१६ चैत्र २०८०, शुक्रबार

 

कालिज संरक्षणमा कालिका भगवती गुठी

बागलुङ । बनमा पाइने कालिज (बन कुखुरा) को अबैध चोरी निकासी हुन थालेपछि बागलुङ कालिका भगवती गुठीले कालिजको संरक्षणको लागि अभियान शुरु गरेको छ ।

वासस्थानको सुरक्षा र चोरी शिकार नियन्त्रणमा योजनाबद्ध काम शुरु गरिएको छ । मन्दिर वरिपरि रहेको १९० रोपनी वन क्षेत्रमा कालिजलगायतका पक्षीको वासस्थान छ । प्राकृतिक वासस्थानमै कालिज संरक्षण गरिएको कालिका भगवती गुठी अध्यक्ष राजु खड्काले बताए । उनका अनुसार हिजोआज कालिज मन्दिरका परेवासँगै चारो टिपिरहेका हुन्छन् । संरक्षण र हेरचाहले कालिजको आनीबानी फेरिएको उनको बुझाइ छ । ‘मन्दिर प्राङ्गणमै परेवाको बथानमा मिसिएर चर्छन्’, अध्यक्ष खड्काले भने, ‘हेर्दा पनि अनौठो र रमाइलो लाग्छ ।’ मन्दिर परिसरको जङ्गलमा दुर्लभ देखिने कालिज अहिले दैनिकजसो भेटिन थालेका छन् ।

जङ्गलभित्र आवतजावत रोक्ने गरी तारबार गरेपछि कालिज संरक्षणमा ठूलो टेवा पुगेको उनको भनाई छ । ‘मन्दिरमा खटिने प्रहरी, कर्मचारीलाई पनि विशेष रुपमा सचेत बनाएका छौँ’, उनले भने, ‘जङ्गलको बीच–बीचमा कालिजलाई चारो पनि राख्ने गरेका छौैँ ।’

विशेष गरी मन्दिरको दक्षिणी क्षेत्रको जङ्गलमा कालिजको बढी बसोबास छ । यही हिसाबले संरक्षण योजना सफल भए कालिजको सङ्ख्या बढ्दै जाने बताइएको छ । कालिज संरक्षणको प्रयास प्रशंसनीय रहेको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत मदन सुवेदीले बताए ।

‘वन्यजन्तु संरक्षणमा अझै व्यवस्थित र योजनाबद्ध काम गर्न आवश्यक छ’, उनले भने । पछिल्लो समय अवैध चोरी शिकारका कारण कालिज सङ्कटमा छ । लोपोन्मुख अवस्थामा नभए पनि कालिज शिकार गर्नु गैरकानूनी हुने सहायक वन अधिकृत सुवेदीले बताए ।

प्रतिक्रिया दिनुहोस्