१३ बैशाख २०८१, बिहीबार

 

स्याङ्जा मालपोत दैनिक १२ घण्टा खुला, सोफासहितको प्रतीक्षालय, तातो–चिसो पानी, वाइफाई, मोबाइल चार्जिङ, पुस्तक तथा पत्रपत्रिका, टोकन मेसिनको व्यवस्था

- आईएसओ प्रमाणित गर्ने तयारीमा मालपोत कार्यालय

मालपोत कार्यालय स्याङ्जा दैनिक १२ घण्टा सेवा दिने पहिलो मालपोत कार्यालय बनेको छ । कार्यालयले दसैंपछि बिहान ७ः३० बजेदेखि बेलुका ७ः३० बजेसम्म सेवा दिन थालेको हो ।

कार्यालयको सेवालाई आईएसओः९००१,२०१५ प्रमाणित गर्ने तयारीसहित भौतिक संरचनादेखि सेवाको प्रकृति र कर्मचारीको आचरणसम्म फेर्न लागिएको मालपोत प्रमुख प्रकाश पौडेलले बताए ।

‘आईएसओका लागि भूमि व्यवस्थापन तथा अभिलेख विभाग र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग स्वीकृति मागिसकिएको छ,’ उनले भने, ‘निवेदन दिनुपूर्व गर्नुपर्ने आन्तरिक व्यवस्थापन र डकुमेन्टेसनको तयारी पूरा गरी तिहारलगत्तै प्रशिक्षणको सुरुवात गर्ने तयारी छ ।

दसैंपछिको सेवा प्रवाहलाई १२ घण्टासम्म विस्तार गरिसकिएको छ ।’ खास गरी सेवाग्राहीको बसोबास र कार्यालयको भौगोलिक दुरी, सेवाग्राहीको उमेर, शारीरिक अवस्था, मानवीय मूल्य र मर्मका आधारमा १२ घण्टे समय तालिका लागू गरिएको उनले बताए ।

आईएसओ प्रमाणीकरणका लागि कार्यालयले पुराना भौतिक संरचनालाई अपांतामैत्री र पारदर्शी हुने गरी ‘रिनोभेट’ गरेर एकद्वार कार्यसम्पादन प्रणालीसमेत अवलम्बन गरिसकेको छ ।

सेवाग्राहीमैत्री वातावरण बनाउने क्रममा कार्यालयले सोफासहितको प्रतीक्षालय, तातो–चिसो पानी, वाइफाई, मोबाइल चार्जिङ, पुस्तक तथा पत्रपत्रिका, टोकन मेसिन, दुईतर्फी मनिटर इत्यादि सेवा पनि सुरु गरिसकेको छ ।

मालपोत कार्यालयको सेवा लिन आवश्यक पर्ने फुटकर निवेदनहरूको टेम्प्लेट उपलब्ध गराउँदै निवेदन भर्नसमेत नसक्ने सेवाग्राहीको हकमा आदेश पर्चा खडा गरी त्यहीँबाटै निवेदकलाई सनाखत गराई काम गर्ने व्यवस्थासमेत मिलाइएको छ ।

कार्यालयले उपप्रक्रिया (एकभन्दा बढी काम) का लागि थप निवेदन नमागी आदेश पर्चाबाटै थप प्रमाण जुटाएर तत्काल निर्णय लिई झन्झटिलो निवेदनमुखी पद्धतिमा समेत क्रमभंगता ल्याएको कार्यालय प्रमुख पौडेल बताउँछन् ।

कार्यालय परिसरमा स्तनपान कक्ष, अपांगतामैत्री शौचालय, रिफ्रेस रुम, रिसेप्सन बेन्च, सपोर्ट डेस्क आदिको समेत व्यवस्था गरिएको छ । यसले कार्यालयको सेवा प्रवाह र सेवामैत्री वातावरणलाई थप चुस्त बनाएको उनको भनाइ छ ।

तस्वीर : बिजमाण्डुबाट

प्रतिक्रिया दिनुहोस्