१३ बैशाख २०८१, बिहीबार

 

सिभिल बैंकले सेयरधनीलाई चार प्रतिशत नगद लाभांश दिने

सिभिल बैंकले आव २०७४/०७५ को नाफाबाट सेयरधनीलाई ४.०५ प्रतिशत नगद लाभांश दिने भएको छ।

बैंकले चुक्ता पुँजी सात अर्ब २५ करोड ९३ लाख १० हजार ३६१ को ४.०५ प्रतिशतले हुन आउने २९ करोड ४० लाख दुई हजार ६९ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै उक्त नगद लाभांश सेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ। कम्पनी सचिव हिराकाजी बस्नेतका अनुसार यही फागुन ३ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

आर्थिक वर्ष २०७३/०७४ मा लाभांश घोषणा गरे पनि सेयरधनीले हालसम्म पाएका छैनन्। सो आवमा बैंकले वार्षिक साधारणसभा नै नगरेका कारण सेयरधनीले लाभांश पाउन नसकेका हुन् । सो आवमा बैंकले १०.२५ प्रतिशत सेयर लाभांश र त्यसमा लाग्ने कर प्रयोजनका लागि ०.५४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो।

बैंकले आव २०७२/०७३ मा २.८८ प्रतिशत शेयर लाभांश दिएको थियो। तर आव २०७३/०७४ मा वार्षिक साधारणसभा समेत गरेको थिएन। यस्तै नेपाल स्टक एक्सचेञ्जले आजदेखि घलेम्दी हाइड्रो लिमिटेड कम्पनीको सेयर कारोबार सुरु गरेको छ।

स्टकले घलेम्दीलाई सुरुवाती चरणमा न्यूनतम प्रतिकित्ता रु. १०० देखि अधिकतम रु. ३०० सम्मको सीमा दिएको छ। घलेम्दीको कारोबार सुरु भएसँगै स्टकमा सूचीकृत भएका जलविद्युत् कम्पनीको सङ्ख्या २५ पुगेको छ।

दोस्रो बजारमा कारोबारमा रहेका अधिकांश जलविद्युत् कम्पनीको सेयर आधारभूत मूल्यको आसपासमा नै रहेको छ।

त्यसमा पनि दश कम्पनीको सेयर आधारभूत मूल्यभन्दा तल रहेको छ।

प्रतिक्रिया दिनुहोस्