८ बैशाख २०८१, शनिबार

 

आज ६९ औं प्रजातन्त्र दिवसः टुँडिखेलमा विशेष कार्यक्रम

६९ औं प्रजातन्त्र दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ।

एक सय चार वर्ष लामो जहानियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा आज ६९ औँ प्रजातन्त्र दिवस देशैभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ।

जनक्रान्तिका माध्यमबाट २००७ सालमा मुलुकबाट राणा शासन अन्त्य भएको थियो। राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र घोषणा भएको दिनको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाईन्छ। प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै अहिले मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको छ।

प्रजातन्त्र दिवस मूल समारोह समितिले मंगलबार बिहान सैनिक मञ्च टुँडिखेलमा औपचारिक समारोहको आयोजना गर्दैछ। समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, उपसभामुख, मन्त्री, संवैधानिक निकायका प्रमुखहरु लगायतको उपस्थिति रहनेछ।

सरकारले प्रजातन्त्र दिवसको अबसरमा विभिन्न सञ्चारमाध्यमलाई प्रजातन्त्र दिवसको विषयलाई उच्च प्राथमिकता दिई समाचार प्रसारण, बुलेटिन, परिसंवाद, अन्तरिक्रिया आदि कार्यक्रम सञ्चालन गर्न आह्वान गरेको छ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै मुलुक दशकौँदेखिको विकास र समृद्धिको नेपाली चाहना पूरा हुने विन्दुमा आइपुगेको बताएका छन्।

वर्तमान सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्यका साथ आर्थिक एवं सामाजिक रुपान्तरणका लागि केन्द्रित भएको ओलीको शुभकामना सन्देशमा उल्लेख छ।

‘निरङ्कुशतन्त्र र अधिनायकवादलाई परास्त गर्ने हामी अब गरीबी, बेरोजगारी, पछ्यौटेपन, विभेद र अविकाशका विरुद्ध केन्द्रित भएका छौँ’, प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, ‘हामी आर्थिक विकास र सामाजिक न्यायसहितको परिपूर्ण लोकतन्त्रको दिशामा अग्रसर छौँ।’

प्रधानमन्त्री ओलीले प्रजातन्त्र प्राप्तिको आन्दोलनमा शहादत प्राप्त गर्ने सबैमा श्रद्धाञ्जलिसमेत व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्