ताजा समाचार



पुरानो

फागुन १६ गते २०७५

‘ड्राइभरले हत्कडी खोलिदिए’ : रवीन्द्रका ४८ वर्ष, १० घुम्ती

- नयाँविश्व सम्वाददाता,

‘मानिसको अन्तराष्ट्रिय जात हुन्छ’ भन्दै कम्युनिस्ट नेताले कसिला मुठ्ठी कसेर भाषण गरेको देखेका रविन्द्रले छुवाछूतको विरोध गरे।

शास्त्रीय मर्म बुझेको पण्डित परिवारमा हुर्केका रविन्द्र अधिकारी १२ वर्षको उमेरमै कम्युनिष्ट राजनीतिमा होमिए। २०३८ सालमा सात कक्षा अध्ययन गर्दा अनेरास्ववियुको कान्छो सदस्यका रूपमा कम्युनिष्ट पार्टीको सपथ खाए। अधिकारीले राजनीति प्रवेश गरेपछि कहिल्यै ‘ब्याक’ हुनु परेन।

राजनीतिले उनलाई विद्रोह गर्न सिकायो। कक्षा सातमा पढ्दै हलो जोतेर पण्डित परिवारको पगरी हटाइदिए। दलितको घरभित्र बसेर खानेकुरा खाँदा उनले घरबाट निष्काशन हुनुप¥यो। यसले उनको विद्रोही चेतनाले झन झाँगिने मौका पायो। ‘मानिसको अन्तराष्ट्रिय जात हुन्छ’ भन्दै कम्युनिस्ट नेताले कसिला मुठ्ठी कसेर भाषण गरेको देखेका रविन्द्रले छुवाछूतको विरोध गरे।

राजनीतिक यात्राका क्रममा रविन्द्र पृथ्वीनारायण क्याम्पस पोखरा र त्रिभूवन विश्वविद्यालय कीर्तिपुरको स्ववियु सभापति भए। उनी अनेरास्ववियुको अध्यक्ष बन्दै पार्टीको केन्द्रीय राजनीतिमा प्रवेश गरेका हुन् । नेकपा (एमाले) कास्कीको सचिवदेखि अध्यक्षसम्मको जिम्मेवारी सम्हालेका रविन्द्र संविधानसभाको पहिलो र दोस्रो निर्वाचनमा कास्कीबाटै विजयी भए। लालसेना बन्ने रहरले कुतकुत्याएपछि राजनीतिमा होमिएका रविन्द्रले दरबारलाई दरबारकै विरुद्ध पाँच लाख २७ हजारको हस्ताक्षर बुझाउँने आँट गरे।

शुक्रबार साउने झरीमा सिंहदरबारस्थित संसदको विकास समितिको कार्यकक्षमा भेटिएका रविन्द्र विगतको पन्तुरो खोतल्दै गर्दा बेलाबेला निकै भावुक र बेलाबेला निकै रोमाञ्चक मुडमा प्रस्तुत भए। विद्यार्थी राजनीति र संघर्षले भरिपूर्ण उनको जीवन सम्वादका क्रममा उनी निकै खुले। साउने झरीले चिसो बनाएको मौसममा चियाको साहारा लिदैँ करिब एक घण्टा बिताइयो। सम्वादका क्रममा उनले जीवनका रोमाञ्चक र सम्झनलायक संस्मरण यसरी साटे ः

३६ दिन लगातार हलो जोतेँ

मैले पानी नचल्ने जातको घरमा गएर खाएको भन्दै कति पटक हजुरबाले घरबाट निकालेको मलाई याद छ। अहिले सम्झदा यी दुवै घटनाले मलाई क्रान्तिकारी बन्न प्रेरणा दियो भन्ने लाग्छ।

पण्डित परिवारमा हुर्किएकाले मलाई सबैले पण्डित परिवारकै सम्मान दिन्थेँ। अहिले पनि याद छ। त्यसबेला म कक्षा सातमा अध्ययनरत थिए। त्यति बेलाको जमानामा पण्डित परिवारले हलो जोत्ने कुरा बर्जित थियो। मेरो बुबा, हजुरबुबा पण्डित हुनुहुन्थ्यो। तल्लो घरको हजुरबा पनि पण्डित हुनुहुन्थ्यो।

मेरो बुबा र हजुरबुबा मात्र होइन, तल्लो घरको हजुरबुबालाई पनि मैले हलो जोतेको फिटिक्कै मन पर्दैन थियो। तर, मैले ती सबैको वेवास्था गर्दै हलो जोतेँ। सबैतिरबाट मेरो आलोचना भइरह्यो। तर, मैले हलो जोत्ने कामलाई निरन्तरता दिदैँ रहेँ। एसएलसी परीक्षापछि पनि म हलो जोत्थेँ।

मध्य असारको बेला थियो। तल्लो घरको हजुरबाको घरमा काम गर्ने हली दाइको बुबाको त्यसैबेला मृत्यु भयो। उहाँ बुबाको काजक्रियामा बस्नुपर्ने भयो। गाउँमा परेली (आलोपालो एक–अर्काकोमा काम गर्ने चलन) को चलन थियो। हलिदाइको बुबा बितेपछि हजुरबाकोमा जोत्ने मान्छे भएन। मध्य असारको बेला खेती नलगाई नुहुने।

निकै समस्या भएपछि हजुरबाले ‘रविन्द्रलाई नै जोत्न लगाउनुपर्ने भयो’ भन्नुभएछ । त्यो कुरा मसम्म आयो। मैले ‘हजुरबा नै आएर आग्रह गरे मात्र जोत्ने सर्त राखेँ।’ पछि हजुरबा आएर मलाई आग्रह गर्नुभयो। म पनि त्यही प्रतिक्षामा थिएँ। उहाँकोमा गएर जोतेँ। त्यसबेला मेरो जीत भएको अनुभुति भयो। म त्यो घटना बिर्सन सक्दिन। मैले त्यो वर्ष ३६ दिन लगातार हलो जोतेँ।

त्यतिमात्र होइन, म त्यसैबेलादेखि छुवाछूत विरोधी थिएँ। मैले पानी नचल्ने जातको घरमा गएर खाएको भन्दै कति पटक हजुरबाले घरबाट निकालेको मलाई याद छ। अहिले सम्झदा यी दुवै घटनाले मलाई क्रान्तिकारी बन्न प्रेरणा दियो भन्ने लाग्छ।

वनविज्ञान छाडेर व्यवस्थापनतिर

मैले एसएलसी पास गर्दा मेरो दाई ‘साइन्स’ पढेर अधिकृत बन्नुभएको थियो। परिवारको चाहना मलाई वनविज्ञान पठाउने थियो। वनविज्ञाको अध्ययनका लागि हेटौँडा जानुपर्ने बाध्यता थियो। म त्यसबेला राजनीतिमा सक्रिय भइसकेको थिएँ। राजनीतिमा ‘रस’ भिजेका कारण मलाई वनविज्ञान पढ्ने चाहना थिएन। तर, बुबा र दाइले वनविज्ञान अध्ययनका लागि मेरो भर्ना गरिदिनुभयो। बस्नका लागि कोठासमेत खोजी दिनुभयो।

तर, मैले उहाँहरुले थाहा नपाई विज्ञान पढ्ने निधो गरी पहिल्यै भर्ना गरिसकेको थिएँ। विज्ञान विषयको अध्ययन गर्दा ‘प्राक्टिकल’ हुने नियमति ‘कजेल’ जानुपर्ने झमेला हुने र राजनीति गर्ने समय नहुने भएकाले मैले व्यवस्थापन अध्ययन गर्ने निधो गरेँ र पछि फेरि व्यवस्थापनतिर मोडिएँ।

यो कुरा घर–परिवारमा पहिलो वर्षको रिजल्ट आएपछि र म पास भएपछि मात्र जानकारी गराएँ। परिवारबाट निकै ठूलो हप्की खानु पर्ला भन्ने सोचेको थिएँ। तर, त्यस्तो भएन। पछि मैले स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेँ। अहिले त्यो घटना सम्झदा ठीकै गरेछु, जस्तो लाग्छ।

बन्दीगृहमा ड्राइभरले हतकडी खोलिदिए

२०४६ सालको जन–आन्दोलन उत्कर्षमा पुगेको थियो। त्यसैबेला म, झलक सुवेदीलगायतका केहीलाई तत्कालीन प्रशासनले हतकडीसहित जेलमा हाल्यो। प्रशासनले निकै दुःख दियो। त्यो घटना सम्झदाँ अहिले पनि कहाली लाग्छ। भुँइमा पानी खन्याएर त्यही पानीमाथि हामीलाई सुताउने गरेको थियो।

सबै बन्दीले ट्वाइलेट जाँदा हतकडीसहित जानुपर्ने बाध्यता थियो। आठ–दश दिन बन्दी गृहमा बसेपछि एक जना ड्राइभरसँग भेट भयो। उनी निकै चतुर थिए। राम्रो हिमचिम भएपछि उनले रातिराति मेरो हतकडी बहुत कुशल तरिकाले खोल्ने र बिहान भएपछि जस्ताको त्यस्तै बनाउने गर्न थाले।

मेरो हात चलाएर बोल्ने बानी भएकाले हतकडी खोलेपछि हात चलाएर निर्धक्कसँग गफ गर्न थालेँ। यो सबै कुरा प्रहरीले थाहा पाएछ। त्यो कुरा थाहा पाएपछि प्रहरीले मलाई निर्मम यातना दियो र पाँच सय पटक उठबस गर्न लगायो। यो मेरो जीवनको साँच्चै पीडादायी घटना थियो।

महिलाका कपडा लगाएर भागेँ

म पृथ्वीनारायण क्याम्पस पोखरामा अध्ययन गर्थेँ। २०४६ सालको आन्दोलन निकै उत्कर्षमा पुगेको थियो। हामी एक साँझ होेस्टलमै महत्वपूर्ण बैठक बसिरहेका थियौँ। प्रहरीले होस्टलमा छापा मा¥यो। त्यहाँ भागदौड चल्यो। सबै साथी छिन्नभिन्न भए। म र केही साथी भुईँमा घिस्रिदैँ पल्लो ‘कर्नर’मा गएर बस्यौँ। प्रहरी हाम्रो वरिपरि थुप्रै पटक घुम्यो। तर, हामीलाई फेला पार्न सकेन।

महिला विद्यार्थीका कपडा लगाएर त्यहाँबाट भाग्न सफल भयौँ। प्रहरीले कुनै पनि पत्तो पाएन।

भोलिपल्ट बिहान हामी महिला होस्टलमा प्रहरीको आँखा छलेर छि¥यौँ। हामीलाई महिला साथीले साथ दिए। उनीहरुकै सहयोगमा महिला विद्यार्थीका कपडा लगाएर त्यहाँबाट भाग्न सफल भयौँ। प्रहरीले कुनै पनि पत्तो पाएन।

पर्खाल फोरेर क्याम्पस प्रमुखको निवासमा

२०४६ सालको आन्दोलनकै ताका पोखरामा एउटा ठूलो घटना घट्यो। त्यसकोे सबै रिपोर्ट पार्टीलाई दिनुपर्ने थियो। टेलिफोनको सेवा सहज नभएकाले हामीले रिपोर्ट दिनका लागि सबैभन्दा उपयुक्त क्याम्पस प्रमुखको निवास हुने ठहर ग¥यौ। गणेश गुरुङ क्याम्पस प्रमुख हुुनुहन्थ्यो।

हामी राति उहाँको निवासमा पर्खाल फोरेर पुग्यौँ। उहाँले अताल्लिएर भन्नुभयो– ‘लौ–लौ यहाँबाट तिमीहरु भागिहाल, अहिले पुलिस आउँछ।’ तर हामीले निर्धक्क साथ फोन ग¥र्यौ। त्यसको केही दिनपछि म उहाँकै निवासबाट पक्राउ परेँ।

दरबारमा पाँच लाख २७ हजारको हस्ताक्षर

२०५७ सालमा पूर्वयुवराज पारस शाहले हाँकेको गाडीले गायक प्रविण गुरुङको किचेर मा¥यो। त्यसबेला म अनेरास्ववियुको अध्यक्ष थिएँ। अनेरास्ववियुले मुलुकभरि नै त्यसको विरोधमा आन्दोलनको घोषणा ग¥यो। मेरो नेतृत्वमा मुलुकभरि विरोध भयो। आन्दोलन नगर्न मलाई धेरैतिरबाट दवाव आयो। तर, त्यसको बेवास्था गर्दै अनेरास्ववियुले आन्दोलन चर्कायो। हामीले मुलुकभरि हस्ताक्षर अभियान सञ्चालन ग¥यौं।

त्यही घटनालाई आधार बनाएर मेरो परिवारलाई विभिन्न अज्ञात व्यक्तिले मार्नेसम्मको धम्की दिए। मलाई पनि मार्नेसम्मको योजना बनाएको कुरा सुरक्षा निकाएबाटै गोप्य रुपमा थाहा पाएँ। उनीहरुले मलाई मार्नका लागि म चढ्ने गरेको मोटरसाइकलको नम्बरसम्म नोट गरेर राखेका रहेछन्। पछि हामीले पाँच लाख २७ हजारको हस्ताक्षर दरबारमै लगेर बुझायौँ। त्यतिबेला पनि हामीलाई दरबारले त्यही खतम बनाउँछ भन्ने सोचेका रहेन्। तर, दरबारले केही गर्ने आँट गरेन।

मृत्युलाई जितेर फर्के

त्यसैबेला मलाई एक कार्यक्रमबाट माओवादीले अपहरण ग¥यो। माओवादीले मलाई अपहरण गर्दा सारा गाउँ माओवादीको विरोधमा उत्रियो।

अनेरास्ववियुको जिम्मेवारी पूरा गरेपछि कास्की फर्की पार्टी राजनीतिमा सक्रिय थिएँ। त्यतिबेला माओवादीको शसस्त्र युद्ध उत्कर्षमा पुगेको थियो। व्यक्ति हत्याको श्रृङ्खलालाई उसले निकै महत्व दिएको थियो। त्यसैबेला मलाई एक कार्यक्रमबाट माओवादीले अपहरण ग¥यो। माओवादीले मलाई अपहरण गर्दा सारा गाउँ माओवादीको विरोधमा उत्रियो। त्यसले मलाई एकातिर उत्साह पैदा भएको थियो। त्यसले पनि मलाई धेरै डर लागेन। त्यहाँबाट म छुटें।

‘स्ववियु सभापति होस् त रविन्द्रजस्तो’

पोखरामा अध्ययन गर्दाताका पृथ्वीनाराण क्याम्पसमा सभापति भइसकेको थिएँ। स्नातकोत्तर अध्ययनका लागि त्रिभूवन विश्वविद्यालय कीर्तिपुर आएँ। त्यतिबेला केदारभक्त माथेमा त्रिभूवन विश्वविद्यालय कीर्तिपुरको प्रमुख हुनुहुन्थ्यो। पृथ्वीनाराणको सभापति हुँदा मलाई उहाँले एकपटक औपचारिक कार्यक्रममै ‘स्ववियु सभापति होस् त रविन्द्रजस्तो’ भन्नुभएको थियो।

त्यही कुरा उहाँले ‘टियु’मा औपचारिक भाषणकै क्रममा दोहो¥याउनुभयो। उहाँलाई धेरैले कांग्रेस निकट भन्ने गरेका थिए। उहाँको त्यो भनाइपछि नेपाल विद्यार्थी संघका विद्यार्थीहरु निकै रिसाएका थिए। नभन्दै म त्यही पटक सभापतिको उम्मेदवार बने र विजयी पनि भएँ। आफुले राम्रो गर्न सक्यो भने सम्मान पनि पाइन्छ भन्ने कुराको ज्ञान त्यसबेला भयो।

‘पार्टी फुट्दा धेरै दिन अनिदो भएँ

नेकपा (एमाले) मा नेताबीच मतभेद चुलिएपछि पार्टी विभाजनको सङ्घारमा पुग्यो। म विभाजन नहोस् भन्ने पक्षमा थिएँ। पार्टी विभाजन हुने निश्चित भएपछि दुवैथरि नेता एक अर्काको आरोप–प्रत्यारोपमा खुला रुपमा भाषण गरिरहेका थिए। म भने रातभरि पीडामा हुन्थेँ।

जीवनमा सबैभन्दा बढी पीडा मलाई एमाले विभाजन हुँदा भयो। रातभरि चिन्ताले अनिदो हुन्थँे। दिनभरि कार्यकर्तालार्ई उर्जा भर्नका लागि भए पनि भाषण गर्नुपर्ने बाध्यता हुन्थ्यो। एमाले विभाजन हुँदा म आफैँ विभाजन भएको अनुभूति भएको थियो। मलाई एमाले–माले विभाजनले जीवनमा निकै ठूलो पाठ सिकायो। पार्टी विभाजनको पीडा नेतालाई मात्र हुँदैन। त्यसको पीडा आम कार्यकर्तामा पनि हुन्छ भन्ने बोध मलाई त्यसैबेला भयो। अहिले पनि मलाई अन्य पार्टीका नेताले विभाजनको कुरा गर्दा निकै नरमाइलो लाग्छ।

योगेश र म अलग हुँदा

मैले राजनीति हो, आज फरक भएको व्यक्ति भोलि फेरि एक ठाउँमा हुन सकिन्छ भनी चित्त बुझाएँ।

मैले सम्झिने महत्वपूर्ण घटनामा नेकपा (एमाले) को नवौँ महाधिवेशन पनि एक हो। विभिन्न कारणले मैले र योगेश भट्टराईले फरक–फरक समूहका नेताको समर्थन ग¥यौँ। मैले नवौँ महाधिवेशनको केही समय पहिला पनि योगेशजीलाई ‘महाधिवेशनमा फरक–फरक नेतालाई अध्यक्षमा समर्थन गर्नुपर्ने अवस्था आउन सक्छ है,’ भनेको थिएँ। तर, मैले त्यसो भन्दैगर्दा पनि मलाई एक प्रकारको पीडा महशुस भएको थियो।

योगेशजी र मेरो व्यक्तिगत सम्बन्ध नराम्रो भएर वा अरू कुनै कुराले पनि हामी महाधिवेशनमा फरक–फरक कित्तामा उभिएका थिएनौँ। हामी अनेरास्ववियुको प्रारम्भिक कमिटिदेखि नै एक प्रकारले सहकार्य गरेर अघि बढेका थियौँ। हामीबीच कहिल्यै पनि नराम्रो भएन। तर, नवौँ महाधिवेशनमा हामी त्यसै–त्यसै टाढाटाढा जस्तो भयौँ। मलाई त्यतिबेला निकै मुस्किल भयो।

वर्षौसम्मका मेलामिलाप पार्टीका फरक–फरक समूहका नेताको समर्थक बन्दा टाढा हुने हो कि भन्ने चिन्ताले निकै सताएको थियो। मैले राजनीति हो, आज फरक भएको व्यक्ति भोलि फेरि एक ठाउँमा हुन सकिन्छ भनी चित्त बुझाएँ। मलाई कता–कता हामी आफैँ पनि एक–अर्काको आरोप–प्रत्यारोपमा उत्रिने पो हौँ कि भन्ने डर पनि लागेको थियो,त्यो भएन। हामी सौहार्दपूर्ण वातावरणमा महाधिवेशनमा सहभागी भयौँ।

यो संस्मरण हामीले दिवङ्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको आधिकारिक वेभ पेजबाट लिएका हौं।

Leave a Reply