१५ चैत्र २०८०, बिहीबार

 

सांसद चौधरी अन्य विद्यार्थीसँग प्रतिस्पर्धा गर्दै !

- छोरीसँग एसईई दिँदै

घोराही । प्रतिनिधिसभा सदस्य शान्ता चौधरी यस पटक माध्यमिक शिक्षा परीक्षा (एसईई) दिँदै छिन् । गत २०७३ सालमा डाँडागाउँ मावि गोग्ली, घोराही–२ मा कक्षा ८ मा भर्ना भएपछि उनको औपचारिक कक्षाको पढाइ शुरु भएको थियो । कक्षा ८ र ९ मा औपचारिक रुपमा नियमित विद्यालय गएर पढे पनि कक्षा १० मा भने नियमित विद्यालय जान सकिनन् । अनि खुला विद्यालयमा भर्ना भइन् ।

उनी यस पटक आफ्नी १७ वर्षीया छोरी विनु चौधरीसँग एसर्इर्इको परीक्षा दिँदै छिन । “यसपालि त म छोरीसँग परीक्षा दिँदैछु ।” उनले हाँस्दै भनिन्, “ममी कसको नम्बर धेरै आउँछ है भन्दै छोरीले जिस्काउँछिन्, मलाई डर लाग्छ ।” उनले छोरीसँग प्रतिस्पर्धा गर्नु भएको बताइन् ।

नियमिततर्फ महेन्द्र मावि तुलसीपुरमा सञ्चालित खुला विद्यालयमा अध्ययनरत चौधरी(सिम्बोल नं ०५८८४५३ भी)को सेण्टर मावि तुलसीपुरमा परीक्षा केन्द्र तोकिएको छ । उनकी छोरी विनुले भने बाल सिर्जनालय सेकेण्डेरी बोर्डिङ स्कूल वसुन्धरा, काठमाडौँबाट परीक्षा दिँदै छिन्। नेकपा संसदीय दलका सचेतक चौधरीले कुरा गर्दै भनिन, “व्यस्तताको कारण नियमित कक्षा जान पाइन, सानोमा पनि पढ्ने बानी भएन । त्यसैले अहिले मेहनत धेरै गर्नुपरेको छ ।”

बाल्यकालदेखि विद्यालय त देखे पनि जान नपाएको र किताब छोए पनि पढ्न नपाएको उनको गुनासो छ । सामाजिक काम गर्दागर्दै राजनीतिमा पुगेकी नेत्री चौधरीलाई पछिल्लो समय पढ्नैपर्ने बाध्यता आइलाग्यो । नेताहरू पढ्दैनन् भन्ने भनाइले उनलाई पटक– पटक घोच्यो र विद्यालयमा भर्ना भइन् ।

विसं २०६४ मा पहिलो पटक समानुपातिकबाट संविधानसभा सदस्य भइसकेपछि विभिन्न समितिमा बस्दा अरू पढेलेखेका सदस्यले घोचपेच गर्न थालेपछि उनले पढाइको महत्व बुझिन

केही वर्ष स्वाध्ययन गरेपछि औपचारिक शिक्षा र प्रमाणपत्र लिएरै पढाइ पूरा गर्ने रहर लागेपछि अप्ठेरो नमानेरै विद्यालयमा भर्ना भएको उनी बताउछिन् ।

डाँडागाउँ माविमा कक्षामा बसेका र पढेका साना भाइबहिनी घरमा आएर जिस्काउँदा उनलाई अचम्म लाग्छ । “उनीहरु कसको ग्रेड धेरै आउँछ है, हाम्रो त प्रतिस्पर्धा हुन्छ है” भन्दै हाँस्छन् । उनीहरुको हँसाइले आफूलाई झन् पढ्नु पर्दोरहेछ भन्ने सांसद चौधरीलाई लाग्छ ।

शुरुमा स्कुल जाँदा उनलाई आफ्नै बुबाआमाले समेत विश्वास गरेनन् । असी वर्ष पुगिसकेका बुवा हसुलाल र ७५ वर्षीया आमा कुन्तीले शुरुमा त “विद्यालय नै नजाने मान्छेले पनि किन पढ्न कस्सिएको होला, नचाहिने काम गर्ने?” भन्नुहुन्थ्यो रे ।

प्रतिक्रिया दिनुहोस्