१३ बैशाख २०८१, बिहीबार

 

बागलुङको पर्यटन गुरुयोजना बनाउन बोर्डले सहयोग गर्ने

बागलुङ जिल्लाको पर्यटन विकास गुरुयोजना निर्माणको विषयमा नेपाल पर्यटन बोर्ड पोखराका प्रबन्धक सूर्य थपलिया र बागलुङ पर्यटन विकास समितिका पदाधिकारीबीच छलफल भएको छ ।
मंगलबार बिहान बागलुङमा भएको छलफलमा बागलुङको पर्यटन विकासको गुरुयोजना निर्माण गर्न, पर्यटन प्रोफाईल तयार गर्न र पर्यटन सम्बन्धि तालिम सञ्चालन गर्न बोर्डले सहयोग गर्ने सहमति भएको छ । ‘यी तीन कार्यका लागि बोर्डको तर्फबाट आर्थिक सहयोग उपलब्ध गराउने प्रतिवद्धता प्रवन्धक थपलियाले गर्नुभएको छ,’ बागलुङ पर्यटन विकास समितिका अध्यक्ष राजु खड्काले भने, ‘त्यसका लागि हामीले प्रस्ताव पत्र पठाएपछि बोर्डले प्रक्रिया अघि बढाउने छ ।’

यहाँको पर्यटन विकासको क्षेत्रमा काम गर्ने उद्देश्यले तीन महिना अघि बागलुङ पर्यटन विकास समिति गठन भई जिल्ला प्रशासन कार्यालयमा दर्ता भएर आफ्नो काम अघि बढाएको समितिका सचिव अर्जुन चोखालले जानकारी दिए । ‘पर्यटन गुरुयोजना निर्माण लगायतका कामको लागि गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालसँग यसअघि नै छलफल भईसकेको छ,’ चाखालले भने, ‘प्रवन्धक ज्यूले बोर्डबाट सहयोग गर्ने प्रतिबद्धता गर्नुभयो । अब हामी प्रक्रियामा जान्छौँ ।’

समितिले गत महिना गुरुयोजना निर्माणका लागि सरोकारवालासँग अन्तरक्रिया गरेको थियो । समितिले बागलुङमा तत्काल पर्यटन सूचना केन्द्र स्थापना गर्ने अर्को लक्ष्य पनि लिएको छ ।

पर्यटन सम्बन्धि कार्यक्रमका लागि पर्वतको कुश्मा आएका प्रबन्धक थपलिया कालिका भगवतीको दर्शका लागि बागलुङ आईपुगेका थिए । सो अवसरमा उनीसहितको टोलीले मन्दिर परिसरको अवलोकन गरेको थियो । थपलियाले जिल्लामा भए गरेका पर्यटन सम्बन्धि गतिविधि र कालिका मन्दिरबारे जानकारी लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्