१६ चैत्र २०८०, शुक्रबार

 

नेपालको सानदार जीत

काठमाडौं । मलेसियामा जारी आईसीसी यू–१९ एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत एसिया छनोटमा नेपालले ओमानलाई फराकिलो अन्तरले पराजित गरेको छ ।

मंगलबार भएको चौंथो खेलमा नेपालले ओमानलाई १५० रनको फराकिलो अन्तरले पराजित गरेको हो । शिलानगोर ट्रफ क्लबको मैदानमा नेपालले दिएको २३० रनको लक्ष्य पछ्याएको ओमान ४४ ओभर १ बलमा अलआउट हुँदै ७९ समेटियो ।

ओमानका लागि अमनप्रित सिंह र जिल तन्नाले सर्वाधिक १३ १३ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्ने सकेनन् ।

नेपालका पवन सर्राफले ३ तथा सुर्य तामाङ र प्रतिष जिसीले समान २र२ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४३ ओभर २ बलमा अलआउट हुँदै २२९ रन बनाएको थियो ।

नेपालका लागि कप्तान रोहित कुमार पौडेलले ७५ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै प्रतिष जिसीले ४१ तथा भिम सार्कीले ३९ रन बनाए । अविशेक बस्नेतले १५ रन जोड्दा रित गौतम १० रनमा आउट भए । ओमानका मुजाहिर राजा, संजय रबिन्द्र, जिल तन्ना र अजम अलीले समान २र२ विकेट लिए ।

ओमानलाई हराएसंगै नेपालले विश्वकपमा छनोट हुने सम्भावना कायमै राखेको छ । दोस्रो स्थानको नेपालले ४ खेलबाट ६ अंक जोडेको छ ।

नेपालले यस अघि पहिलो खेलमा सिंगापुरलाई २१७ रन र तेस्रो खेलमा मलेसियालाई ८ विकेटले हराएको थियो । नेपाल दोस्रो खेलमा भने युएईसंग डकवर्थ लेविस (डिएल) पद्दतिको आधारमा १ रनले पराजित भएको थियो । अब नेपालले अन्तिम खेलमा बिहिबार कुवेतसंग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्