१५ चैत्र २०८०, बिहीबार

 

विद्यामन्दिर माविको बालविकास कक्षालाई प्रभावकारी बनाउन अभिभावक र पूर्वविद्यार्थीसंग साँझेदारी

बागलुङ । विद्यामन्दिर माविमा रहेको बालविकास कक्षालाई प्रभावकारी बनाउनको लागि विद्यालय अभिभावकसँग साँझेदारी गरिने भएकाे छ । बालविकास कक्षामा अहिले ३० जना बालबालिका रहेका छन् ।

बालबालिकाको लागि दिवा खाजाको व्यवस्था गरेको छ । सल्लाहकार समिति र अभिभावकको भेलाले बाल विकास कक्षालाई प्रभावकारी बनाउनको लागि साँझेदारी गर्ने सहमति भएको हाे ।  हरेक महिनामा दुइ पक्षबीच बैठक बस्ने र बालबालिकामा आएका परिर्वतन र त्यसका सवल पक्ष बारेमा आवश्यक छलफल र समधान गरिने भएको छ ।

त्यस्तै बालविकास कक्षालाई थप प्रभावकारी बनाउनको लागि अभिभावकले खेल्नुपर्ने भूमिमा खेल्ने र सोही अनुसार कार्य गर्ने सहमति जुटेको हो । बालविकासमा रहेका बालबालिकामा धेरै नै परिर्वतन आएको अभिभावककाे भनाइ छ ।  उनीहरुले हरेक दिन दिवा खाजा बालविकासमा नै हुने गरेको बताउँदै आगामी दिनमा आफूहरुले बालविकासलाई प्रभावकारी बनाउन आर्थिक, भौतिक र नैतिक रुपमा सहयोग गर्ने बताए । विद्यालयका प्रधानाध्यापक जगन्नाथ आचार्य, सल्लाहकार देवबहादुर  श्रेष्ठ, मुकेशचन्द्र राजभण्डारी, राजेन्द्र आचार्य ,निर्मल बहादुर श्रेष्ठ शिवसरण ज्ञवाली लगायतका सहभागिता रहेको थियो।

पूर्वविद्यार्थीहरु र शिक्षाप्रेमीहरुको सहयोगमा निशुल्क खाजा र थप एक जना सहजकर्ताको वालविकासमा व्यवस्था गरेको छ ।अभिभावकहरुको बैठकले बालविकास विहान ९: ४५ मा खोल्ने र दिउसो ३ बजेसम्म पढउने निर्णय गरेको छ ।बैठकले अभिभावकसंग मासिक बैठक बस्ने , शिक्षिकाहरुलाई तालिम दिने , राम्रो बालविकासको अवलोकन गर्ने, विद्यार्थी र शिक्षिकालाई पोशाक ,बालविकासमा चाहिने खेलौना ,दराज ,टिभि राख्ने ,शिक्षिकालाई प्रत्येक वर्ष ५ हजारले पुरस्कृत गर्ने र बालविकासलाई अभिभावहरुले मासिक ६ सय रुपैया सहयोग गर्ने निर्णय गरेको छ ।

बालविकास संचालन गर्न वार्षिक ८ लाख खर्च हुने र त्यसको श्रोत जुटाउन पूर्व विद्यार्थी ,शिक्षाप्रेमी र सरोकारवालाहरुसंग यस अभियानमा सहकार्य गर्नु पर्ने प्रधानाध्यापक जगन्नाथ आर्चायले बताउनु भयो ।बालविकास र कक्षा १ को विचमा थप कक्षा संचालन गरेर विद्यार्थीहरुको आधारभुत जग बलियो बनाउने प्रधानध्यापक आचार्यले जानकारी दिनु भयो ।विद्यालयमा विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा र निशुल्क खाजाले सरकारी विद्यालयलाई हेर्ने दृष्टिकोण परिर्वतन हुने बालविकासको सल्लाहकार राजेन्द्र आर्चायले बताए ।

पहिला १२ जना बालबालिका रहेको बालविकासमा नि :शुल्क खाजा र सुविधा सम्पन्न बालविकासको निर्माणसंगै बालबालिकाको संख्या ३० जना पुगेको बालविकासको शिक्षिका जमुना भण्डार्रीले नयाँ विश्वलाई बताए ।

प्रतिक्रिया दिनुहोस्