७ बैशाख २०८१, शुक्रबार

 

सहकारी लेखा व्यवस्थापन तालिम सम्पन्न

उद्यमी युवा महिलाहरुका लागि मोदी गाउउँपालिका वडा नं. ६ डिमुवामा सञ्चालित ३ दिने सहकारी लेखा व्यवस्थापन तालिम बुधवार सम्पन्न भएको छ ।

इन्प्रेड नेपाल पर्वतले प्लान इन्टरनेशनल नेपालको सहयोगमा सञ्चालन गरेको युवा महिला शसक्तिकरण परियोजना अन्तरगत सञ्चालित तालिममा मोदी गाउँपालिका वडा नं. ६, ७ र ८ का २० जना उद्यमी किशोरीहरुको सहभागिता रहेको थियो ।

कुखुरापालन, तरकारी खेती लगायतका क्षेत्रमा क्रियाशिल भई उद्यमशिल बनेका किशोरीहरुलाई सहकारीमा आवद्ध गराई संस्थागत रुपमा अगाडि बढाउनका लागि तालिम सञ्चालन गरिएको आयोजकले जनाएका छन् ।

तालिम प्र्रशिक्षक राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहकारीलाई शुरु देखि नै व्यवस्थित, पारदर्शी र सबैको विश्वासनीय बनाउनका लागि लेखा प्रणालीलाई व्यवस्थित गराउनु पर्नेमा जोड दिनुभयो । सानो सानो पूँजि संकलन गरेर बनाइने सहकारीलाई व्यवस्थित गराएर सहकारीमार्फत आर्थिक तथा सामाजिक अवस्थमा सुधार ल्याउनका लागि वित्तीय अनुशासन अति महत्वपूर्ण हुने भन्दै उहाँले लेखा सम्बन्धी ज्ञानलाई व्यवहारमा कार्यान्वयन गर्न आग्रह गर्नु भयो ।


तालिममा लेखाको परिचय, सहकारीमा लेखाको महत्व, लेखाका विशेषता, आवश्यकता सहित सहकारीमा लेखा राख्ने तरिका लगायतका विषयमा सहजीकरण गरिएको इन्प्रेड नेपाल पर्वतका सामाजिक परिचालक गंगा नेपालीले जानकारी दिनुभयो ।

समुहमा वचत संकलन, आयआर्जन तथा क्षमता विकासका विभिन्न कार्यक्रम गर्दै आएका किशोरीहरुलाई संगठित गराई उनीहरुलाई थप आयआर्जनमा केन्द्रीत गराउन सहकारी संस्था गठन गर्न लागिएको इन्प्रेड नेपालका कार्यक्रम संयोजक टुक शर्माले जानकारी दिनुभयो ।

आम्दानी बढाएर तथा खर्च कटाएर बचत गर्दै आएका किशोरीहरुलाई आफै लेखा राख्न सिकाउने तथा सहकारी संस्था दर्ता पछि लेखा व्यवस्थापनका लागि तालिम सहयोगी भएको तालिमका सहभागी कालिका युवा महिला सञ्जालका सदस्य सम्झना नेपालीले बताउनुभयो ।
विपन्न वर्गका महिलाहरुलाई आयआर्जनसंगै सामाजिक रुपमा सचेत बनाउनका लागि प्लान इन्टरनेशनलले इन्प्रेड नेपालसंग सहकार्य गरेर अगाडि बढेको प्लान इन्टरनेशनलका अर्जुन विश्वकर्माले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्