१३ बैशाख २०८१, बिहीबार

 

प्रत्येक नेपालीको टाउकोमा ३१ हजार ७०० सरकारी ऋण

काठमाडौं । नेपालीको प्रतिव्यक्ति ऋण बढेर ३१ हजार नाघेको छ । पछिल्लो अध्ययनअनुसार प्रत्येक नेपालीको टाउकोमा ३१ हजार ७ सय ५० रुपैयाँ सरकारी ऋणको भार पुगेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ। शुक्रवार राष्ट्र पतिसमक्ष पेश गरेको महालेखाको आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको छ ।

महालेखको वार्षिक प्रतिवेदनका अनुसार गएको आर्थिक वर्षमा नेपाल सरकारको ऋण दायित्व गत वर्षको तुलनामा एक तिहाइले बढेको छ । जस अनुसार हाल सरकारको कूल ऋण दायित्व आन्तरिक तर्फ ३ खर्ब ९१ अर्ब १६ करोड रुपैयाँ र वैदेशिक ऋणतर्फ ५ खर्ब २४ अर्ब १५ करोड रुपैयाँ गरी कुल ९ खर्ब १५ अर्ब ३१ करोड रुपैयाँ रहेको छ ।

कुल राष्ट्रिय ऋण (सरकारको ऋण दायित्व) लाई कुल जनसङ्ख्याले भाग लगाउँदा आउने स‌ंख्यालाई नै प्रतिव्यक्ति ऋण भनिन्छ । नेपालको पछिल्लो जनसंख्या २ करोड ८८ लाख २९ हजार मानिएको छ । आर्थिक वर्ष २०७३/७४ को तुलनामा प्रतिव्यक्ति ऋण ७ हजार ४३ रुपैयाँले बढेको हो । यसैगरी महालेखा परीक्षकको कार्यालयले आर्थिक यस वर्ष बेरुजु रकम झनै बढेको देखाएको छ ।

यस वर्ष कुल बेरुजु रकम ६ खर्ब ७७ अर्ब ४८ करोड बराबरको फर्स्यौट हुन बाँकी रहेको महा लेखाको ठहर छ । २०७३–७४ मा बाँकी रहेको बेरुजु दुई खर्ब ९० अर्ब ५२ करोड रुपैयाँमा समायोजन र फछ्‌र्योट गरिएको रकम घटाउदा पनि आर्थिक वर्ष २०७४/७५ मा थप १ खर्ब ४१ अर्ब ५ करोड रुपैयाँ बेरुजु थपिएको महालेखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्