११ बैशाख २०८१, मंगलवार

 

बागलुङकाे पर्यटकीय गुरुयोजना घोषणापत्र जारी

बागलुङ । बागलुङमा रहेका प्राकृतिक, धार्मिक, सांस्कृतिक, ऐतिहासिक सम्पदा लगायतका पर्यटकीय क्षेत्रहरुको विकास, विस्तार, संरक्षण तथा प्रचार प्रसार गर्नका लागि पर्यटन गुरुयाेजनाको घोषणा पत्र जारी भएको छ । आइतबार बागलुङमा भएको भेलाले उक्त घोषणापत्र जारी गरेको हो ।

बागलुङ पर्यटन विकास समितिको आयोजना तथा जिल्ला संमन्वय समितिको आयोजनामा जिल्लाको पर्यटक गुरुयोजना निर्माणको लागि सरोकारवाला निकाय बीच अन्तरक्रिया कार्यक्रम गरी बागलुङ पर्यटकीय गुरुयोजना घोषाणा गरिएको हो । अन्तरक्रिया कार्यक्रममा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले पर्यटनबाटै समृद्धि ल्याउने प्रदेश सरकारको लक्ष्य अगाडि बढेको भन्दै यसमा सबै जिल्लाले सकरात्मक भूमिका खेल्नुपर्ने बताए ।

मन्त्री लम्सालले गण्डकी प्रदेशले २०२२ मा पर्यटनबाटै समृद्धि हासिल लक्ष्य राखेको बताउँदै यसका लागि घरबासमा योगदान, पर्यटकीय नयाँ गन्तव्य पहिचान तथा प्रबद्धनमा लागि परेको बताए । ‘जहाँ पर्यटकीय संभावना छ, त्यहा होटल तत्काल बन्न नसकेमा गण्डकी प्रदेशले घरबास निर्माणमा पहल गर्नेछ ।’ लम्सालले भने ।गुरुयोजना निर्माण कार्यक्रममा पर्यटन विज्ञ डा. प्रेम शर्मा, डा. सुर्दशन शिलवालले अन्तर जिल्लाको पर्यटकीय सम्बन्धलाई जोडेर जिल्लाको समग्र पर्यटन क्षेत्रको विकासको संभावना बारेमा अवधारणापत्र प्रस्तुत गरेका थिए । यस्तै जिल्लाका दश स्थानीयतहले आ–आफ्नो स्थानीय तहमा पर्यटनको संभावनाका विषयमा कार्यपत्र प्रस्तुत गरेको थिए ।

जिल्लाका ढोरपाटन, पञ्चकोट, कालिका मन्दिर, गाजाको दह र घुम्टेको धुरी लगाएतका पर्यटकीय गन्तव्यलाई अझ प्रबद्धन गरी नयाँ पर्यटन व्यवसायको संभावना उजागर गर्न यस्ता अन्तरक्रिया कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए ।

बलेवा–भकुण्डे–पञ्चकोट पदमार्ग, भैरवस्थानमा केवलकार, ढोरपाटन पुग्ने सडकको स्तरउन्नति, घुम्टेको धुरी पुग्ने पर्यटकीय पदमार्ग, खुला चिडियाखाना, पार्क लगायतका संरचना बनाउन सकेमा समग्र जिल्लको पर्यटन विकास हुन सक्ने पर्यटन व्यवसायहीहरुले बताएका छन् । पर्यटनसंग सरोकार राख्ने सरकारी तथा गैर सरकारी कार्यालयहरु, क्रियाशिल राजनैतिक दलहरु, पत्रकार तथा पर्यटन विज्ञहरु आदिले पनि अन्तरक्रियामा सहभागी जनाएका थिए । अन्तरक्रियाले बागलुङको पर्यटन गुरु योजना, पर्यटन प्रोफाइल तथा पर्यटन सुचना केन्द्रको बारेमा व्यापक छलफल सम्पन्न भएको पर्यटन विकास समितिका अध्यक्ष राजु खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस्