म्याग्दी आक्रमण : जसको नक्सा बनाएका थिए कमरेड रानाले [भिडियोसहित]

नयाँ विश्व

फागुन १ गते २०७५

म्याग्दीको सदरमुकाम बेनीको उत्तरबाट पूर्व बग्दै गरेको कालीगण्डकी र पश्चिमबाट पूर्व बग्दै गरेको म्याग्दी खोलाको तीरमा बसेको बेनी बजार निकै सुन्दर छ । त्यही सुन्दर बेनी बजारको दक्षिणतर्फ म्याग्दी खोला बग्छ, जसको तीरमा राज्यको औपचारिक बसाई छ । अर्थात सरकारी कार्यालयहरु त्यहीँ बसेका छन् ।

आजभन्दा डेढ दशक अघि २०६० चैत्र ७ गते (राती १० बजेर ५५ मिनेटमा) यहि बेनी बजारको सुन्दर वगानमा भिषण युद्ध चल्यो । बन्दुकको नालबाट सत्ता जन्मन्छ र त्यो सत्ता जनपक्षिय सत्ता हुनेछ भन्ने सोचका साथ युद्धमा होमिएका थिए, गलकोट नगरपालिका ५ हरिचौरका पूर्णबहादुर राना ।


उनी त्यो भन्दा पहिले भारतीय सेनामा कार्यरत थिए । गोरखा फौजमा कार्यरत उनी त्यहाँ पेन्सनमा फर्केपछि माओवादी राजनैतिक आन्दोलनमा लागे । हतियार चलाउन, फौजलाई युद्धको लागि तयार गर्न उनको लागि नौलो कुरा थिएन त्यसैले उनले तत्कालिन विद्रोही पक्ष माओवादीको लागि रोल्पा, डोल्पा, रुकुम लगायतका जिल्लामा रहेर युद्धका लागि फौजी नक्सा योजना बनाउन लागे ।
जनसेनालार्ई हतियार चलाउन सिकाउनेदेखि युद्धमा आक्रमणको रणनीति बनाउने काममा उनको अनुभवले महत्वपुर्ण काम गर्यो । त्यतिबेला उनले अहिलेका उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ, विप्लबको कमाण्डमा काम गरे ।

बेनी आक्रमण गर्दा उनले नै नक्सा तयार गरी पासाङलाई दिएका रहेछन् । नन्दबहादुर पुन आफ्नो कमाण्डर भएका कारण उनले बेनी आक्रमण गर्दा कसरी जित्न सकिन्छ भन्ने रणनीतिक योजनासहितको नक्सा तयार गरेर देखाएका रहेछन् । ‘मैले कमेरड पासाङलाई बेनी आक्रमण कसरी गर्दा राम्रो हुन्छ भन्ने नक्साको डिजाइन गरी बुझाएको थिए र त्यही नक्साको आधारमा हमला भएको थियो ’ उनले भने ।


माओवादी पार्टीको योजना अनुरुप बेनी सदरमुकाममा हमला गर्ने योजना चैत्र ९ गतेको थियो तर १५० को संख्यामा रहेको तत्कालिन शाहि सेनाको कमाण्डो फोर्स सदरमुकाम आएको सुचना पाए लगत्तै आक्रमण तोकिएको मितिभन्दा दुई दिनअघि नै गर्नु परेको राना बताउँछन् ।
त्यस आक्रमणको राजनीतिक कमाण्ड नेत्रविक्रम चन्द ‘विप्लव’ले तथा सैन्य कमाण्ड नन्दकिशोर पुन ‘पासाङ’ले गरेका थिए । समयले आज विप्लवलाई पछिल्लो नवगठित माओवादी पार्टीको अध्यक्ष बनायो भने पासाङलाई मुलुकको दोस्रो उपराष्ट्रपति बनायो । तर समयले नै माओवादी आन्दोलनलाई पनि यसरी नै कैयौ धारमा विभाजित गरिदेला भन्ने उनले अनुमान गरेका थिएनन् ।

सदरमुकाम बेनी हमला राज्य पक्षका लागि मात्र नभई स्वयंम आक्रमणको योजना बनाउने तत्कालिन माओवादी पार्टीका लागि पनि ठुलो नोक्सानी बेहोर्न परेको युद्ध मोर्चा थियो ।


तर, सो भिषण युद्धमा ज्यान गुमाउनेको यकिन तथ्यांक न राज्य पक्षले सार्वजनिक गर्यो न विद्रोही माओवादीले । सोही भिडन्तमा १० सर्वसाधारणको पनि ज्यान गएको थियो । युद्धको भौतिक क्षतिको तथ्यांक राज्यले राखे पनि मानवीय क्षतिको तथ्यांक अझै एकिन छैन ।
रातभर चलेको भिडन्तमा विद्रोहीले सदरमुकाममा पुरै कब्जा गर्न सफल भए पनि तत्कालिन शाही नेपाली सेनाको कालिप्रसाद गण भने कब्जा गर्न सकेन । तर तत्कालिन प्रमुख जिल्ला अधिकारी सागरमणी पराजुली र डिएसपी रणबहादुर गौतम सहित १२७ जनालाई युद्धबन्दी बनाई लगे ।

जसमध्ये विभिन्न स्थानमा गरी विद्रोहीले ३७ जनालाई दुई दिनको अन्तरालमा रिहा गरे भने अन्य ९० जनालाई १७ दिन लगाई रोल्पाको थवाङ र्पुयाएका थिए । रोल्पाको थवाङबाट विद्रोहीले राज्यसँग विभिन्न माग राख्दै माग पुरा गरिदिने शर्तमा राज्यपक्षका कुल ९० जना युद्धबन्दीलाई विद्रोहीले हेलिकप्टर चढाई काठमाडौं पठाएका थिए ।


प्रमुख जिल्ला अधिकारी तथा डीएसपी अपहरणमा परेको भन्दै विभिन्न राष्ट्रिय, अन्तराष्ट्रिय मिडियामा निकै चर्चा पाएको माओवादीले उनीहरुलाई रिहा गर्ने सर्तमा आफ्ना पोलिटव्युरोका नेताहरुलाई राज्यले रिहा गर्नु पर्ने माग राखेको थियो । जसलाई सरकारले पुरा गर्नासाथ उनीहरुलाई मुक्त गरिएका थियो ।


जनयुद्धको शुरु भएको पनि डेढ दशक पुरा भयो । तर अझै पनि ती घाउहरु निको हुन सकेका छैनन् । ७ दलसँग विद्रोही माओवादीले दिल्लीमा गरेको १२ बुँदे विस्तृत शान्ति सम्झौता र त्यसपछिको परिर्वतनले अहिलेको यो अवस्थासम्म मुलुक आउने थिएन ।विस्तृत शान्ति सम्झौता भएसँगै माओवादी शान्ति प्रक्रियामा आयो र पहिलो संविधान सभाको निर्वाचनमा पहिलो पार्टीको रुपमा उदायो तर माओवादीको हिजोको त्यो एकिकृत मोर्चा अहिले विभाजित अवस्थामा छ । माओवादी आन्दोलन टुट, फुट र गुट कारण जनयुद्धको मुद्दाहरु कमजोर बन्दै गइरहेका छन्

प्रतिक्रिया दिनुहोस