८ बैशाख २०८१, शनिबार

 

बागलुङका सोह्र होमस्टेले अनुदान पाउने (नाम सहित)

बागलुङ । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सञ्चालनमा रहेका घरवासमा पर्यटन पूर्वाधारका लागि अनुदान दिन आह्वान गरेकामा बागलुङबाट १६ घरवास (होमस्टे) छनोट भएका छन् ।

ग्रामीण पर्यटन प्रबद्र्धन गरी समृद्धिमा टेवा पु¥याउने उद्देश्यले मन्त्रालयले गत पुस १४ गते आह्वान गरेको सूचना बमोजिम विभिन्न १६ घरवास अनुदानका लागि छनोट परेका हुन् । बागलुङका १९ घरवासले अनुदानका लागि प्रस्ताव पेश गरेका मन्त्रालयले जनाएको छ ।

बागलुङ नगरपालिकाको भकुण्डेमा रहेको अतिथि सत्कार होमस्टे, गलकोट नगरपालिकाको सिद्धस्थान सामुदायिक होमस्टे, ढोरपाटन नगरपालिकामा उत्तरगंगा सामुदायिक होमस्टे, गलकोट नगरपालिकामा रिघा सामुदायिक होमस्टे, गलकोट स्टोन भिलजे सामुदायिक होमस्टे, तोराखोला सामुदायिक होमस्टे, जैमिनी नगरपालिकामा सिद्धबराह होमस्टे, बरेङ गाउँपालिकामा सिग्दी होमस्टे, काठेखोला गाउँपालिकामा शिवधुरी सामुदायिक होमस्टे, ठुलाङ्गा होमस्टे, माहुरी झरना सामुदायिक होमस्टे, रेश सामुदायिक होमस्टे, बौर सामुदायिक होमस्टे, डोटा सामुदायिक होमस्टे, फापार खेत झुलेनी होमस्टे र बेलढुङ्गा सामुदायिक होमस्टे अनुदानका लागि छनोट गरिएका छन् ।

तीन सय गाउँमा घरवास सञ्चालन गर्ने नीति लिएको गण्डकी प्रदेश सरकारले अनुदान प्रक्रिया अगाडि बढाएको छ । सरकारले घरबास सञ्चालन र त्यसका लागि अनुदान उपलब्ध गराउन प्रस्ताव आह्वान गरेको छ । अनुदानका लागि बजेटमार्फत ३० करोड विनियोजन गरिएको छ ।

घरवास सञ्चालन कार्यविधि बनाएसँगै अनुदान कार्यवधि बनाएर सरकारले प्रस्ताव पेश गर्न आह्वान गरेको छ । परियोजना प्रस्ताव स्वीकृत भई सम्झौता गरेको १५ दिनभित्र घरवास समितिलेकार्य सञ्चालन गर्नुपर्नेछ । सम्झौतापछि मन्त्रालयले पहिलो किस्ताका रुपमा ४० प्रतिशत अर्थात ४ लाख समितिको खातामा हाल्ने व्यवस्था अनुदान कार्यविधिमा छ ।

सरकारले घरवास सञ्चालन गर्न अनुदान दिने १० लाखको १० प्रतिशत अर्थात एक लाख सम्बन्धित गाउँपालिका वा घरवास व्यवस्थापन समितिले अनिवार्य साझेदारी गर्नुपर्ने व्यवस्था गरिएको छ । मन्त्रालयको पर्यटन हेर्ने महाशाखा प्रमुखको संयोजकत्वमा गठित मूल्याङ्कन समितिले अनुदानका लागि प्रस्तावको मूल्याङ्कन गरी छनोट गर्नेछ । सरकारले घरवास चलाउन प्रदान गर्ने अनुदानको रकमको खर्च सम्बन्धमा कार्यवधि पनि बनाएको छ । घरवास सञ्चालन तथा प्रवद्र्धनसँग सम्बन्धित पर्यटक सूचना केन्द्र, सामुदायिक भवन, बहुउद्देश्यीय भवन, सार्वजनिक सभागृह, प्रदर्शनीस्थलमा अनुदानको रकम व्यवस्थापन समितिले खर्च गर्न पाउने छन् ।

घरवास गाउँलाई व्यवस्थित बनाउन पूर्वाधार निर्माण र पर्यटकीय महत्वका विषयमा अनुदानको रकम खर्च गर्न मिल्ने कार्यविधिमा उल्लेख गरिएको छ । व्यवस्थापन समितिले हस्तकला केन्द्र, कोसेली घर, सौगात गृह, सांस्कृतिक संग्रहालय, सार्वजनिक पुस्तकालय, पार्क र उद्यान, भ्यूटावर बनाउन प्रवेशद्वार, पदमार्ग, ढुङ्गेमार्ग बनाउन सो रकम खर्च गर्न सक्नेछन् । प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले प्रदेशका ८५ गाउँपालिकामा स्वरोजगार सिर्जना गर्न होमस्टे प्रवद्र्धनका लागि ३० करोड विनियोजन गरिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्