१३ बैशाख २०८१, बिहीबार

 

भँडास (कथा)

सन्ध्या सुवेदी

बिहान ५ बजे, बुधबार ।
‘उठ्न मनै छैन, हिजोकै निद्रा पुगेको छैन,’ भारी जिउ कोल्टे फेर्दै मैले भनेँ ।
‘ओभरटाइम नगर न त भाइ, कति दुःख गर्छौ, बैँसैमा रोगी भइन्छ है यसरी त ।’
‘तपाईं कसरी सक्नुहुन्छ दाइ, खालि काममै त हुनुहुन्छ ?’
किस्न दाइ जवाफ दिँदैनन् । बरु खिस्स हाँस्दै कामका लागि तयार हुन थाले ।
म पनि अप्ठेरो मान्दै उठेँ ।
….
बेलुकी ९ बजे, सोमबार
‘दाइ, मलाई त घर फर्कूं–फर्कूं हुन्छ, यति दुःख उतै गरे जितिएला बरु, बेकारको यो बिरानो देसाँ’
‘गाह्रो छ भाइ गाह्रो छ ।’
….
दिउँसो १ बजे, बिहीबार
(भाइबरमा साथीहरूसँग)
‘बिर्सिस् यार केटा । के छ सुना ?’
‘कहाँ बिर्सिने यार, ठिकै छ मेरो । के हुनु त्यै काममा जाऊ–आऊ, दिनभरि होटेलमा उभिनुपर्छ । ऐले नि काममै छु, लन्च ब्रेक छ ।’
‘कमाको छस् है मस्त ?’
‘खै कमाको हो कि गुमाको हो यार !’
‘कैले आउँछस् त, दुई वर्ष भयो क्यारे त गा’को हैन ?’
‘अँ। खै दुई–चार पैसा नजोडी के आउनू, त्यै त हो ।’
(लामो सास फेर्दै)
‘दिक्क लागेर आउँछ,, यहाँ आएर सामान भैया’छ, मान्छेभन्दा पनि । ल यार ऐले राखेँ, ब्रेक सकिन लायो, पछि कुरा गरम्ला ।’
‘ल–ल केअर गर् आफ्नो ।’
….
२ वर्ष ७ महिनापछि म नेपाल फर्किएँ ।
परिवारमा सबै खुसी देखिए । हजुरआमा विशेष खुसी हुनुहुन्थ्यो । केही दिनपछि बाले भन्नुभो,
‘अझै एक–दुई वर्ष बसेर पैसा जोड्या’ भए हुने । नजाने गरी आइछस् । यहीँ नै केही गर्छु भन्नु त राम्रै हो बाबु…’
….
एक महिनापछि तरकारी खेती गर्न थालेँ ।
पुसाजु आएर भन्नुभयो,
‘तरकारी लाएर के प्रगति गर्लास् र केटा ? उताको राम्रो कमाइ छोडेर आइस् । तरकारीको कति दिन पछि लाग्ने हो र ? हिलो–माटो भयो । गोठालो लाएर कैलेसम्म सकिन्छ र ? हुन त तेरो आफ्नो विचार नि होला तर…।’

प्रत्यक्ष नभने पनि आफन्त, मावली, ससुराली, छिमेकी धेरैले मेरो उद्यम मन पराएनन् । त्यसभन्दा बढी विदेशबाट फर्किएकै मन पराएनन् । जहाँ गए पनि अरूसँग तुलना मात्र गर्ने। कति फेरिइसकेछन् मान्छेहरू ? छोरो विदेश गएर अलि पैसा पठाउने भएपछि काम गर्न सक्ने उमेरमै हात बाँधेर बस्न थालेका, बाबुआमा अनि श्रीमतीहरू । भएको गाई बेचेर दूध किन्ने भएका । खेत अरूलाई ठेक्का दिएका ।

म आजित भइसकेको थिएँ ।
जहाँ गए पनि हौसला दिनेभन्दा निरुत्साहित गर्नेहरूको जमात । लाग्न थाल्यो– छिट्टै फर्केर ठूलो पाप गरेछु !
यहीँ केही गर्न सक्ने शक्ति, लगानी र पुँजी भएकाहरू पनि अस्ट्रेलियाको पिआर लिन लाखौं खर्चने । यहाँचाहिँ प्रयाससम्म नगर्ने । विदेश जाने/नजाने, बस्ने/नबस्ने, के काम गर्ने व्यक्तिको निजी मामिला होइन र ?

सबैले भने– ‘हामीले त तेरो राम्रै सोचेर भनेका !’
कस्तो खालको राम्रो हो कुन्नि ? साँच्चै राम्रो सोच्या’ भए ‘यसको नि केही योजना होला, उसको आफ्नो कुरा हो’ भनेर बुझ्नुपर्ने होइन ? सहयोग गर्न नसके पनि हौसलाका दुई शब्द त दिन सक्थे नि ? सबलाई आफ्नो आत्मादेखि आएको कुरा गर्ने अधिकार हुन्छ । मैले त अरूलाई जाऊ–नजाऊ, यो–त्यो भनेको छैन । सबै स्वतन्त्र छन् । हाम्रा भाइबैनी गएका छन् । जाऊन्, प्रगति गरून् । तर आफ्नो इच्छा होस्, सन्तुष्टि होस्, त्यसमा दिल रमाओस् ।

हिजोआज मनमा यस्ता विचारहरूको हुन्डरी निकै मच्चिन थालेको छ ।
सबलाई राम्रो लुगा लाउनुपर्ने, चिल्लो बाइक चढ्नुपर्ने, भोजभतेर गर्नुपर्ने, सबलाई देखाउनुपर्ने । भित्र खाने पिठो छैन, बाहिर रातो रुमाल भन्या’जस्तो। यहाँ खाएको थालमा चुठ्ने छोराले विदेश गएर जुठा भाँडा उठाउन हुने तर यहाँ आएर त्यही जुठा भाँडा उठाउन नहुने ? स्वरोजगार हुन खोज्नेलाई चाहिँ दोस्रो दर्जाको कामजस्तो गर्ने !

‘हैन के भा’को यार यो ? सबलाई किन देखावा चाहिएको ? ठगी गरेर, दुई नम्बरी धन्दा गरेर कमाएको किन नहोस्, चिटिक्क कोट लाएर चिल्लो गाडीमा आएसि सबको आँखा तिर्मिराउने । ल हेर कति राम्रो, ल हेर बरु त्यसले प्रगति ग¥या’छ, कति स्ट्यान्डर्ड ! आचीजस्तो, कसैको नभा’को खोक्रो स्ट्यान्डर्ड ! सबलाई देखाउनुपर्ने, देखाउनु मात्रै पर्ने । सुख खोज्ने तर छोटो बाटो खोज्ने । खेतमा काम गर्नेको फुटेको खुट्टा देख्दा लाज हुने रे ! एयरपोर्टमा टल्किने सुटकेस बोकेर आएपछि सबको चित्त भरिने । दुनियाँ सब ‘सो अफ’ भैसकेछ यार ।’

एक दिन साथीसँगको भेटमा मनको भँडास पोखेछु । कास यी शब्द ती पाखण्डीहरूलाई पोख्न सक्थेँ !

प्रतिक्रिया दिनुहोस्