१३ बैशाख २०८१, बिहीबार

 

मुस्ताङमा हिउँले पुरिएर १ हजार भेडाच्याङ्गा मरे

बागलुङ । मुस्ताङमा हिउँले पुरिएर भेडाच्याङ्गा मरेका छन् । पछिल्लो एक महीनायताको हिमपातका कारण मुस्ताङमा सयौँ भेडाच्याङ्ग्रा र चौँरीगाई मरेका छन् ।

चरन क्षेत्रमा परेको हिउँका कारण आहारा खान नपाएर, हिउँले पुरिएर र हिउँ चितुवाले आक्रमण गरेर भेडाच्याङ्ग्रा र चौरी गाई मरेका हुन् । आयआर्जनको मुख्य स्रोत भेडाच्याङ्ग्रा र चौँरीगाई मरेपछि मुस्ताङका कृषक चिन्तित भएका छन् ।

मुस्ताङका विभिन्न लेकका खर्कमा आइतबारसम्म करीब एक हजार भेडाच्याङ्ग्रा र सयौँको सङ्ख्यामा चौँरीगाई मृतावस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । लोमान्थाङको चुम्जुङमा ङुटुक गुरुङले पालेका ४५० भेडाच्याङ्ग्रा, हिमा लामाको ६० वटा भेडाच्याङ्ग्रा, सोनाम गुरुङ, वाङ्दी गुरुङ, खुङ्गा गुरुङका ६० वटा चौँरीगाई, कोरला नाका नजिकैको खर्कमा ५२ वटा भेडाच्याङ्ग्रा मरेका छन् ।

घमी र समरको लेक, किमखर्कलगायतका ठाउँका गोठमा पालिएका भेडाच्याङ्ग्रा र चौँरी गाई पनि मरेका छन् । बाक्लो हिउँ जमेकाले हिँडेर अन्यत्र लैजान नसकिएको, घाँस खान नपाएको र चिसोले वस्तुभाउ मरेका कृषक सोनाम गुरुङले बताए । घरमा पालिएका वस्तुभाउलाई सुख्खा नल, पराल खुवाए पनि ठूलो सङ्ख्यामा व्यावसायिकरुपमा पालिएका भेडाच्याङ्ग्रा र चौँरीगाईलाई आहाराको अभाव भएको हो ।

प्रतिक्रिया दिनुहोस्