१६ चैत्र २०८०, शुक्रबार

 

पोखरामा कृषि पत्रकारीता तालिम

पर्वत । गण्डकी प्रदेशमा पहिलो पटक कृषि पत्रकारीता तालिम पोखरामा सम्पन्न भएको छ । गण्डकी प्रदेशका एक पालिका एक कृषि पत्रकार उत्पादन गर्ने लक्ष्य राखेर उक्त  तालिम आयोजना गरिएको हो ।

कृषि ब्यवसाय प्रवद्र्धनका लागि सहयोग तथा तालिम केन्द्र गण्डकी प्रदेश , मालेपाटन पोखराको आयोजना र खोज पाठशाला पोखराको समन्वयमा पहिलो पटक (पहिलो चरण) को तालिम सम्पन्न भएको हो । गण्डकी प्रदेशका २१ वटा पालिकाबाट (पहिलो चरणमा) उक्त कार्यक्रममा सहभागिता रहेकाे थियो ।

तीन दिनसम्म चलेको तालिममा कार्यक्रमका संयोजक डा.कुलराज चालिसे, आरसी टाइम्स कृषि पत्रिकाका सम्पादक डा.रामचन्द्र बराल ,प्रदेश सरकार भुमी ब्यवस्था ,कृषि तथा सहकारी मन्त्रालयका सचिब शरद चन्द्र श्रेष्ठ ,कृषि ब्यवसाय प्रबद्र्धन सहयोग तथा तालिमकेन्द्र प्रमुख सावित्री बराल, पत्रकार वसन्त अधिकारी, सुशीला अधिकारी लगाएतले प्रशिक्षण दिएका थिए ।

प्रशिक्षण कार्यक्रममा प्रशिक्षणको क्रममा बोल्दै मन्त्रालयका सचिब श्रेष्ठले पछिल्लो समयमा युवाहरुको उत्साहजनक सहभागिताले अब्बल पेशाको रुपमा कृषि स्थापित हुने बिश्वास ब्यक्त गरे । कार्यक्रममा सहभागिको तर्फबाट बोल्दै ज्ञानु पङ्गेनी र नारायण भुर्तेलले तालिमले कृषि क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गरेको भन्दै कृषक र सरकार बिचको दुरी घटाउन कृषि पत्रकार लागि पर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।

नेपालका सातै प्रदेश मध्य गण्डकी प्रदेश प्रत्येक पालिकामा कृषि पत्रकार उत्पादनकाे लक्षय राखेर तालिम गर्ने पहिलो प्रदेश भएको छ । अब गण्डकी प्रदेश अन्तर्गतका बाँकी रहेका पालिकाको तालिम दोश्रो चरणमा बैशाखमा गर्ने आयोजकले जनाएको छ ।

एक पालिका एक कृषि पत्रकार

डा.रामचन्द्र बरालले एक पालिका एक कृषि पत्रकार उत्पादन गर्न लागि तालिमको आयोजना गरिएको बताए । नेपालमा अझै पनि कृषि क्षेत्रमा कलम चलाउने (सम्बन्धीत क्षेत्र मात्रै) पत्रकारको अभाव रहेको र आफूहरुले सोही क्षेत्रमा मात्रै कलम चलाउने पत्रकार उत्पादन गर्नको लागि कार्यक्रमको आयोजना गरिएको बताए । उनले गण्डकी प्रदेशबाट यसको सुरुवात भएको बताए । हामी कृषि क्षेत्रको मात्रै बिट सम्हाल्ने पत्रकार उत्पादन गर्ने सोचका साथ अगाडि बढेका छौं, उनले भने ।

प्रतिक्रिया दिनुहोस्