१५ चैत्र २०८०, बिहीबार

 

राति पनि समाजकै काममा चिन्तनशिल रहने ज्ञानबहादुर (टक शो)

सामाजिक कामको चासो र चिन्ताले रातमा निद्रा नलाग्ने मान्छे पनि हाम्रै समाजमा छन्, भन्दा पत्यार नलाग्न सक्छ । किनभने अहिलेको मान्छे चाहेर वा नचाहेरै पनि आफ्नो हित, प्रगति र स्वार्थ पूरा गर्ने दौडमा छ । आफ्नो वा परिवारको हित प्रवद्र्धन गर्न होस् या पैसा कमाउन । मानिसलाई आफ्नै काम फत्ते गर्न भ्याई नभ्याई छ ।

अक्सर यी यस्ता व्यक्तिगत काम र बाध्यता बिच जेलिएका धेरै मान्छे भेटिने नेपाली समाजमा सामाजिक प्रगतिमा अहोरात्र खट्ने मानिस पनि छन् । यस्तै एक पात्र हुन्, गलकोट मल्मका ज्ञानबहादुर थापा । जीवनको उर्जाशिल समय भारतीय सैनिक सेवामा खर्चेका थापा सेनामा सेवारत रहँदा पनि आफ्नो गाउँको समृद्धिको बारेमा चिन्तनशिल हुन्थे ।

गलकोट नगरपालिका–७ मल्म घर भएका थापाले अहिले आफ्नो पेशा व्यवसायसँगै सामाजिक सेवालाई पनि अघि बढाएका छन् । पाँच कक्षा मात्र पढेर सेनामा भर्ती भएका उनले जागिरकै क्रममा समेत अध्ययन गर्न भ्याए । सानो पदमा बसेर पनि ठूलो पदका अधिकारीले गर्ने कामको जिम्मेवारी समेत पुरा गरे ।

पल्टनमा हुँदा पनि जन्मभूमिकै माया
‘पल्टनमा रहँदा पनि मलाई आफ्नो जन्मभूमिमै रहेर काम गर्न पाएको भए भन्ने लाग्थ्यो,’ थापाले भने, ‘तर विभिन्न बाध्यताले अर्काको देशमा काम गर्न परेपनि मैले आफ्नो जिम्माको कामलाई सकेजति राम्रो गर्ने प्रयास गर्थें ।’

जन्मभूमिमा केहि गर्नुपर्छ भन्ने मान्यता बोक्ने उनलाई भारतमा रहँदा पनि यो सोचले घचघच्याउन छोडेन । सेनामा २० वर्ष काम गरेपछि उनले नेपाल फर्केर गाउँको लागि सक्दो कार्य गर्ने अठोट गरे । उनले यस्तो निर्णय सुनाउँदा पल्टनका माथिल्लो दर्जाका अफिसरले समेत तिमीजस्तो मान्छे हामीलाई चाहिन्छ । यहिँ काम गर । तिम्रो लगावले बडुवा भएर यो भन्दा माथिल्लो पदमा पुर्याउँछ । यस्तै यस्तै भन्थे ।

मल्ममा विजुली पुराउन अगुवाई
उनलाई जन्मेको माटोको मायाँले तन्यो । विसं २०५८ सालमा गाउँ फर्किए । टुकि बालेर रातको अध्यारो काट्नुपर्ने बाध्यता रहेको मल्ममा केन्द्रीय विद्युत पुर्याउने कामको अगुवाई गरे । घुम्टे विद्यूतिकारण उपभोक्ता समितिको अध्यक्ष बनेर गाउँमा विजुली लैजाने कामको थालनी गरे । थापाले ७ वर्षसम्म नेतृत्वमा खटेर मल्मका साढे ८ सय घरधुरीमा उज्यालो पुराए ।

‘यति ठूलो क्षेत्रमा फैलिएको ठाउँमा विजुली लैजाने सपना हाम्रो निकै ठूलोजोखिमले भरिएको सपना थियो,’ थापाले भने, ‘स्थानीय बासिन्दा र अगुवाको लगातारको प्रयासबाट हामीले सबै घरमा एकै पटक विजली बाल्ने सक्यौँ । त्यो पल मेरो जीवनकै सबैभन्दा खुशीको क्षेण थियो ।’ थापाले स्थानीय २ दर्जन बढी संघसंस्थाको सक्रिय भूमिकामा रहेर मल्मको सामाजिक, आर्थिक, शैक्षिक, पर्यटन, बाटोघाटो लगायत सम्पूर्ण पक्षको सुधारमा अतुलनिय योगदान पुराएका छन् ।

सडक र मन्दिरमा १३ लाख लगानी
थापाले सामाजिक कार्यका लागि अगुवाईमात्र होईन आर्थिक लगानी समेत गरेका छन् । उनले सानोखोला जनहित मावि मल्म भल्साँ मोटरबाटो खन्दा ८ लाख लगानी गरे । त्यस्तै स्थानीय शिद्धेश्वर शिवालय मन्दिर निर्माणका लागि पनि उनले ५ लाख रुपैयाँ आर्थिक सहयोग गरे । ‘समाजको काममा सानातिना सहयोग त कति गरियो कति,’ उनले खुशी हुँदै भने, ‘सानो खोलादेखि जनहित मावि हुँदै मल्म भल्साँसम्मको बाटो र शिद्धेश्वर शिवालय मन्दिरमा गरि १३ लाख भन्दा बढी सहयोग गरेको छु ।’ उनले मल्म पाण्डवखानी सडक निर्माणको क्रममा पनि सक्रिय भुमिका निर्वाह गरेका थिए ।

हिसाब पारदर्शी भएनकी भनेर रातमा उठेर खाता हेर्छु
उनी आफूले गरेका सामाजिक कामको आर्थिक पारदर्शीतामा सबैभन्दा भढी ध्यान दिन्छन् । दिनमा गरेको हिसावमा चित्त बुझेको छैन भने सुतिसकेपछि पनि रातमा उठेर फेरी हेर्न थाल्छन् । ‘मैले आफ्नो जिम्मेवारीमा रहेका हरेक कामलाई सकेजति राम्रो गर्ने प्रयास गर्छु,’ थापाले भने, ‘एक पटक गरेको हिसाब चुस्त भयो भएन भनेर मलाई पटक पटक खुल्दुली हुन्छ । पूर्णसन्तुष्टि नभएसम्म रातमा उठेर पनि कापी ,कलम लिएर हिसाबमा घोत्लिन्छु ।’ थापाले आफूलाई घरको र व्यक्तिगत काममा भन्दा सामाजिक काम गर्दा बढी सन्तुष्टी पाप्त हुने बताउँछन् ।

प्रस्तुत छ, समाजसेवामा रमाउने थापासँग ‘नयाँविश्व टक शो’मा कृष्णा कँडेलले गरेको अन्तरंग कुराकानी ।

प्रतिक्रिया दिनुहोस्