११ बैशाख २०८१, मंगलवार

 

विप्लवको बन्द : ४ सवारी साधनमा आगजनी, ४ जना पक्राउ

काठमाडौं । नेत्र विक्रम चन्द नेतृत्वको नेकपाले आव्हान गरेको नेपाल बन्दको प्रभाव आंशिक रुपमा देखिएको छ । देशका विभिन्न स्थानमा शंकास्पद वस्तु भेटएका छन् । बन्द आव्हानकर्ताले देशका विभिन्न ठाउँमा बम बिस्फोट गराएका छन् । भने केही जिल्लामा सवारीसाधनमाथि आगजनी गरेका छन् ।

कहाँ –कहाँ आगजनी
नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीका अनुसार   देशका ४ स्थानमा सवारी साधनमाथि आगजनी भएका छन् ।   मकवानपुरमा दुई, कपिलवस्तु र नवलपरासी गरी ४ स्थानमा सवारी साधनमा आगजनी भएकाे हुन्  ।  आगजनीबाट केही सवारी साधन पूर्ण रुपमा क्षति भएका छन् ।

बिस्फोट
बिहीबार बिहानैदेखि बम बिस्फोटका घटनाहरु आइरहेपनि देशभर ४ स्थानमा बम बिस्फोट भएका छन् । प्रदेश ५ को पाल्पा, पूर्व नवलपरासी, रुपन्देही र प्रदेश ३ को चितवनमा बम बिस्फोट भएको प्रहरीले जनाएको छ ।

बम निष्क्रिय
देशका विभिन्न स्थानमा भेटिएका बम जस्तो देखिने शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ । कास्की, बागलुङ, काभ्रे, नवलपरासी, रुपन्देही लगायतका १८ स्थानका बम जस्तो देखिने शंकास्पद वस्तु निष्क्रिय पारेको प्रहरीले जनाएको छ । बम निष्क्रिय पर्दा पोखरामा नेपाली सेनाका जवान घाइते भएका छन् । उनको उपचार काठमाडौंको सैनिक अस्पतालमा भइरहेको छ ।

४ जना पक्राउ
नेपाल प्रहरीले बम बिस्फोट तथा सवारी साधनमाथि आगजनी गर्ने ४ जनालाई पक्राउ गरेको छ । नवलपरासी, रोल्पा, पाल्पा र रौतहटबाट ४ जना विप्लवका कार्यकर्तालाई नियन्त्रणमा लिएको प्रवक्ता सुवेदीले नयाँ विश्वलाई जानकारी दिए ।

बन्दको प्रभाव
नेकपाले आव्हान गरेको बन्दको प्रभाव प्रदेश ५ मा बढी देखिएको छ । अन्य प्रदेशमा लामो दुरीका सवारी साधन बाहेक छोटा दुरीका सवारी साधन निर्वाध रुपमा सञ्चालनाम आएको प्रहरीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्