१६ चैत्र २०८०, शुक्रबार

 

पर्वतमा सडक महोत्सव गरिने

साजन परियार
पर्वत ।  आन्तरिक तथा बाह्य पर्यटक भित्राएर आर्थिक विकासमा पर्यटनलाई जोड्न उद्देश्यका साथ प्रथम सडक खाना महोत्सव आयोजना गरिएको छ । नयाँ वर्ष २०७६ को अवसरमा जेसिज पर्वतले जिल्ला सदरमुकाम कुश्मा बजारमा सडक खाना महोत्सव आयोजना गर्ने भएको हो । यहि चैत्र ३० देखि २०७६ बैशाख २ गतेसम्म महोत्सव आयोजना गरिने पत्रकार सम्मेलन मार्फत जेसिजले जानकारी दिएको छ ।

महोत्सवमा पर्यटक भित्राउन नेपाल पर्यटन बोर्ड, नेपाल सरकार पर्यटन मन्त्रालय, प्रदेश सरकार , उद्योग बाणिज्य महासंघ र जिल्लाका स्थानीय तह सँग सहकार्य गरिने जेसिज पर्वतले जानकारी दिएको छ । ‘सडकमा खाउँ र सडकमै रमाउ’ँ भन्ने नाराका साथ आयोजना हुन लागेको महोत्सवले पर्वतलाई विश्वभर चिनाउने अपेक्षा लिइएको जेसिज पर्वतका अध्यक्ष मोहन आचार्यले जानकारी दिए ।

महोत्सवमा २५ हजारसम्म पर्यटक भित्राउने लक्ष्य लिइएको छ । महोत्सव सम्पन्न गर्न २४ लाख ३० हजार खर्च हुने अनुमान गरिएको छ । नेपालकै अग्ला चार वटा पुल, एसियाकै नमूना बञ्जिजम्प, मानव निर्मित यान्त्रिक पुल, गुप्तेश्वर गुफा, अल्पेश्वर गुफा, मोदीबेनीधाम र सहस्रधारा झरनाको अवलोकन पनि महोत्सवको आकर्षण हुने आयोजकले जनाएको छ । जेसिजले यो महोत्सव सफल भएमा वर्षेनी महोत्सव आयोजना गर्ने लक्ष्य लिएको छ । पोखरामा आउने पर्यटकहरुलाई पर्वतमा पनि ल्याउन पोखराका पर्यटन व्यवसायीहरुसंग सहकार्य गरिने भएको जेसिजले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्