१५ चैत्र २०८०, बिहीबार

 

व्यवसायसँगै समाजसेवामा सक्रिय श्रेष्ठ

जस्तो सोच्यो, उस्तै हुन्छ
उल्लेखित पंक्ति सबैको जिवनमा मेल खान्छ भन्ने छैन् । तर जसले जिन्दगीलाई सहज ढंगले लिन्छ उसको जिन्दगीमा उल्लेखित भनाइ मेल खान सक्छन् । सरल,सहज र मिजासकी धनी बागलुङ समाज कल्याण केन्द्र काठमाण्डौकी उपाध्यक्ष रसुमिला श्रेष्ठ जिवनमा सकारात्मक सोचले उत्साह पैदा गर्ने बताउँछिन् । व्यापार व्यवसायसंगै सामाजिक सेवालाई उनले निरन्तरता दिइरहेकी छन् ।

सामाजिक सेवामा समर्पित श्रेष्ठ राजधानीको वटुको आफ्नो व्यापार छ । पछिल्ला दिनमा समाज सेवामा सक्रिया भैरहदा आफ्ना स्वामित्वको व्यवसाय सन्तानलाई बिरासत थमाउदै समाज सेवामा सक्रिय भएकी छिन । विभिन्न क्षेत्रमा ब्यापार ब्यवसाय संचालन गर्दै आएकी श्रेष्ठको फेन्सी व्यापार बुहारी विजयालाई जिम्मा लगाएकी छन् ।

उनले दिएको जिम्मेवारीलाई बुहारी लक्ष्मी श्रेष्ठले अगाडि बढाएकी छिन । छोरा बुहारीलाई ब्यवसायमा केन्द्रित गरेपछि उनलाई समाजसेवाका लागि केही फूर्सद मिलेको छ ।नयाँ पुस्ताले व्यापारलाई समेत नयाँ तरीकाले विस्तार गर्न सक्ने उनको विश्वास छ । दुई छोरा मध्ये जेठा छोरा संजय कुमार श्रेष्ठ र बुहारी प्रकृतीले सुचना प्रबिधीमा आधारित अनलाइन व्यापार सम्हालिरहेका छन,भने कान्छा छोरा अजय कुमार श्रेष्ठले क्याफिन कफि सप र इनभेष्टमेन्ट कम्पनी मार्फत व्यापार सम्हालिरहेका छन् ।

आफ्नो विगत सुनाउदैं उनले काठमाण्डौंको आधुनिकतामा हुर्किए पनि विवाह भएर बागलुङ जाँदाको अवस्था स्मरणीय रहेको बताईन् । शुरुका दिनमा बागलुङमा केहि असहज भएपनि आफु त्यो समाजमा छिटै घुलमिल भएको उनको भनाइ छ । उनी भन्छिन् बागलुङको नेवारी भाषा काठमाण्डौंको भन्दा फरक थियो ।भाषा ,जीवन शैली र रहनसहन फरक थियो । सबैको सहयोगमा काम सिक्दै गए ।

बागलुङको नेवारी भाषा सिक्न समय लागेको उनी बताउँछिन् । विस २०३६ सालको जनमत संग्रहको मतदान भएको दिनमा विवाह भएको उनलाई स्मरण छ । उनले भनिन्, ‘मेरो श्रीमान भरत कुमार श्रेष्ठ मेहनती शिक्षक हुनुहुन्थ्यो । मेरो ससुरा डम्मर बहादुर श्रेष्ठले हामीलाई काठमाण्डौ गएर व्यापार गर्न सुझाउनु भयो । त्यसपछि हामीले नयाँ संघर्षको यात्रा शुरु ग¥यौ ।

काठमाण्डौंको वटुमा फेन्सी पसल शुरु गरेको बताईन् । करिब ४ दशक अघि त्यो पसल बढो मेहनत र कठोर संघर्षले अगाडि बढाएको उनले सुनाइन् । बैंकक ,इन्डोनेसिया र चीन लगाएतको देशहरुबाट सामान आयात गरेर बेच्न थालेपछि त्यहि पसललाई होलसेलमा परिणत गरेको उनले संझिन् ।

बच्चाहरु हुर्काउदै ,व्यापारसँगै सामाजिक सेवामा पनि अगाडी बढेपछि विस्तारै समाजले पत्याउन थाल्यो । बागलुङ समाज कल्याण केन्द्र काठमाण्डौ महिला समुहमा सदस्य ,कोषाध्यक्ष हुदै चार वर्ष अध्यक्ष भएर यस संस्थालाई जिम्मेवार र भरपर्दो सामाजिक संस्थाको रुपमा विकास गरेको अनुभव उनीसँग छ । महिलाहरु मिलेर राम्रो जनपक्षिय काम गरेर देखाएपछि पुरुषहरुले आफुहरुलाई हेर्ने दृष्टिकोण परिवर्तन भएको उनको अनुभव छ ।

आफ्नो सक्रियतालाई देखेर बागलुङ र काठमाण्डौंको स्थानीय समाजमा दिदी बहिनीहरु सामाजिक,शैक्षिक र धार्मिक क्षेत्रमा समेत लागेको अनेकौ उदाहरण रहेको उनी बताउँछिन् । अहिले ती महिलाहरुको क्रियाशिलता देख्दा आफुलाई खुशी लाग्ने गरेको उनी बताउँछिन् ।

तिनै दिदी बहिनीसंग देशका विपत्तीका बखत राहत तथा उद्धारको काम गरेकोमा उनलाई गर्व छ । आफ्नै सक्रियतामा महिला दिदी बहिनीले महिला समुहको कोष बनाएको र त्यो समाज सेवामा अर्कौ फड्को  भएको बताईन् । उक्त कोष शुरुमा ६५ हजार रुपैयाँँको मात्र थियो । तर अहिले उक्त बचत कोष २८ लाख रुपैयाँको भएको छ । आफैले कोष बढाउन १ लाख ११ हजार रखेपछि सबै ले विस्तारै सहयोग गर्न थालेपछि ठुलो रकम कोषमा जम्मा भएको अनुभव नयाँ विश्वलाई सुनाइन ।

उनले संचालन गरेको  संस्था सक्रिय भएर सामाजिक काममा लागेको छन् । धेरै दिदी बैनीहरु जागिर , घर ,पसलको काम मिलाएर यसको नेतूत्वमा आएको देख्दा उनलाई खुशी लाग्ने गरेको छ । निस्वार्थ रुपमा काम गरेर देखाएपछि समाजमा महिलाई हेर्ने नजरमा समेत परिवर्तन भएको छ ।

छुट्टै पहिचान कायम भएको स्वयँम श्रेष्ठ बताउछिन् । पछि बागलुङ समाज कल्याण केन्द्र काठमाण्डौको कार्य समितिको सदस्य ,सचिव हुदै उपाध्यक्ष पद सम्हालिरहेकी श्रेष्ठ बाँकी जिवन समाज सेवामा व्यतित गर्नै सर्मपण गरेकी छन् । बागलुङ समाजमा नेतृत्वदायी पदमा आउने पहिलो महिला हुँन पाएकोमा उनलाई गर्व छ ।बागलुड समाजको उक्त पदमा पुग्ने उनी पहिलो महिला हुन । विस्तारै बागलुङ समाजमा महिलाको प्रवेश र जिम्मेवारी बढेको छ ।

उनी त्यसलाई सकरात्मक परिवर्तन मान्छिन् । म र मेरा श्रीमान् सामाजिक सेवामा अग्रसर भएर लागेका छौं । अहिले श्रीमान भरत कुमार श्रेष्ठ रोटरी क्लव अफ त्रिपुरेश्वरको अध्यक्ष हुनुहुन्छ । त्यसले गर्दा उनलाई समाजसेवाका कार्य गर्न अझै सहज भएको छ । श्रीमान भरत कुमार श्रेष्ठको क्लवमा पदीय जिम्मेवारीसँगै उनको जिम्मेवारी समेत बढ्न थालेको छ ।

क्लब मार्फत गरिने समाजसेवाका काम डोनेशन गर्दा उनलाई अझै आन्नद आउछ । निर्भिक स्वभावकी श्रेष्ठ मिठो बोल्ने ,नडराउने, कसैको कुभलो नचिताउने कारण नै परिवारमा मात्र नभएरु  समाजमा सबैकी प्रिय बनेकी छन् । उनी भन्छिन्–विशाल ह्रदय बनाउने हो भने समाजको मात्र नभएर देशको विकास गर्न बेर लाग्दैन् ।

सबैको बिश्वासले मात्र समाजमा माया र सम्मान पाउँन सकिन्छ । श्रेष्ठले आफनो अनुभव सुनाउदै भनिन् हामीले संम्भव भएसम्मका काम आफैले गर्ने बानी बसाल्नु पर्छ । साथै समाजको विपन्न बर्गलाई आय आर्जनसंग जोड्न सकिए समृद्धिको लक्ष्य पछयाउन सकिन्छ । समृद्धिसंगै मानविय सेवा गर्न मानिस आफै उत्प्रेरित हुने, उनको विश्वास छ ।

आर्थिक रुपमा आत्मनिर्भर बन्दै गएपछि पछिल्ला दिनहरुमा दिदी बहिनीहरु समेत अनअपेक्षित रुपमा सामाजिक सेवामा जोडिने क्रम जारी छ । खोज्छन सबै सुख भनि सुख त्यो कहाँ छ । आफु मिटाइ अरुलाई दिनु जहाँ छ ।ू

उल्लेखित वाणी महाकवि लक्ष्मी प्रसाद देवकोटाका कविताका पंक्ति भएपनि निस्वार्थ समाजसेवीको जीवनमा मेल खाने गरेको उनी बताउँछिन् । श्रेष्ठको सक्रियता एवं लगानीमा संचालित हेल्थ होमले वृदआश्रमको धेरै जेष्ठ नागरिकहरुलाई स्वास्थ्य सेवा दिएको छ । बागलुङ लगायत अन्य स्थानमा सामाजिक ,शैक्षिक ,धार्मिक क्षेत्रहरुमा सेवा र सहयोग गरिरहेको उनी बताउँछिन् । भविष्यमा सेवामुलक कार्यलाई निरन्तरता दिने उनको प्रतिवद्धता छ ।

जीवन एक दिन सबैले छोडेर जाने हो ,सबैभन्दा ठुलो कुरा सेवा र संझना हो । हामी सबै मिल्यौ भने घर ,समाज र देशको मुहार फेर्न सकिन्छ भन्ने विश्वास छ । सबै आफनो पेशा र जिम्मेवारी प्रति इमान्दार हुनु पर्यो । हामी जवाफदेहि भएर प्रस्तुत भयौ भने समाजमा भएको विकृति हट्छ ।

मेहनत गर्ने , दायित्व पुरा गर्ने , रोजगारी सृजना गर्ने ,सरकारलाई कर तिर्ने र बचेको समयमा दिन दु :खीको सेवा गर्ने हो भने तपाईलाई छुट्टै आनन्द मिल्छ । मानिसलाई जीवनमा अन्तिम समयमा सन्तुष्टि भएन भने त्यो जीवन बोझ साबित हुन सक्छ उनले भनिन् ।

खोज्छन सबै सुख भनि सुख त्यो कहाँ छ । आफु मिटाइ अरुलाई दिनु जहाँ छ ।उल्लेखित पंक्तिलाई आफ्नो उनी आफ्नो जीवनमा मुल मन्त्र बनाउने ध्येयमा छिन् । उनको बिचार र बाणी समाजका लागि प्ररेणा बन्न सकोस।

प्रतिक्रिया दिनुहोस्