६ बैशाख २०८१, बिहीबार

 

वसन्त

झ्याल बाहिर अवेरसम्म
आफ्नै चुच्चाले
पखेटाको काप कन्याइरहेको
परेवाको मौनताझैँ,

गुजुल्टिएका पानीका पाइपमा
आफ्नो यौवन सम्झेर
सुस्क–सुस्क
रोइरहेको
नदीको आवाजझैँ,

बर्खाबाट टुक्रिएर
शिशुका हातझै कोमल
पातबाट
गुर्किएको
पानी–थोपाको चित्कारझैँ,

बिरानो सल्लाघारीबाट
बैरंगी चिठीभित्र
गुम्सिएर
टेबुलपंखा वरीपरी
रिङ्न आइपुगेको
बतासको पातलो सुस्केराझैँ,

अल्मलिएर बाटो
ढोकाको चरबाट
भित्रको अध्याँरो चिहाइरहेको
पहेँलो
र मसिनो
घामको पद्चापझैँ,

सुनसान सडकमा खसेर
धुलाम्मे भएको
बालकको
रंगीन चुइकने जुत्ताको
अन्तिम हिक्काझैँ,

प्रत्येक बर्ष
आइपुग्छ– वसन्त,
मसानघाटको एक्लो ढुंगो
सर्दे–सर्दे
चुपचाप चिहानतिर आएझैँ

– बुद्धि सागर

 

प्रतिक्रिया दिनुहोस्