१३ बैशाख २०८१, बिहीबार

 

भारतमा पहिलो चरणको निर्वाचन सम्पन्न , ५० प्रतिशत अधिक मतदान

सञ्जय पन्थी

नयाँ दिल्ली। भारतमा नयाँ सरकारका लागि भएको पहिलो चरणको निर्वाचन सम्पन्न भएको छ । २० राज्यका ९१ स्थानका लागि भएको निर्वाचनमा ५० प्रतिशत भन्दा धेरै मत खसेको निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक तथ्यांकले देखाएको छ। विद्युतीय मतदान मेशिनको उपयोगबाट करिब २० करोड मतदाताले मतदान गरेका छन् ।

निर्वाचनमा मतदानको एकिकृत नतिजा अबको केही समयमा नै सार्वजनिक गर्ने तयारी निर्वाचन आयोगले गरेको बुझिएको छ । आज सम्पन्न आन्ध्र प्रदेशमा भएको निर्वाचनमा ५५ प्रतिशत भन्दा धेरै मत खसेको छ । अरुणाञ्चल प्रदेशमा ५१ प्रतिशत मतदान भएको छ ।

नेपालको पूर्वी सिमासँग नजिकको राज्य सिक्किममा ५५ प्रतिशत अधिक मतदान भएको जानकारी आएको छ । त्यसैगरी उत्तर प्रदेशका ८ निर्वाचन क्षेत्रमा पनि ५५ प्रतिशत भन्दा धेरै मतदान भएको छ ।

महाराष्टका ६ सिटमा पनि शान्तिपूर्ण निर्वाचन सम्पन्न भएको छ । त्यहाँपनि ५० प्रतिशत धेरै मतदान भएको जनाइएको छ । छत्तिसगढमा पनि शान्तिपूर्ण निर्वाचन सम्पन्न भएको छ । त्यसैगरी तेलगांनामा पनि ५३ प्रतिशत भन्दा अधिक मतदान भएको छ ।

उडिसाका ५ निर्वाचन क्षेत्रमा पनि निर्वाचन शान्तिपूर्ण सम्पन्न भएको छ। उत्तराखण्ड र पश्चिम बंगालको केही निर्वाचन क्षेत्रमा भएको निर्वाचनमा पनि शान्तिपूर्ण मतदान भएको छ । ती राज्यमा पनि ५५ प्रतिशतको लगभगमा मतदान भएको जानकारी स्थानीय मिडियाले जानकारी गराएका छन् ।

नागालैण्ड, मिजोरम, मणिपुर,मेघालय,त्रिपुरा र आसममा पनि आजै निर्वाचन समपन्न भएको छ । पहिलो चरणको समपन्न निर्वाचनमा भाजपा, कांग्रेस र क्षेत्रिय पार्टी बीचको त्रिपक्षिय प्रतिष्पर्धा देखिएको छ । अधिकाँश क्षेत्रमा मुख्य प्रतिष्पर्धी भाजपा नै रहेको छ।

प्रतिक्रिया दिनुहोस्