१६ चैत्र २०८०, शुक्रबार

 

बागलुङवासीलाइ चिकित्सक आएपछि उपचारमा राहत

बागलुङ ।  कुनै समय एक जना डाक्टरको भरमा चलेको धौलागिरि अञ्चल अस्पताल बागलुङले अहिले विशेषज्ञ सहितको सेवा प्रदान गर्न थालेको छ । साविक धौलागिरि अञ्चलकै एक मात्र सुविधा सम्पन्न अस्पतालमा पछिल्लो समय विशेषज्ञ डाक्टरहरु आएपछि विरामीलाई उपचारमा सहज भएको छ ।

लामो समयदेखि विशेषज्ञ चिकित्सकहरुको अभावले उपचारमा समस्या भाेग्दैं आएका बागलुङबासीले अस्पतालमा पछिल्लो समय विशेषज्ञ चिकित्सकहरुको सेवा उपलव्ध पाएका छन् । हाल अस्पतालमा आधा दर्जन बढी विशेषज्ञ डाक्टर सहित मेडिकल डाक्टरहरुले सेवा शुचारू छ। अस्पतालमा सेवा लिने विरामीकाे समेत भीड बढेका छन् ।

लामो समयदेखि रिफर सेन्टरका रुपमा चिनिएको अञ्चल अस्पतालमा स्त्री रोगी अाउने गरेकाे तथ्यांक छ । अस्पतालमा  स्त्री राेग  विशेषज्ञ डाक्टरको माग रही आएको थियो । अञ्चल अस्पतालको भौतिक वातावरण सुधारसंगै नयाँ विशेषज्ञ डाक्टरहरु अस्पतालमा हाजिर भएसंगै विरामीहरुलाई सहज हुन थालेको अस्पतालले जनाएको छ । बागलुङ अस्पतालको स्तरबृद्धि र सुबिधाका लागि स्वास्थ्य मन्त्री गगन थापा भएको पहलले सार्थकता पाएको छ । थापाका सल्लाहाकार बागलुङकै युवा प्रताप पौडेल रहेका थिए। पौडेलले जिल्लाको समस्यालाई मध्यनजर गरी निर्वाह गरेको भुमिका यतिवेला सार्थक भएको छ ।

विशेषज्ञ डाक्टर अभावमा अधिकांश विरामीहरुलाई पोखरा रिफर गर्नुपर्ने बाध्यता अब अन्त्य हुने अस्पतालको अपेक्षा छ । अस्पतालमा मेडिकल डाक्टरहरु केही आएपनि विशेषज्ञ आउन नमान्ने समस्याका कारण यहाँका विरामीहरु निकै मारमा रहेका थिए । अस्पतालमा हालै मात्र स्त्री रोग विशेषज्ञ डा. सौगात कोइराला, हाड जोर्नी रोग विशेषज्ञ डा. नविन पौडेल तथा फिजिसियन डा. प्रदिप श्रेष्ठको आगमनसंगै अस्पतालले विशेषज्ञ सहीतको सेवा प्रदान गर्न थालेको मेडिकल सुपरिटेण्डेन्डेन डा. सागर कुमार राजभण्डारीले बताए । अस्पतालले अब उपचारमा विशेषज्ञ सेवा उपलब्ध हुने जानकारी गराएकाे छ ।

‘अहिले विरामीको प्रकृतिका आधारमा छुट्टा छुट्टै विभाग मार्फत डाक्टहरुले उपचार गर्न थालेका छन्,’ राजभण्डारीले भने । ‘डाक्टरको समस्या हुँदा एउटा डाक्टरले सबै रोगको उपचार गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।’ अस्पतालमा चिकित्सक आवास व्यवस्थापन तथा व्यवस्थापकीय चुस्तताको कारण अस्पतालमा पहिलोपटक ७ जना विशेषज्ञ डाक्टरहरुले सेवा दिईरहेको अस्पताल स्रोतले जनाएको छ ।

अञ्चल अस्पतालमा सबैभन्दा बढी स्त्री रोग सम्बन्धी आउने गरेका कारण स्त्रीरोग विशेषज्ञ डाक्टरको उच्च माग रहे पनी २ वर्ष देखि नियमित डाक्टरको उपस्थीती रहन नसेकेका कारण सामान्य सुत्केरी हुने बाहेककालाई पोखरा रिफर गर्नुपर्ने बाध्यताको अन्त्य भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवीराना मगरले बताए ।

‘अस्पतालमा दरबन्दी अनुसारका विशेषज्ञ डाक्टर ल्याउन सबैको पहलले संभव भएको छ,’ व्यवस्थापन समितिका सदस्य शालिग्राम शर्माले भने ‘दुई दिनमै हाजिर भएर काजमा फकर्ने डाक्टरको परिपाटी अन्त्य गर्दैछौं ।’

वि.स.२०६७ सालमा बागलुङ जिल्ला अस्पताललाई स्तरउन्नती गरी अञ्चल अस्पातल बनाइएपनि अञ्चल अस्पतालले प्रदान गर्ने सेवा सुविधा गुणस्तरीय नभएको विरामीहरुले गुनासो गर्दै आएका थिए । १६ विशेषज्ञ सहीत २३ जना डाक्टरहरुको दरवन्दी भएको अञ्चल अस्पतालमा हाल ७ जना विशेषज्ञ र १५ जना मेडिकल अधिकृतहरुले सेवा प्रदान गरेको अस्पतालका सुचना अधिकारी तीर्थ गौतमले बताए । अञ्चल अस्पतालमा फोहोर व्यवस्थापन, शुद्ध खानेपानी, पार्कीङ लगाएतका सुविधाहरु समेत प्रदान गर्न थालिएको छ । अञ्चल अस्पतालमा विशेषगरी स्वास्थ्य विमा प्रधावकारी भए संगै विरामीको चाप उल्लेख्य बृदी भएकाे  छ ।

प्रतिक्रिया दिनुहोस्