१६ चैत्र २०८०, शुक्रबार

 

विहादीमा प्याराग्लाईडिङको सफल परिक्षण

पर्वतको विहादी गाँउपालिकामा पहिलोपटक प्याराग्लाईडिङको सफल परिक्षण गरिएको छ । गाँउपालिका – ४ वहाकी लुरिङको डाँडामा प्याराग्लाईडिङको सफल परिक्षण गरिएको हो ।

पोखराको सराङकोटमा प्याराग्लाईडिङ चलाउदै आएका बिवेक राना र गोले लामाको नेतृत्वमा आएका विपिन परियार, रमेश नेपाली, विक्रम नेपाली र सत्या राईले विहादी गाँउपालिकाको आकाशमा प्याराग्लाईडिङ उडाएका हुन् । गेप्ताङ सामुदायिक होमस्टेले आयोजना गरेको ‘गाँउ पर्यटन प्रवद्र्धन’ कार्यक्रमको अवसरमा प्याराग्लाईडिङ उडान गरिएको हो ।

बिहादी गाउँपालिकाको–४ विहादीको लुरीङ र देउराली डाँडा देखी विहादी–३ रानिपानीमा रहेको ईमिचौर अवतरण गर्नको लागि उत्तम स्थान रहेको पाईलट रमेश परियारले बताउनु भयो भुगोल र हावाको गतिका हिसाबले विहादीमा प्याराग्लाईडिङको सम्भावना रहेको पाईलट परियारले बताउनु भयो । बिहादी गाउँपालिकालाई पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्ने उदेश्यका साथ प्याराग्लाईडिङ संचालन गर्न लागिएको गाउँपालिकाका अध्यक्ष कमलप्रसाद भुषालले जानकारी दिनुभयो ।

प्यारागलाइडिङका माध्यमबाट पर्यटन क्षेत्रको प्रवद्र्धन गर्दै विहादीलाई समृद्धिको पथमा हिडाउने अभियान थालिएको अध्यक्ष भुषालले बताउनु भयो । सफल उडान अघि धावन मार्ग र अवतरण स्थलको बारेमा सम्भाव्यता अध्ययन गरिएको थियो । बिहादीको आकाशमा एकै साथ ४ वटा प्याराग्लाइडिङ उडेपछी स्थानियवासीमा खुसीयाली छाएको छ ।

स्थानिय ऋषि भुषालले आफ्नो घरै माथि बाट प्याराग्लाईडिङ उडेको देख्दा आफुलाई निकै खुसी लागेको बताए । गाउँपालिकाले नियमित उडानका नयाँ योजना बनाएर नियमित उडान भर्ने बातावरण मिलाउन ढिला गर्न नहुने स्थानीयको भनाई छ ।

बिहादी गाँउपालिकामा विश्वकै ठुलो शिला शालिग्राम,बच्छेश्वरकोट, गोर्लाङ, देउराली छाप जस्ता प्रसिद्ध धार्मीक पर्यटकीय स्थलहरु रहेका छन् भने कालिगण्डकी नदीमा ¥याफ्टिङ समेत हुदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्