारित)

प्रतिक्रिया दिनुहोस्