४ बैशाख २०८१, मंगलवार

 

रोक्का–फुकुवा कम्प्युटरबाटै गर्न भूमि व्यवस्थापन विभागको परिपत्र

भूमि व्यवस्थापन तथा अभिलेख विभागले रोक्का, फुकुवा र लिखत निवेदनका मिसिलहरू कम्प्युटरबाट मात्रै गर्न दोस्रोपटक परिपत्र गरेको छ ।

विभागले गत मंसिर ९ गते जारी गरेको परिपत्रमा पहिले नै रोक्का भइसकेका फाइल र एलआरआएएमस प्रणाली लागू हुनुभन्दा अघिका स्रेस्ता कसरी व्यवस्थापन गर्ने भन्ने स्पष्ट नभएकाले पुस १० गते दोस्रो पटक परिपत्र गर्नुपरेको जनाइएको छ ।

मंसिरको परिपत्रमा दोहोरो स्रेस्ता राख्नुनपर्ने उल्लेख गरिए पनि यसअघिनै ढड्डामा रोक्का राखिएका र स्रेस्ता कायम भएका फाइलहरूलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा उल्लेख थिएन । १०८ वटा मालपोत कार्यालयमा लागू भएको अनलाइन प्रणाली केही कार्यालयमा ४ वर्ष पुगे पनि केही कार्यालयमा भने एक वर्ष पनि पुगेको छैन ।

सबै कार्यालयमा पुराना मोठ स्रेस्ताहरू स्क्यान गर्न पनि नसकिएको जनाउँदै विभागले अनलाइन प्रणाली लागू भएपछिका स्रेस्तालाई मात्र अनिवार्य रूपमा कम्प्युटरबाट गर्नुपर्ने र पुराना स्रेस्तालाई साबिककै व्यवस्थाअनुसार काम गर्न निर्देशन दिएको हो ।

कानुनी जटिलता आउने देखिएपछि यसअघि ढड्डामा उल्लेख गरिएका निवेदनहरू ढड्डाबाटै सल्टाउने र परिपत्र जारी भइसकेपछि अनलाइन प्रणाली लागू भएका मालपोत कार्यालयले कम्प्युटरमा मात्रै स्रेस्ता कायम गर्नुपर्ने गरी परिपत्र गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्