७ बैशाख २०८१, शुक्रबार

 

एमपी शर्मा जसले भारतबाट माओवादीलाई हतियार पठाए

बागलुङ नगरपालिका ४ ओडारचौरका माधवप्रसाद शर्मा (एमपी शर्मा) ले भारतबाट तत्कालिन विद्रोही माओवादीलाई हतियार ओसार पोसारमा सहयोग गर्थे । उनी सन् १९८३ मा भारत संचार निगम लि. गोरखपुरमा कार्यरत थिए ।

अखिल भारत नेपाल एकता समाजको सदस्य बनेका उनले त्यति बेलादेखि नै कम्युनिष्ट आन्दोलनमा सक्रिय भूमिका खेल्दै आए । त्यहाँ रहेको कम्युनिष्टहरुसँग उनको हिमचिम थियो । सन् २००० मा उनी अखिल नेपाल भारत समाजको केन्द्रिय सदस्य बने त्यहि बेलामा उनीमाथि एउटा मुद्धा लाग्यो । त्यहाँको कम्युनिष्टसँग मिलेर नेपालमा रहेका माओवादीलाई गोली ,बारुद्ध, हतियार ओसारपोसारमा उनको संलग्न ।

टेलिकमका कर्मचारी रहेका उनले टेलिकमकै गाडीको प्रयोग गरी माओवादीलाई आवश्यक लजिस्टिक जस्तै लत्ताकपडा, हातहतियार, औषधि आदि पठाउने गरेका थिए । माओवादीहरुको लागि गोरखपुरमा शिविर संचालन गरिन्थ्यो र आवश्यक समाग्री सिमाना पार गर्नमा उनको भूमिका रहन्थ्यो ।

‘हामीले एक ट्रक गोलीगठ्ठा, थ्रि नट थ्रि हतियार नेपाल पठाउँदै थियौं । सिमानामा समानहरुको पार गर्ने काम भइरहेको थियो, अन्तिम एक गोलीगठ्ठा सिमा पार गर्ने क्रममा प्रमोद यादव नाम गरेको कर्मचारीलाई भारतीय प्रहरीले पक्राउ गर्योे ’ उनले भने । त्यसपछि उसमाथि अनुसन्धान गर्दै जाँदा म नौतुनामा काम गरिरहेको बेलामा अफिसबाटै मलाई गिरफ्तार गरियो ।

२५ डिसेम्बर २००० मा पक्राउ परेका उनीमाथि चरम यातना भयो । ३ जनवरी सन् २००१ मा उनीमाथि भारत सरकारले आधा दर्जन मुद्धा चलायो । ७।२५ हातहतियार खरखजना मुद्दा, १२१ आइपिसी मित्रराष्ट्रको राजकाज अपराध मुद्दा, राष्ट्रिय सुरक्षा कानून ( एनएसए) ४१९, ४२०, ४६७ र ४६८ धारामा मुद्दा लगाएर जेल कोचियो ।

‘मलाई २५ जुलाई २००३ सम्म मण्डल कारागार गोरखपुरमा राखियो, २६ जुलाई २००३ मा माननीय उच्च न्यायलयबाट ईलाहाबादबाट १ लाख धरौटीमा मेरो जमानत भयो ’ उनले भने ।

जनयुद्धमा माओवादीलाई गरेको सहयोगको फल अहिले पनि ममाथि यथावत छ मुद्धा अझै पनि ममाथि चलिरहेको छ । द्वन्द्वकालिन मुद्धाहरुमा धेरै योद्धाहरुमाथि अभियोग लगाइएको छ यसलाई समयमा नै समाधान नगर्ने हो भने विकराल रुप लिन सक्छ उनले भने ।
जनयुद्ध दिवस मनाइरहँदा अझै पनि जनयुद्धमा होमिएका, माओवादीलाई सहयोग गरेका योद्धाहरुको अवस्था नाजुक छ । विस्तृत शान्ति सम्झौता भएको पनि दशक नाघिसक्यो तर अझै ति घाउहरु निको हुन सकेको छैन उनले भने ।

राज्यले जनयुद्धका मुद्धाहरुलाई छिटो भन्दा छिटो सत्य निरुपण तथा मेलमिलाप आयोगबाट किनारा लगाउन जरुरी छ । भोली यी मुद्धा व्यूझन सक्ने खतरा उत्तिकै छ । नेकपाको बहुमतको सरकार भएको बेला पनि यो समस्याको समाधान हुन सकेन भने यस्ले नयाँ समस्या निम्त्याउन सक्छ उनले भने ।

देशभित्र परेका मुद्धाको आयोगको माध्यमबाट समाधान गर्नु अहिलेको सरकारको काम हो भने विदेशमा रहेका मुद्धाहरुलाई कुटनीतिक रुपमा सल्ट्याउन सक्नुपर्छ उनले भने ।

यदी राज्यले यस विषयलाई चाँसोको साथ नहेर्न हो भने भोलि पश्चिमा देशहरु युरोपियन युनियन, युएन लगायतका संस्थाहरुले नेपालमा फेरी जनयुद्धका मुद्धाहरुलाई उचाली विद्रोह निम्त्याउन सक्छन् त्यसैले सरकार यस विषयमा चुक्न हुदैँन उनले भने ।

सत्य निरुपण आयोगलाई मजबूत बनाई ती मुद्धाहरुको किनारा लगाउन अहिलेको सरकार सक्षम छ र यही बेलामा गर्नुपर्छ । म जस्ता धेरै योद्धाहरुको प्रवास र नेपालकै विभिन्न प्रहरी चौकीमा मुद्धाहरु छन् । अहिले ती फाइलहरु अनौपचारिक रुपमा बन्द छन् ती फाइलहरुलाई अब छिटो भन्दा छिटो सदाका लागि बन्द गरिनुपर्छ उनले भने ।

प्रतिक्रिया दिनुहोस्