७ बैशाख २०८१, शुक्रबार

 

ढोरपाटन पुग्ने पर्यटकलाई बडिगाडमा र्‍याफ्टीङ : मन्त्री विष्ट

बागलुङ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रि गोकर्ण विष्टले ढोरपाटनमा पुग्ने पर्यटकलाई बडिगाडमा र्‍याफ्टीङ गराएर फर्काउने गरी योजना बनाउनुपर्ने र त्यसको लागि सहयोग गर्न आफू तयार रहेको बताउनु भएको छ।

मंगलवार बागलुङको खर्वाङमा बडिगाड खोलामा पहिलो पटक र्याफ्टीङको उद्घाटन गर्दै मन्त्री विष्टले राज्यको स्रोतको महत्वपूर्ण योगदान पर्यटन भएको भन्दै नदीको भरपूर प्रयोग हुनुपर्ने बताउनु भएको हो।

सरकारले जहाँ जे को सम्भावना छ त्यहि काम गरी देशलाई सम्वृद्धि तिर लैजान लागेको खुलासा गर्दै काठमाडौंमा रेल चलाउने गरी तयारी गरिरहेको बताउनु भएको छ। आगामी बजेटको सन्दर्भमा बोल्दै मन्त्री विष्टले प्रत्येक पालिकामा कम्तिमा ४ सय युवाहरुलाई रोजगारी दिने कार्यक्रम संचालन गर्ने बताउनु भयो।

मन्त्री विष्टले सामाजिक सुरक्षाको दायरा बढाउँदै लैजाने, वृद्धवृद्धाको भत्ता बढाउने बताउनु भएको छ। कानुनी हिसाबले २०८२ साल पछि कोहि पनि भोको नरहने, कोही पनि परिवार आवास बिहिन नहुने, कोही पनि पढ्न, स्वास्थ्य सेवा बाट बन्चित नहुने गरी कानून तयार भैसकेको भन्दै मन्त्री विष्टले सरकार सामाजिक न्यायका हिसाबले अगाडि बढेको वताउनु भएको छ।

मन्त्री विष्टले स्थानिय वा राष्ट्रिय रुपमा घोषणा गरेको सबै प्रतिबद्धता ३ वर्ष भित्र सत प्रतिसत पुरा गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ।

गुल्मीको मुसिकोट नगरपालिका र बागलुङको बडिगाड गाउँपालिका बीचमा बग्ने बडिगाडमा झक्कले एग्रो टुरीजम् रिसोर्ट प्रालिले र्‍याफ्टीङ चलाउन लागेको हो। पर्यटन प्रवर्द्धनको उद्धेश्य सहित शुरु भएको कार्यक्रमलाई मुसिकोट नगरपालिकाले प्रवर्द्धन गर्ने जनाएको छ। औपचारीक कार्यक्रम पछि मन्त्री विष्ट सहितको टोली बागलुङको खर्वाङबाट र्‍याफ्टीङ चढि गुल्मीको झेंदिसम्म पुगि त्यहाँको २ दिन अघि भत्किएको निर्माणधिन पुलको समेत अवलोकन गर्नुभएको थियो।

कार्यक्रममा मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले बडिगाडको जल उपयोगको लागि बनाइएका योजना र कार्यान्वयनको पक्षको सन्दर्भ बताउनु भएको थियो। त्यस्तै नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भुसालले शुभकामना व्यक्त गर्नुभएको थियो। कार्यक्रम बडिगाड गाउँपालिका वडा नं. २ का कार्यवाहक अध्यक्ष हिमा खरेलको अध्यक्षता, मुसिकोट नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष प्रकाश काफ्लेको स्वागत मन्तव्य तथा पत्रकार कमल पौडेलको संचालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्