१५ चैत्र २०८०, बिहीबार

 

प्रधानमन्त्री कार्यालयकाे निर्देशनपछि बागलुङका पुस्तक पसलमा प्रशासनको अनुगमन

बागलुङ । हिन्दुहरुको पौराणिक कथामा आधारित पुस्तक स्वस्थानी ब्रत कथाको पुस्तकमा यशु क्रिष्टको विज्ञापन गरेको पाइएको भन्दै प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले पुस्तक अनुगमन गर्न निर्देशन दिएपछि बागलुङमा रहेको पुस्तक पसलहरुको अनुगमन गरिएको छ। पछिल्ला दिनहरुमा गरिबी तथा विपन्न बस्तीका समुदाय केन्द्रित गरी परम्परागत धर्ममा प्रहार हुनेगरी धर्म परिवर्तनका गतिविधी सक्रिय पारिएपछि गोप्य सुचनाका आधारमा प्रम कार्यालयले यस्तो निर्देशन गरेको जानकारी हुन आएको छ ।

जिल्ला प्रशासन कार्यालय बागलुङले बागलुङ बजारमा रहेका पुस्तक पसलहरुको अनुगमन गरेको प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले जानकारी दिए। बागलुङ बजारमा रहेका १७ वटा पुस्तक पसलमा पुगेर प्रशासनको टोलीले अनुगमन गरेको थियो। संवेदनशील विज्ञापन शंका गरेको जस्तो बागलुङका पुस्तक पसलहरुमा रहेका पुस्तकमा बिज्ञापन नभेटीएको अनुगमन टोलीले प्रतिक्रिया दिएको छ ।

अनुगमनमा प्रशासन कार्यालय बागलुङका प्रमुख प्रशासकीय अधिकृत केशव लामिछाने, शिक्षा विकास तथा समन्वय इकाइका शाखा अधिकृत विदुर चापागाइँ, पुस्तक तथा स्टेशनरी संघका अध्यक्ष थानेश्वर सुवेदी, उद्योग वाणिज्य संघका कार्यक्रम अधिकृत युवक श्रेष्ठ, राष्ट्रिय उपभोक्ता, मञ्चका जिल्ला सदस्य जयलाल सापकोटा, पुस्तक तथा स्टेशनरी संघका प्रदेश सचिव धु्रव प्रसाद शर्मा, जिल्ला प्रशासन कार्यलयका खरिदार रविन्द्र सापकोट, बागलुङ नगरपालिकाका नायव सुब्बा नरेन्द्र बहादुर केसी र जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि सहभागि थिए ।

 

प्रतिक्रिया दिनुहोस्