१२ बैशाख २०८१, बुधबार

 

अब सबै विद्यालयमा अनिवार्य राष्ट्रिय झण्डा

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी शैक्षिक सत्रदेखि सबै विद्यालयमा राष्ट्रिय झण्डा र देवनागरिक लिपिमा नाम अनिवार्य गर्ने तयारी गरेको छ । पछिल्लो समय धेरै विद्यालयले अङ्ग्रेजी नाम राखेको पाइएको हुँदा ती सबै विद्यालयले देवनागरिक लिपिमा पनि नाम राख्न अनिवार्य गरिएको जानकारी कामपाले गराएको छ ।

कामपाका अनुसार राष्ट्रियताको सम्मानको लागि निजी र सामुदायिक सबै विद्यालयले अनिवार्य रुपमा विद्यालयको प्राङ्गणमा झण्डा राख्नुपर्ने छ । त्यसैगरी कामपाले आगामी शैक्षिक सत्रदेखि अनिवार्यरूपमा स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ । स्थानीय विषयवस्तु, आवश्यकता र सामग्री उपयोग हुनेगरी स्थानीय पाठ्यक्रम पढाउनुपर्ने भए पनि यसअघि विद्यालयले लागू नगरेकाले कामपाले यस किसिमको व्यवस्था लागू गर्न लागेको हो।

हाल कामपामा ९१ सार्वजनिक र करीब ६४३ संस्थागत विद्यालय सञ्चालनमा रहेका छन् । ती विद्यालयमा एक लाख ६५ हजार बालबालिकाले अध्ययन गर्दै आएका छन् । त्यस्तै कामपाले अब नयाँ विद्यालय सञ्चालनको लागि अनुमति पनि नदिने भएको छ । यसअघिनै दर्ताको प्रक्रियामा रहेका र मापदण्ड पूरा भएको केही विद्यालयलाई दर्ता अनुमति दिए पनि अन्य नयाँ विद्यालयलाई दिइने छैन ।

कामपाले सञ्चालनमा रहेका विद्यालयलाई अनुगमन गरी गुणस्तरीय बनाउन ध्यान दिने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्