१३ बैशाख २०८१, बिहीबार

 

पर्यटन प्रर्वद्धनका लागि काठेखोलामा चार जिल्लाका १९ पालिकाको बृहत सम्मेलन

बागलुङ । काठेखोला गाउँपालिकाको विहुँमा चार जिल्लाका १९ स्थानीय तहहरुको बृहत भेला हुने भएको छ । यही माघ १२ र १३ गते काठेखोला गाउँपालिकामा रहेका पर्यटकीय क्षेत्रको प्रर्वद्धनको लागि बृहत भेला हुन लागेको हो ।

पुर्वमा पोखरा, पश्चिममा ढोरपाटन, दक्षिणमा लुम्बिनी र उत्तरमा मुक्तिनाथलाई आधार मानेर पर्यटकीय क्षेत्रको विकास र सम्भावनाको खोजीका लागि सहकार्य कार्यशाला गोष्ठीको आयोजना गरिएको हो ।

बागलुङका दश स्थानीय तहसहित म्याग्दीका तीन, पर्वतका तीन र गुल्मी जिल्लाका तीन वटा गाउँपालिका तथा नगरपालिका उक्त गोष्ठिमा सहभागी हुनेछन् ।

गाजाको दहबाट देखिने स्थानीय तहलाई कार्यशालामा सहभागी गराउन लागिएको हो । बागलुङको जैमिनी नगरपालिका–२ दमेकमा रहेको गाजाको दहमा कार्यशाला गोष्ठीको तयारी भैरहेको धौलागिरी पर्यटन प्रबद्र्धन समितिका संयोजक खिमानन्द कँडेलले जानकारी दिए ।

मन्त्रीस्तरीय टोली सहभागी
गोष्ठीमा गण्डकी प्रदेशका उद्योग, वन तथा पर्यटन मन्त्रि विकास लम्साल सहितको टोली पनि सहभागी हुनेछ । धौलागिरी पर्यटन प्रबद्र्धन समितिसहित बागलुङ पर्यटन विकास समिति र गाजाको दह क्षेत्रसँग जोडिएका बागलुङका चार वटा पालिकाले कार्यक्रमको आयोजना गरेका हुन् । जैमिनी नगरपालिका, गलकोट नगरपालिका, काठेखोला र बरेङ गाउँपालिकाको सिमानामा रहेको गाजाको दहमा माघको १२ गते गोष्ठी सञ्चालन हुने छ ।
पर्यटकीय क्षेत्रको विकासका लागि साझा धारणा बनाउने र सहकार्यको वातावरण सिर्जना गरिने संयोजक कँडेलले बताए ।

प्रर्वद्धनका लागि सम्मेलन
गाउँ–गाउँदेखि स्थानीय तह, जिल्ला, प्रदेश र केन्द्रहुँदै देश विदेशमा रहेका ठूलो समुदायलाई पर्यटन क्षेत्रसँग जोड्ने प्रयास अनुसार कार्यशाला सम्मेलनकोे आयोजना भएको कँडेलले बताए ।

पर्यटन क्षेत्रमा लगानी बढाउनको लागि समेत गोष्ठीमा छलफलको बिषय बनाईएको छ । पर्यटन क्षेत्रसँग सम्बन्धि सबै तहलाई गोष्ठीमा बोलाएर यस क्षेत्रका समस्या समाधानका उपायका बिषयमा समेत साझा धारणा बनाउने उद्देश्य राखिएको छ ।

तीन घण्टाको यात्रा
गाजादेखी काठेखोला गाउँपालिका ५ बिहुँमा रहेको शिवधुरी सामुदायिक घरबाससम्म पदमार्गको प्रयोग गरेर तीन घण्टाको यात्राको कार्यक्रम बनाईएको छ । गोष्ठी लगत्तै औपचारिक रुपमा उक्त घरबासको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । काठेखोलाकै वडा नं ४ तंग्रामको फापरखेतमा फापरखेत झुलेनी सामुदायिक घरबासको समेत उद्घाटन हुने छ ।

‘हामीले गाजाहुँदै बिहुँ र तंग्रामको घरबास सम्मको यात्रा बनाउँदा यहाँका कयौं पर्यटकीय क्षेत्र समेट्न सकिन्छ’ संयोजक कँडेलले भने ‘यो कार्यक्रम टे«लर मात्रै हो, गोष्ठीले निकालेको निष्कर्शमा उभिएर पर्यटनको क्षेत्रमा परिणाम दिने गरी कामहरुको थालनी हुनेछन् ।’

कार्यक्रममा बागलुङ, पर्वत, म्याग्दी र गुल्मीका १९ वटा स्थानीय तह, पोखरामा रहेका पर्यटन व्यवसायीहरु र गाउँ पर्यटन मञ्च नेपालसँग आवद्ध झण्डै ५० वटा संस्थाको सहभागिता रहने छ । गोष्ठीको लागि आवश्यक सबै प्रबन्ध स्थानीय जैमिनी र गल्कोट नगर तथा बरेङ र काठेखोला गाउँपालिकाले गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्