७ बैशाख २०८१, शुक्रबार

 

पूर्व शिक्षामन्त्री शर्मा र मिश्रलाई ‘रत्न श्रेष्ठ राष्ट्रिय पुरस्कार’

बागलुङ । निबन्धकार एवं पूर्वशिक्षामन्त्री दिनानाथ शर्मा र अन्वेषक डिल्लीराम मिश्र ‘श्रमजीवी’ लाई ‘रत्न श्रेष्ठ राष्ट्रिय पुरस्कार’ प्रदान गरिएको छ ।  रत्न श्रेष्ठ पुरस्कार गुठी बागलुङले शनिबार बिशेष कार्यक्रमका बीच शर्माको आत्मपरक निबन्ध कृति ‘बाह्रखरीको बोटमुनी’ र मिश्रको अनुसन्धानमूलक कृति ‘नेपाली पुरस्कारको इतिहास’ का लागि पुरस्कार प्रदान गरेको हो ।

पुरस्कारको राशि जनही २५ हजार रहेको गुठीले जनाएको छ । साहित्यकार तथा अन्वेषक प्रेम छोटाले आफ्नी  आमा रत्नकुमारी श्रेष्ठको स्मृतिमा विसं २०३४ सालमा पुरस्कार स्थापना गरेका थिए । रत्न श्रेष्ठ पुरस्कार गुठीलाई देशकै जेठो मध्येको एक पुरस्कार संस्था मानिन्छ ।

यस्तै गुठीले यो वर्षको जगतचन्द्र स्मृति राष्ट्रिय पुरस्कार म्याग्दीका संस्कतिविद् प्रा.डा. कर्णबहादुर बानियाँलाई प्रदान गरेको छ । बानियाँको ‘म्याग्दीको इतिहास, संस्कृति र सम्पदा’ ग्रन्थ पुरस्कारका लागि छनौट भएको गुठीका संस्थापक संरक्षक प्रेम छोटाले बताए । उक्त पुरस्कारको राशि पनि रु. २५ हजार रहेको छ ।

गुठीले यसै वर्ष स्थापना गरेको ‘धवलागिरि प्रतिभा पुरस्कार’ पर्वतका साहित्यकार साधना प्रतिक्षालाई प्रदान गरिएको छ । प्रतिक्षाको ‘नारी समस्याका आलोकमा रिमालका नाटक’ कृतिका लागि प्रदान गरिएको उक्त पुरस्कारको राशि पनि रु. १५ हजार रहेको छ । यस्तै बागलुङका गणेशप्रसाद श्रेष्ठ तथा विष्णुकमारी श्रेष्ठको स्मृतिमा गुठीमा स्थापित ‘गुरु गणेश स्मृति पुरस्कार’ मुक्तिनाथ वेद विद्याश्रम माविका कुँडुले, बागलुङका विद्यार्थी अच्युत बराललाई प्रदान गरेको छ । उक्त पुरस्कारको राशि रु. ५ हजार रहेको छ ।

पुरस्कार बितरण पछि बोल्दै पूर्व शिक्षामन्त्री दिनानाथ शर्माले समाजलाई बदल्न साहित्य सँस्कृतिका भूमिका अहम हुने भएकाले यसका लागि सबैले सहयोग, समन्वय गर्नुपर्नेमा जोड दिए । उनले आमाको नाम र सम्मानमा स्थापित पुरस्कारले पुरस्कृत हुन पाउनु सौभाग्य भएको बताए ।

संघिय सांसद मनकुमारी केसीले साहित्य र सँस्कृतिको क्षेत्रमा स्थापित पुरस्कारले लेखनमा थप उर्जा र उत्साह मिल्ने बिश्वास व्यक्त गरिन् । धौलागिरी बहुमुखी क्याम्पसका सहप्राध्यापक डा.दिलबहादुर थापाले पुरस्कृत व्यक्तित्वका बारेमा जानकारी दिए ।

कार्यक्रममा बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेल, पुरस्कृत लेखकहरु साधना प्रतिक्षा, डा.कर्ण बानिया, डिल्लीराम मिश्र, पर्वत साहित्य संगमका अध्यक्ष राजेन्द्र पहाडी, म्याग्दीका साहित्यकार गणनाथ पौडेलले बधाई तथा शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

 

माताको सम्झना र मुलुकको कला, साहित्य र सँस्कृतिको उत्थानमा लागेका स्रष्टाहरुको सच्चा सम्मानका लागि पुरस्कार कोष स्थापना गरिएको गुठीका संस्थापक संरक्षक छोटाले बताएका छन् । गुठीले हरेक दुई/दुई वर्षमा पुरस्कार प्रदान गर्दै आएको छ । कार्यक्रम रत्न श्रेष्ठ पुरस्कार गुठीका संस्थापक संरक्षक प्रेम छोटाको अध्यक्षता, प्रवन्ध सदस्य तथा बरिष्ठ अधिवत्ता पद्मनाथ शर्माको स्वागत, देवबहादुर श्रेष्ठको धन्यवाद मन्तव्य र हरिप्रसाद पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्