१३ बैशाख २०८१, बिहीबार

 

असिना पानीले आलु खेतीमा ठुलो क्षति

पर्वत । शुक्रबार साँझ परेको असिना पानीले पर्वतको उत्तरी भु–भागमा लगाईएको बाली नष्ट पारेको छ । शुक्रबार साँझ ५ बजेको समयमा परेको असिना पानीले जलजला गाउँपालिकाको बनौ, नाग्लिवाङ, धाइरिङ, शालिजा, लेखफाँट लगायतका वडाहरुको अन्न बाली सहित आलु खेतीमा ठुलो क्षति पुगेको हो ।

माघ १३ गते पहिलोपटक परेको हिउँले आलु खेती सँगै अन्न बाली फस्टाउने आशामा रहेका कृषकहरु त्यसपछि लगातार हिउँ र पछिल्लो पटक असिना समेत परेपछि समस्यामा परेका छन् । ठुलो आशा राखेर लगायका खेतीलाई बर्षेपिच्छे असिनाले असर गरेपछि खेत गर्न जाँगर लाग्न छोडेको किसानहरुले गुनासो गरेका छन् ।

‘पहिलोपटक हिउँ पर्दा उत्पादन बढ््ने आशा थियो’ बनौँका स्थानीय आलु उत्पादक कृषक भिम फकामीले भन्नुभयो ‘त्यसपछि माघको २४ गते परेको हिउँ र अहिलेको असिनाले आलुलाई ढपक्कै पुरेको छ’ पर्वतको उच्च भु भागमा आलुको व्यवसायिक खेती गरिँदै आएको छ । आलुको व्यवसायिक खेती गरेका कृषकहरुलाई असिनाका कारण आलु कुहिने चिन्ताले पिरोलेको छ ।

शुरुमा परेको हिउँले सिंञ्चित हुन नपाएको खेतीका लागि राम्रै फाइदा गरेपनि त्यसपछिको हिउँ र असिनाले खेती नराम्रो सँग प्रभावित हुने कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख बासुदेव रेग्मी बताउनुहुन्छ । हिमपातकै कारण चिसोले आलुका बिरुवा ओइलिएका र असिनाले झनै समस्या बनाएको बनौका अर्का कृषक चक्रबहादुर पुनले बताउनुभयो ।

क्षति भएका ठाउँहरुको विवरण संङ्कलन भईरहेको र क्षतिपूर्ति दिलाउन गाउँपालिकावाट सक्दो पहल गर्ने नाग्लिवाङका अध्यक्ष विकास जिसीले बताउनु भयो । उहाँका अनुसार शुक्रबार साँझ ५ बजेदेखि करिव १ घण्टा लगातार ४ इञ्च सम्म असिना परेको हो ।

प्रतिक्रिया दिनुहोस्