१३ बैशाख २०८१, बिहीबार

 

पर्वतको बिहादीमा मकै, धान र सुन्तलाको पकेट क्षेत्र

पर्वतको बिहादी गाउँपालिकामा मकै र धानको व्लक र सुन्तलाको पकेट क्षेत्र बनाईएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण अन्तर्गत साना तथा व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट र व्लक) क्षेत्र बनाईएको हो । गाँउपालिकाको भूगोल, हावा पानी र सम्भावनालाई मध्यनजर गरी मकै,धान र सुन्तलाको अलग–अलग जोन क्षेत्र निर्धारण गरिएको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ ।

गाँउपालिकाको बाच्छा,बराचौर,रानिपानी र वहाकीँको तल्लो तटिय क्षेत्रलाई समेटेर धान ब्लक क्षेत्र र उपल्लो क्षेत्रलाई समेटेर मकै ब्लक क्षेत्र घोषणा गरिएको छ । उरामको गेप्ताङलाई सुन्तला पकेट क्षेत्र निर्धारण गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख बासुदेव रेग्मीले बताए ।

जिल्लामा मकै र धानका दुई दुई वटा व्लक क्षेत्र बनेका छन् । सुन्तला पकेट क्षेत्रको संख्या ५ पुगेको छ । यसअघि जिल्लाको फलेवासमा मकै जोन सञ्चालन भैसकेको छ । जलजला गाउँपालिका, मोदी गाउँपालिका , महाशिला गाउँपालिका र फलेवास नगरपालिकामा सुन्तलाको पकेट क्षेत्र बिगत दुई वर्ष देखि सञ्चालनमा ल्याइएको छ ।

बिहादीमा ऋषिराम भुषालको संयोजकत्वमा १० सदस्य मकै ब्लक संचालन समिति बनेको छ । सुन्तला जोनको संयोजकमा धन बहादुर थापा रहनुभएको छ । धान ब्लक सञ्चालन समिति केही दिन भित्रमानै गठन गर्ने तयारी रहेको बताइएको छ । पर्वतलाई धान, मकै र सुन्तलामा आत्मानिर्भर बनाउने लक्ष्य रहेको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्