११ बैशाख २०८१, मंगलवार

 

उत्तर प्रदेशका ८ सिट सहित ९१ निर्वाचन क्षेत्रमा पहिलो दिनको मतदान जारी

 


सञ्जय पन्थी

नयाँ दिल्ली । भारतमा लोकतान्त्रिक अभ्यासबाट नयाँ सरकार चयनका लागि पहिलो चरणको निर्वाचनमा आज मतदान भईरहेको छ । राजधानी दिल्ली नजिक मानिएको उत्तर प्रदेशका ८ सिट सहित ९१ निर्वाचन क्षेत्रमा मतदान जारी छ । पहिलो दिन आज २० राज्य र केन्द्र अधिनस्थ प्रदेश सहित ९१ निर्वाचन क्षेत्रमा मतदान भईरहेको भारतीय निर्वाचन आयोगले जानकारी गराएको छ ।

संसद्को तल्लो सदन लोकसभाका लागि ७ चरणमा हुने मतदानको पहिलो दिन अप्रिल ११ बाट शुरु भएको छ । निर्वाचन मे १९ सम्म जारी रहनेछ ।
मतगणना भने मे २३ बाट सुरु हुने निर्वाचन आयोगले यसअघि नै जानकारी गराएको छ । ९० करोड मतदाताले भाग लिईरहेको यो निर्वाचन सरकारका लागि निरन्तरताको सवाल छ,भने विपक्षीहरुका लागि अस्तित्वको सवाल बनेको छ । सत्तापक्षीय भाजपा विरुद्ध महागठवन्धन बनाएर विपक्षी निर्वाचनमा होमिएका छन् । त्यसैले पनि उनीहरुको लागि अस्तित्वको सवाल बनेको हो ।

प्रधानमन्त्री नरेन्द्र मोदीका नाममा केन्द्रित भएको भाजपालाई मोदीको गरिमा कायम राख्न निर्वाचन चुनौती सावित भएको छ । मतदाताका हिसाबले अहिलेसम्मको ठूलो भनिएको छ । पहिलो चरणको पहिलो दिनको अपरान्हसम्मको मतदान शान्तिपूर्ण भईरहेका नयाँ दिल्लीस्थित गृहमन्त्रालयले जनाएको छ ।

यद्यपी राजधानी दिल्लीको निर्वाचन भने मे १२ मा हुनेछ । ७ निर्वाचन क्षेत्र रहेको दिल्लीमा त्रिपक्षीय टक्कर देखिएको छ । आम आदमी पार्टी कांग्रेस र भाजपा मुख्य प्रतिष्पर्धी देखिएका छन् । ७ निर्वाचन क्षेत्र रहेको दिल्लीमा भाजपाले ५ भन्दा अधिक सिट हात पार्ने निर्वाचन केन्द्रित मत सर्वेक्षणले देखाएका छन् ।

प्रधानमन्त्री मोदीले पहिलो चरणमा हुन लागेको चुनावमा ट्विटरमार्फत पहिलो पटक मतदान गरिरहेका युवा मतदातालाई विवेक प्रयोग गर्न आग्रह समेत गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्