१६ चैत्र २०८०, शुक्रबार

 

फरक–फरक कित्तामा नेपालीभाषी मतदाता

सञ्जय पन्थी
नयाँदिल्ली– भारतको १७औं लोकसभा निर्वाचनमा त्यहाँको नेपालीभाषी समुदाय पनि विभिन्न कित्तामा बाँडिएको छ । उनीहरू एउटै दल वा उम्मेदवारभन्दा आफ्नो अनुकूलता र निकटताका आधारमा मतदान गर्दै छन् ।

पहिलो चरणको निर्वाचन सकिए पनि अझै ६ चरण बाँकी छ । भारतीयजस्तै नेपाली मतदाता खास गरी राष्ट्रिय दल भाजपा र कंग्रेसमा विभाजित देखिन्छन् । क्षेत्रीय पार्टीमा समेत उनीहरूको राजनीतिक सम्बन्ध र संलग्नता छ ।

त्यसैले उनीहरूले एउटै दललाई मात्र मतदान गर्छन् भन्ने निश्चित छैन ।  भारत प्रवास नेविसंघका अध्यक्ष अम्बिकाप्रसाद जोशीले नेपालीले राजनीतिक आस्था र सिद्धान्तभन्दा पनि आपसी सम्बन्धका आधारमा मतदान गर्ने गरेको बताए । उनका अनुसार सीमा–राज्यमा दुवैतिर मतदान गर्ने मतदाता छन् ।

उत्तराखण्डको देहरादुन तथा पश्चिम बंगालका दार्जिलिङ र असमका नेपालीभाषी भने आस्था र सिद्धान्तकै आधारमा विभाजित छन् । अन्यत्रका नेपालीको मत पनि कुनै उम्मेदवारलाई एकमुष्ट जाने अवस्था छैन । ‘सामान्य अवस्थामा भारतीयजस्तै नेपाली मतदाता पनि विभाजित छन्,’ उनले भने ।
भारतमा दुई किसिमका नेपालीको बसोबास छ । एकथरी वर्षाैंदेखि यतै बसेर भारतीय नागरिक भइसकेका छन् । अर्काथरी नेपाल नै फर्कने गरी रोजगारीका लागि मात्र बसिरहेकाहरू छन् । खुला सीमाका कारण कति नेपाली आउँछन् -फर्कन्छन्, यकिन तथ्यांक छैन ।

भारतका प्रत्येक सहरमा नेपालीको बसोबास छ । दिल्लीस्थित दूतावासका राजनीतिक कन्सुलर हरि ओडारीका अनुसार नेपाली कसलाई मान्ने भन्नेमा एकमत छैन । ‘नेपाली भाषा बोल्दैमा नेपाली मान्ने वा आउने–जानेलाई मान्ने ?,’ उनले भने, ‘आउने–जानेलाई मान्ने हो भने सीमामा तथ्यांक राख्ने व्यवस्था गर्नुपर्छ । अनि मात्र यकिन संख्या थाहा हुन्छ ।’

नेपालीभाषीको बाहुल्य रहेका पश्चिम बंगाल, सिक्किम र उत्तराखण्डमा भाजपाले नेपाली समुदायबाटै उम्मेदवार बनाएको छ । दार्जिलिङबाट राजु विष्ट उठाइएका छन् ।

केही साताअघि प्रधानमन्त्री नरेन्द्र मोदीले चुनावी सभामा असमका नेपालीका समस्या समाधान गर्न भाजपा सरकार तयार रहेको घोषणा गरेका थिए । खास गरी पूर्वी सीमा–राज्यमा बस्ने नेपालीलाई पहिचान र समान अधिकार नपाएको गुनासो छ ।

मोदीको उक्त सम्बोधनकै कारण यसपालि उक्त राज्यका नेपालीको मत भाजपाको पक्षमा जान सक्ने स्थानीय प्रदीप खनालले बताए । ‘पश्चिम बंगालको तृणमूल कंग्रेस सरकार नेपालीका समस्यामा चुप बसिरहँदा मोदीले असममै पुगेर सम्बोधन गरेका छन्,’ उनले भने, ‘त्यसैले नेपालसँग सीमा जोडिएका पूर्वी राज्यको भोट भाजपालाई जाने सम्भावना छ ।’

अन्य प्रदेशका नेपालीले भने निकटता र स्वविवेकका आधारमा मतदान गर्न सक्ने उनले औंल्याए ।  नेपालीभाषीको संख्या यकिन नभए पनि स्थायी र अस्थायी गरी मतदाता सूचीमा करिब ६० लाख सूचीकृत भएको अनुमान छ । पश्चिम बंगालका नेपालीभाषीको गोर्खाल्यान्डको मागबाहेक अन्यत्रका नेपालीका राष्ट्रिय स्तरका एजेन्डा छैनन् ।

सबै आआफ्नै विवेकले मतदानमा सहभागी हुन लागेको नेपालीभाषी अधिवक्ता राजीव मल्ल (ठाकुर) ले बताए । उनका अनुसार गुजरात, मध्य प्रदेश, राजस्थानलगायत राज्यका अधिकांश नेपालीले भाजपालाई समर्थन गरेका छन् ।

भाजपासँग सांस्कृतिक रूपमै सम्बन्ध भएकाले उक्त दलका विभिन्न संगठनमा पनि नेपालीको संलग्नता छ । ‘त्यसैले पनि अधिकांश नेपालीले भाजपालाई भोट दिनेछन्,’ मल्लले भने, ‘भाजपाको मुख्य स्लोगान धर्मसंस्कृति र समाजको संरक्षण छ । नेपाल, नेपाली र भारतको धर्मसंस्कृति खासै फरक छैन ।’

नेपाली मूलकी पत्रकार पुष्पा उपाध्यायको बुझाइमा राजनीतिक सिद्धान्तका आधारमा मतदान गर्ने नेपाली असाध्यै कम छन् । उनीहरू आफू बसेको स्थानको प्रभावका आधारमा मतदान गर्छन् । उत्तराखण्ड र पश्चिम बंगालको दार्जिलिङमा उल्लेख्य रहेका नेपाली अन्य राज्यमा छरिएर बसेका छन् । उनीहरूको पहिलो आवश्यकता रोजगारी हो ।

त्यसको ग्यारेन्टी गर्नेलाई नै मत दिन्छन् ।  ‘यसपटक तुलनात्मक रूपमा अघिल्लो पटकजस्तै भाजपाका पक्षमा धेरै नेपालीको पक्षपोषण देखिन्छ,’ उपाध्यायले भनिन्, ‘किनकि भाजपाले यस अवधिमा सबै राज्यका बस्तीमा संगठन विस्तार गरेको छ । त्यहाँका नेपालीलाई कुनै न कुनै संगठनमा समेटेको छ ।’ संगठन विस्तारको मामिलामा भाजपा अग्रपंक्तिमा देखिएको उनको ठम्याइ छ ।

भाजपाको मातृ पार्टी आरएसएसमा नेपालीको उल्लेख्य सहभागिता रहेको जवाहरलाल नेहरू विश्वविद्यालयका पूर्वविद्यार्थी दीपक पाण्डेले बताए । ‘संगठनमा भएका नेपालीले अन्यत्र मतदान गर्दैनन् ।

पछिल्ला दिन भाजपाले संगठन विस्तारमा ध्यान दिएकैले नेपाली आरएसएस र भाजपाका माथिल्ला संगठनसम्म पुगेका हुन्,’ उनले भने ।  पन्जाबमा कार्यरत गोकर्ण ढुंगाना नेपालीहरूको मतले निर्णायक भूमिका निर्वाह नगरे पनि मतदानमा सहभागी हुँदै आएको बताउँछन् ।

अघिल्लोचोटि अकाली दललाई मत दिएका उनी यसपालि कसलाई दिने, टुंगोमा पुगिसकेका छैनन् । ‘हामी ज्याला–मजदुरी गर्नेलाई कसले जित्दा र हार्दा के हुन्छ भन्नेले खासै अर्थ राख्दैन,’ ढुंगानाले भने । उनी ३० वर्षदेखि त्यहाँ बस्दै आएका छन् । भारतमा अहिले पनि लाखौं नेपाली कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्