१६ चैत्र २०८०, शुक्रबार

 

अगामी तीन वर्षमा महिला हित बचत सहकारीकाे आफ्नै भवनः खड्का

बागलुङ । नारी उत्थानका लागि २०५२ साल कार्तिक २ गते महिला हित संरक्षण नामक संस्था गठन गरी बागलुङमा रहेका महिलाहरुको आर्थिकस्तर विकासको लागि  २०५८ मा सहकारी ऐन अनुसार स्थापना दर्ता भएकाे हाे ।

बागलुङ नगरपालिका ३ गुठीमा रहेको संस्थाले २५ जना शेयर सदस्यहरु जम्मा गरी २ हजार ५ सयले महिला हित बचत तथा ऋण सहकारी संस्थाको जन्म दियो । उमा खड्काको नेतृत्वमा दर्ता भएको सहकारीले अहिले १७ औं वर्ष पार गरेको छ ।यहाँसम्म आइपुग्दा सहकारीले काँचुली नै फेरेको छ । अहिले ७३८ शेयर सदस्यका रुपमा यस संस्थामा विभिन्न पेशा व्यवसाय भएका महिलाहरु आवद्ध भएका छन् ।

संस्थाको संस्थापक सदस्य,ऋण लगानी समितिको संयोजक, कोषाध्यक्ष हुँदै अहिले संस्थाको अध्यक्षमा लिलादेवी खड्का आइपुगेकी छिन् । १७ वर्षसम्म महिला हितका लागि सहकारी अभियान लिएर अगाडि बढेकी लिलादेवीले दुई कार्यकाल यहि सहकारीको बागडोर सम्हाल्न सफल बनेकी छिन् । भाडाको घरबाट नै सेवा दिँदै आएको सहकारीले अबको तीन वर्षभित्र आफ्नै भवनबाट सेवा दिने उनकोे दाबी छ । ‘हामीले सहकारीको लागि रेडक्रस भवन पछाडि ५८ लाखमा जग्गा किनिसकेका छौं, अबको तीन वर्षमा हामी भवन निर्माण गरिसक्छौ र आफ्नै भवनबाट सेवा दिन्छौं’ उनले भनिन् ।

सहकारीको शेयर पूँजी २ करोड ३० लाख, १९ हजार ६ सय, बचत ४ करोड,८९ लाख, ४१ हजार, २ सय ९१, लगानी ५ करोड ५१ लाख ३७ हजार ५ सय ८९ रहेको उनले बताइन् । ‘हाम्रो सहकारीको अहिले १३ करोड ३८ लाख ७४ हजार ६२ रुपैयाँको कारोबार र सम्पत्ति ७ करोड ८ लाख ४७ हजार २ सय ७६ छ’ उनले भनिन् ।

विनाधितो लगानी
सहकारीले विना धितो ३५ हजारसम्म लगानी गर्ने गरेको छ । आर्थिक अवस्था कमजोर भएका महिलाहरुलाई लक्षित गरी बिना धितो ३५ हजारसम्म कुनै आयमुलक कामको लागि लगानी गर्ने गरेका छौं, उनले भनिन् । त्यस्तै सहकारीले ३० लाखसम्म धितोमा कर्जा प्रवाह गरेको छ । हाम्रा बचतकर्ता तथा शेयर सदस्यहरुलाई धितोराखेर पनि कर्जा दिने व्यवस्था मिलाएका छौं, उनले भनिन् ।

सुखमा पनि दुखमा पनि
सहकारीले आफ्ना बचत तथा शेयर सदस्यहरुको सुखदुखमा ऋण प्रवाह गरेर मात्रै नभई दैनिक जीवनमा हुने घटनाहरुसँग पनि साक्षत्कार गर्ने गरेको छ । उसले कुनै सदस्यको परिवारमा सुत्केरी भए सुत्केरी पोषण, मृत्यु भए मृत्यु राहत रकम दिने गरेको लिलादेवीले नयाँ विश्वलाई बताइन् । त्यस्तै सदस्यका छोराछोरी एसईई परीक्षामा उत्कृष्ट भएमा पनि सम्मान गर्ने गरेको उनले बताइन् ।
हामीले मानव आश्रममा रहेकी सृष्टि नाम गरेकी बालिकाको अभिभावकत्व लिएका छौं । उनको लागि हामीले सहकारीमा खाता खोलि रकम जम्मा गर्ने व्यवस्था समेत मिलाएका छौं, उनले भनिन् । अहिलेसम्म हामीले उनको नाममा ३१ हजार जम्मा गराइसकेका छौं ।
कसैले जम्मा गरिदिए पनि राम्रो, यदि कसैले जम्मा नगरिदिएको खण्डमा हामी आफैले मासिक रुपमा उक्त खातामा रकम जम्मा गर्ने गरेका छौं ,उनले भनिन् ।

महिला हिंसा जनचेतना अभियान
सहकारीले महिलाहरुलाई आर्थिक रुपमा सशक्त बनाउनुको साथै महिला हिंसा न्यूनिकरणको लागि पनि अभियान नै चलाएको छ । महिला हिंसा न्यूनिकरणको लागि जनचेतना मुलक कार्यक्रमहरु गर्दै आइरहेको, उनले बताइन् । हामी बागलुङ नगरपालिका भित्र रहेका १४ वटै वडामा यो अभियान संचालन गर्ने सोचका साथ अगाडि बढेका छौं । महिला हिंसा आर्थिक पाटोसँग जोडिएकाले पनि बढ्ने गरेका छौं, महिलाहरु आर्थिक रुपमा सशक्त नभएसम्म हिंसा मजबूत हुने देखिन्छ, त्यसैले सहकारी मार्फत हामीले महिला हितका लागि हिंसा न्यूनिकरण अभियान नै चलाएका छौं, उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्