१२ बैशाख २०८१, बुधबार

 

बागलुङका ५८ संघसंस्थामा सौर्य उर्जा जडान

बागलुङ । बागलुङ नगरपालिका भित्र रहेका ५८ धार्मिक स्थलहरुमा सौर्य उर्जा जडान गरिएको छ । बागलुङमा ७५ धार्मिक संघसंस्था रहेका छन् । बाँकी १७ संस्थानमा पनि सौर्य उर्जा जडान गर्ने तयारी भइरहेको छ ।

स्थानीय विकास मन्त्रालय, बैकल्पिक उर्जा प्रबद्र्धन केन्द्र र स्थानीय उपभोक्ताको संयुक्त लगानीमा जिल्लामा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रमा सौर्य उर्जा जडान गरिएको हो । उक्त कार्यको लागि हालसम्म ५० लाख रुपैयाँ भएको जनाइएको छ । बैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रले उपभोक्ताको ४० प्रतिशत लगानी र केन्द्रको ६० प्रतिशत अनुदान सहयोगमा सौर्य उर्जा जडान गरिएको हो ।

धार्मिक संस्थाहरुमा भक्तालुको आवतजावत बढी हुने भएकाले सुरक्षाका दृष्टिकोणले पनि सौर्य उर्जा आवश्यकता महशुस गरीएको हो । मठ, मन्दि, चैत्य, गुम्बा र मस्जिद लगायतका धार्मिक संस्थाहरुमा सौर्य उर्जा जडान भएका छन् ।

यता काठेखोला गाउँपालिकाले आफ्ना गाउँपालिकामा रहेका स्वास्थ्य संस्थाहरुमा सौर्य उर्जा जडान गरेको छ । बैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रको अनुदान सहयोगमा ६ वटा स्वास्थ्य संस्थामा सौर्य उर्जा जडान गरिएको गाउँपालिकाका अध्यक्ष अमर थापाले बताए ।

सबै स्वास्थ्य संस्थाबाट प्रादन गरिने सेवामा अनियमित बिद्युत कटौतीका कारण समस्या नहोस् भनेर सौर्य उर्जा जडान गरिएको हो । १ किलोवाट क्षमताको सौर्य उर्जा जडान गरेपछि बिद्युतको महसुल भुक्तानीको दायित्व समेत कम भएको थापाले बताए । गाउँपालिकाका केही बिद्यालयहरुमा समेत सौर्य उर्जा जडान भएका छन् । गाउँपालिकाले यस वर्ष झण्डै चार लाख रुपैयाँ बजेट सडक बत्तिमा खर्च गर्ने योजना बनाएको छ |

जैमिनी नगरपालिकाले ६ वटा विद्यालय र २ वटा स्वास्थ्य संस्थामा सौर्य उर्जा जडान गरेको छ । प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीशेरा र स्वास्थ्य चौकी अर्जेवामा जडान भएको सौर्य उर्जाका कारण सेवा प्रवाहमा सहज भएको जैमिनी–६ अर्जेवाका स्थानीयबासी केशब शर्माले बताए । सौर्य उर्जा जडान गरेरका बिद्यालयहरुले निर्वाध रुपमा कम्प्युटर, प्रिन्टरदेखी हाँजिर गर्ने मेसिनसम्मका प्रबिधि चलाईरहेका छन् ।

जिल्लाको ताराखोला गाउँपालिकाले गाईघाट झरना र तिनचुलेमा रहेको मन्दिरमा सौर्य उर्जा जडान गरेको छ । पर्यटकहरुको आवतजावत धेरै हुने स्थानको सुरक्षा तथा धार्मिक संस्थामा रहेका पौराणिक महत्वका बस्तुहरुको सुरक्षाका लागि सौर्य उर्जा जडान गरिएको गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बताए ।

प्रतिक्रिया दिनुहोस्