१३ बैशाख २०८१, बिहीबार

 

गाउँपालिकाले शुरू गर्यो ‘सामाजिक विकृति न्यूनिकरण अभियान’

कमल पौडेल

बडिगाड । बडिगाड गाउँपालिकामा सामाजिक विकृति न्यूनिकरणको लागि विशेष पहल गरिने भएको छ। गाउँपालिका भित्रको अनियन्त्रीत मदिरा, जुवातास, दाइजो प्रथा, छुवाछुत, महंगी लगाएतका सामाजिक विकृति न्यूनिकरणको लागि पालिकाले पहल शुरु गर्ने भएको हो। जस अन्तरर्गत चैत्र ८ गते पालिका भित्रका सबै जनप्रतिनिधि, राजनीतिक दल, सरकारी तथा गैरसरकारी संघ संस्था, पेशाकर्मी, व्यावसायी तथा आम सर्वसाधरणलाई भेला गरि सामाजिक विकृति विरुद्ध सामूहिक रुपमा प्रतिवद्धता मार्फत समाज सुधारको अभियान शुरु गर्न लागिएको हो। लामो समयको पूर्व तयारी पछि सो अभियान घोषणा गर्न लागिएको बडिगाड गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रदिपचन्द्र सुवेदीले जानकारी दिनुभएको छ।

सो अभियानको सुभारम्भ, प्रतिवद्धता तथा घोषणा कार्यक्रममा संघिय तथा प्रदेश सांसदहरु, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख, छिमेकी पालिकाका प्रमुख तथा प्रतिनिधि, प्रमुख जिल्ला अधिकारीसहितको सहभागिता रहने प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिए ।  मदिरा, दाइजो, छुवाछुत लगाएतका विषयले समाजमा झैझगडा फैलिएकोले सामाजिक विकृति रोक्न विशेष अभियान शुरु गर्न लागिएको गाउँपालिका अध्यक्ष मेयरसिंह पाइजाले बताए । चैत्र ८ गते गाउँपालिकाको कार्यालय ग्वालीचौर खार बजारमा हुने सो कार्यक्रममा बडिगाड गाउँपालिकाको संमृद्धि चाहने सबैलाई उपस्थितको लागि गाउँपालिकाले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्