१६ चैत्र २०८०, शुक्रबार

 

राजधानीमा होलीको रौनक

काठमाडौं । खुशीको पर्व होलीको रौनकले धपक्कै काठमाडौं बलेको छ । भाईचारा र मैत्रीपूर्ण समवन्धमा रमाउन चाहने नेपाली समाजका लागि होलीको परम्परागत मान्यता जत्तिकै मैत्रीभाव प्रकट गर्ने पर्व भएको छ ।

मेलमिलाप र सद्भावको सन्देश पर्व फागुपर्व आज एकआपसमा विभिन्न रङ र लोला खेली मनाइँदैछ । दैत्यराज हिरण्यकश्यपुले आफ्ना पुत्र प्रहृलादलाई मार्ने उद्देश्यले ब्रहृमाबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रहृलादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी थिइन् भने प्रहृलादलाई आगोले छुन नसकेको क्बिंदन्ती छ ।

त्यस समयदेखी शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली खेल्ने परम्परा चलेको जानकार बताउ छन् । त्यसैगरी द्धापरयुगमा श्रीकृष्ण भगवानलाई मार्न कंशद्धारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा सफल नभई प्राण त्याग्न पुगेकी र निजलाई व्रजवासीहरूले जलाई फागु महोत्सव मनाउने प्रथा चलेको धर्मशास्त्रहरूमा उल्लेख छ ।

आजै काठमाडौँको वसन्तपुरमा वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चिरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाउने प्रचलन रहेको छ । उक्त चिरमा राखिएका ध्वजापताकाहरू औषधोपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट र्टछ भनी चिरको खरानीको टीका लगाउने गरिन्छ । फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठक अगाडि मयलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिङ्गारी गाडिएको चिरमा पूजाआजा गरेपछि फागु सुरू हुन्छ । राम्रो तरिकाले तयार पारिएका रङ र अबिर छालाको रोग निवारण गर्ने भएकाले यस्ता रङको प्रयोग गरी फागु खेल्नाले शीतकालमा शरीरमा उत्पन्न कफको विनाश हुने र बालिएको चिरको धुवाँबाट शीतकालका अनेकौँ रोगका कीटाणु निर्मूल हुने हुनाले पनि यो पर्वको आयुर्वेदिक महत्व पनि छ ।

यस दिन विशेषगरी भाङ मिसाइएका खानेकुरा खाई विविध रङबाट रङ्गिएर बाजागाजाका साथ नाचगान गर्दै महिला र पुरुषका समूह आफ्नो क्षेत्रमा बिहानदेखि साँझसम्म घुम्दै रमाइलो गर्छन् । यो चाडमा थकालीहरू रङ्गीबिरङ्गी पोसाकमा रङ्गिनाका साथै सपरिवार भेला भई तिर हान्ने प्रतियोगिताको आयोजना गर्छन् । सात दिनसम्म चल्ने यो पर्वमा प्रत्येक दिन आफ्ना दाजुभाइ तथा नातेदार भेला भई मीठामीठा खानेकुरा खाई रमाइलो पनि गर्छन् । फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिँदै आएको छ । तराई क्षेत्रमा भने यो पर्व पूणिर्माको भोलिपल्ट मनाइने गरिन्छ ।

तिक्ता र बैरभाव बिर्सिएर एक अर्कामा रंग दलेर होलीमा रमाउँदा समवन्धमा समेत प्रगाढता छाउने गरेका अनुभव छन् । राजधानीबासीहरु रंगले रंगिएर होली मनाइरहेका छन् । सरकारका मन्त्री, उच्च पदस्थ कर्मचारी, डाक्टर, इन्जिनियर,कलाकार ,वकिल, नेता, ब्यापारी देखि पत्रकारसम्म होलीको अवसरमा रंगिएका छन् । राजधानीका सडक हाेलीले रंगिएका युवायुवती र सवारी सधानले खचाखच छन् ।

प्रतिक्रिया दिनुहोस्