८ बैशाख २०८१, शनिबार

 

विरामीलाई सम्झेर निद्रामा झस्किन्छुः डा.राजभण्डारी

बागलुङ  । धौलागिरी अञ्चल अस्पताल बागलुङका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सागर राजभण्डारीले आफू विरामीलाई सम्झेर निद्रामा पनि झस्किने गरेको बताएका छन् । उनले अस्पतालमा भर्ना भएको विरामीको अवस्थाले आफूलाई राती पनि बिथोल्ने गरेको बताए ।
धौलागिरी अञ्चल अस्पताललाई सबैको अस्पताल हो, भन्ने पहिचान दिने अभियानका साथ अगाडि बढेको छु, तर धेरै समस्याहरु झेल्नुपर्ने बाध्यता म माथि आइलाग्यो, उनले भने । अस्पतालको दुरदशाबाट कहिले मुक्त होला र पहिचानसहितको अस्पताल होला भन्ने पिरले मलाई रातदिन सताउने गरेको छ, उनले भने ।

धौलागिरीका चार जिल्ला बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ जिल्लालाई केन्द्रित गरि अंचल अस्पताल निर्माण भएपनि सोही अनुसारको व्यवस्थापन प्रभावकारी नुहदाँ आफूहरु समस्यामा परेको तर पछिल्लो समयमा केहि सकरात्मक सन्देश प्रवाह भएको उनले बताए । डाक्टर राजभण्डारीले अस्पतालमा सुविधाजन्य भवन लगायत बिरामीको सेवाको लागि चाहिने उपकरण भएपनि विशेषज्ञ डाक्टर जिल्लामा ल्याउन नसक्दा सेवा प्रभावित बनेको हुदा समस्या भएको बताए । पछिल्लो समयमा केहि डाक्टरहरु आएपनि ती पर्याप्त मात्रमा नभएको, उनले बताए।

अस्पतालको सुविधाबारे प्रचार कम

अस्पताल भित्र धेरै प्रकारको सेवा सुबिधा भए पनि त्यसको प्रचारप्रसार हुन नसक्दा पनि बिरामीले बाहिर महंगो उपचार गराउने गरेको डाक्टर राजभण्डारीले बताए ।
धौलागिरि अंचल अस्पताल भित्र सेवा लिन आउने बिरामीलाई सकेसम्म बाहिरी जिल्लामा पठाउन नपर्ने वातावरण तयार गरिरहेको र सबैको सकारात्मक सोच भएमा राम्रो सेवा दिन कुनै समस्या नहुने  डा. राजभण्डारीकाे भनाइ छ ।

आगामी ३ वर्ष भित्र पारामेडिसियन अध्ययन गर्ने व्यवस्था सहित १ सय बेडको बनाउने योजना बनाएको बताएका छन् । धौलागिरी संचार क्लबको आयोजनामा भएको अन्तरक्रियामा उनले व्यवस्थापन समिति, अस्पताल प्रशासन र स्थानीयको सहयोगमा अध्ययनकेन्द्र बनाउने तयारी गरिएको बताएका हुन् । अस्पतालमा डाक्टर तथा विशेषज्ञहरु नबसेको गुनासो आइरहेको बेला अध्ययन केन्द्र (मेडिकल कलेज)को रुपमा बिकास हुँदा विशेषज्ञ डाक्टरहरुले अध्यापनको काम पाएर बस्ने वातावरण बन्ने उनले बताए ।

अस्पताल व्यवस्थापन समितिको समन्वय र सहकार्य गरेर सेवा सुविधा सम्पन्न अस्पताल बनाउने योजना बनाएको पनि उनले बताए । ‘अस्पतालमा कार्यरत चिकित्सकको ६ घण्टा डिउटी हुन्छ अरु समय काममा लगाउनुपर्दा प्रोत्साहन भत्ता दिएर लगाउनुपर्छ’ उनले भने, ‘तैले यो काम गर्नै पर्छ भनियो भने त्यसले राम्रो परिणाम पनि दिंदैन ।’ अस्पतालमा आउने विशेषज्ञहरुलाई व्यक्तिगत रुपमा अन्य काम गरेर कमाउने अवसर दिनुपर्ने उनले बताए । लाखौं खर्च गरेर अध्ययन गरेका चिकित्सकले सरकारले दिएको तलबमा अडिन नसकेको उनको तर्क छ ।

अलपत्र भवन
 अहिले अस्पतालको भवनको बि-ब्लक निर्माणको काम सम्पन्न नहुदा पनि अस्पतालमा थ्रपै खालको सेवा दिन समस्या भएको बताउँदै उनले सरोकारवाला निकायलाई ध्यान दिन आग्रह गरे । अस्पतालको भवन आफैमा विरामी छ । हामीले उपचार गर्नसक्ने भएको भए गर्थ्यौ र रोग पनि सायद पत्ता लगाउथ्यौं तर यतिका समयसम्म पनि भवन वेवारिसे अवस्थामा हुदाँ समेत कसैको ध्यान नजानु आफैमा दुखद भएको उनले बताए ।

भवन निर्माणको काम निकै सुस्त गतिमा भएको हुँदा यसलाई छिटोभन्दा छिटो सम्पन्न गराउन सबै सरोकारवालाले दबाव दिनुपर्ने उनको धारणा छ ।
बजारमा मेडिकल सिण्डिकेट मेडिकलहरुले पोखरा र काठमाण्डौँका डाक्टर ल्याएर उपचार गराउने पद्धतीलाई उनले सिण्डिकेटको नाम दिए । नभएको विज्ञता प्रचार गरेर आउने डाक्टरले महिनाभरीलाई औषधि सिफारिस गरेर मेडिकलहरुको व्यपार बढाईदिने गरेको उनले टिप्पणी गरे । तरपनि अस्पतालमा धेरै सुधार भएको उनले दावी गरेका छन् । मृगौलाका रोगीलाई डायलायसिस सेवा दिएको,चौविसै घण्टा ल्याब सेवा, एक्सरे सेवा दिएको उनले बताए । यस्तै निःशुल्क दिने औषधि पर्याप्त व्यवस्थापन गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्