१३ बैशाख २०८१, बिहीबार

 

सहकारीसंगको साझेदारीमा प्रदेशस्तरीय अन्तरकृया सम्पन्न

 

बागलुङ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग नर्सिङ तथा समाजिक सुरक्षा महाशाखाको आयोजना तथा राष्ट्रिय सहकारी महासंघ नेपाल र जिल्ला स्वास्थ्य सहकारी संघ लि. बागलुङको समन्वयमा बागलुङ बजारमा आईतबार सहकारीसंगको साझेदारीमा प्रदेश स्तरीय एक दिने अन्तकृया कार्यक्रम सम्पन्न भएको छ ।

संविधानमा स्वास्थ्य तथा सहकारीका विषयमा व्यवस्था भएका ऐन कानुनका बुँदाहरुलाई प्रष्ट पार्ने, सर्ने र नसर्ने रोगहरुको बारेमा जानकारी तथा रोगको व्यवस्थापन, स्वास्थ्य क्षेत्र र सहकारी विचका अनुभव आदान प्रदान र स्वास्थ्य क्षेत्र र सहकारी बीचको आगामी कार्यदिशा लगाएतका उद्देश्य राखेर कार्यक्रमको आयोजना गरिएको थियो ।

गण्डकी प्रदेश अन्तर्गत बागलुङ, पर्वत, म्याग्दी, कास्की, तनहु, गोरखा, लमजुङ र नवलपुर जिल्लाका सहकारी संघ संस्थाका अभियानकर्मिहरुको उपस्थिती रहेको कार्यक्रमको उद्घाटन नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. नेफ्स्कूनका सञ्चालक चण्डिप्रसाद शर्मा पौडेलले गरेका थिए । उद्घाटनका क्रममा पौडेलले स्वास्थ्य क्षेत्रमा सहकारी संस्थाहरुको योग्दान उल्लेखनीय रहेको बताउदै सहकारी संस्थाहरुले बल्ड बैंक नभएको ठाउँमा ब्लड कलीङ सेवा देखि लिएर, स्वास्थ्य सम्बन्धी शैक्षिक संस्थाहरु स्थापना र सञ्चालन, अस्पताल सञ्चालन, स्वास्थ्य शिविरहरु, सचेतना मुलक कार्यक्रम लगाएतका सेवाहरु प्रदान गर्दै आईरहेको बताएका थिए । कार्यक्रममा जनस्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य प्रशासक दिपक तिवारीले देशको स्वास्थ्य क्षेत्रलाई गुणस्तरीय र पहुँचयोग्य बनाउन स्वास्थ्य र सहकारी क्षेत्रको समन्वयत्मक भूमिका निकै प्रभावकारी हुने बताएका थिए । कार्यक्रममा जिल्ला स्वास्थ्य सहकारी संघ लि. कास्कीका अध्यक्ष रविरमण तिवारी लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

अन्तरकृयाका क्रममा नेपालको संंविधान, ऐन, कानुन, नीति नियममा स्वास्थ्यको विषयमा जनस्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य प्रशासक दिपक तिवारी, स्वास्थ्य, स्वास्थ्य सेवा र नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रलाय अन्तर्गतको स्वास्थ्यका कार्यक्रमहरु, सर्ने र नसर्ने रोगहरुको विषयमा वरिष्ठ स्वास्थ्य प्रशासक माधवप्रसाद लम्साल र सहकारीको परिचय, विश्व र नेपाल ईतीहाँस, स्वास्थ्य क्षेत्रमा सहकारीको योग्दान, नेपालको संविधान, ऐन, कानुन र नीति नियममा सहकारी सम्वन्धि व्यवस्था लगाएतका विषयमा नेफ्स्कूनका सञ्चालक चण्डिप्रसाद शर्मा पौडेलले सहजिकरण गरेका थिए ।

 

कार्यक्रमकै क्रममा स्वास्थ्य क्षेत्रमा सहकारीको भूमिका र सहकारी गर्नुपर्ने आगामी कार्यदिशा र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले गर्नुपर्ने आगामी कार्यदिशाका विषयमा ३ वटा समुह बनाई छलफल तथा प्रस्तुतीकरण र सुझाव पेश गरिएको थियो । प्रस्तुतीकरण जिल्ला बचत संघका कोषाध्यक्ष लिला खड्का, जनस्वास्थ्य कार्यालय पर्वतका जनस्वास्थ्य अधिकृत सजना महर्जन, जिल्ला बचत संघ नवलपुरका सचिव रामप्रसाद काफ्लेले गरेका थिए ।

कार्यक्रम वरिष्ठ जनस्वास्थ्य प्रशासक लम्सालको अध्यक्षता, जिल्ला स्वास्थ्य सहकारी संघ लि बागलुङका अध्यक्ष सीता शर्माको स्वागत र सचिव विकास पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो । समापनका क्रममा सहभागिहरुको तर्फबाट पूर्व संविधान सभा सदस्य नरवहादुर थापा, तरकारी उत्पादक सहकारी संघका बागलुङका अध्यक्ष पार्वती आचार्य, धौलागिरी अञ्चल अस्पतालका विशेषज्ञ डा. शैलेन्द्र वि पोखरले, जनहित स्वास्थय सहकारी संस्थाका सचिव नरेन्द्र कँडेल लगाएतले आफ्ना भनाईहरु राखेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्