३१ बैशाख २०८२, बुधबार

 

मेयरले विधि मिचेर ४८ लाख बाँडे

- ‘मौखिक सल्लाह भएको हो’ उपमेयर

आफ्नो वडामा साढे १४ लाख रुपैयाँ बजेट परेको पैयुपाटाका नारायण पौडेललाई त्यतिबेला मात्र थाहा भयो जब बजेट परेको योजनाका उपभोक्ताले उनलाई भने । पौडेल साबिकको पैयुपाटा–३ का स्थानीय हुन् ।

उनको घर अहिले बागलुङ नगरपालिका–१३ मा पर्छ । गाउँमा बजेट छुट्टिएको कुरा सवै स्थानीयवासीलाई तत्काल थाहा नहुनुलाई अस्वभाविक मान्ने कुरा त भएन । तर उनी बानपा–१३ को निर्वाचित वडा अध्यक्ष समेत हुन् ।

वडा भित्र स्थानीय विकास योजना छनोट, ती योजनामा बजेट विनियोजन, विभिन्न सिफारिस जस्ता काम वडा अध्यक्ष मार्फत हुन्छन् ।
उनको वडामा सडक सुधार, खानेपानी योजना र सिचाईका लागि पाईप खरिद गर्न बागलुङ नगरपालिका कार्यालयबाट यो बजेट छुट्टिएको हो । वडा अध्यक्ष भएपछि उनी नगर कार्यकारी र नगरसभा दुबैतर्फ सदस्य छन् ।

जनप्रतिनिधि निर्वाचित भएपछि पनि कुनै बैठक नै नबसी ४८ लाख बजेट बाँडफाँड भएमा पौडेलले आश्चार्य व्यक्त गरे । यस सम्बन्धमा कार्यकारी अधिकृतलाई सोध्दा आफुले स्पष्ट जवाफ नभएको भन्दै बैठकमा कुरा उठाउने बताए ।

नगरपालिकामा प्राप्त १ करोड बजेट मध्ये २० लाख रुपैयाँ स्थानीय तह निर्वाचन हुनु अघि नै नगरपालिका तथा विभिन्न वडा कार्यालय व्यवस्थानमा खर्च गरिएको थियो ।
३२ लाख रुपैयाँ नगरकार्यपालिकाको बैठक बसेर नगरका १४ वटा वडाका योजनामा छुट्याईएको थियो । तर त्यसपछि ४८ लाख बजेट कसरी कुन निकायले विनियोजन ग¥यो भन्ने आफुहरुलाई थाहै नभएको वडा अध्यक्षले बताएका छन् । उनीहरुले नगरपालिकाका मेयरले विधि मिचेर मनपरी रकम बाँडेको आरोप लगाए ।

४८ लाख बजेट यसरी १३ वटा योजनामा छुट्याईएको नगरपालिका कार्यालयको विवरणमा उल्लेख छ ।

१.  नगर चक्रपथ काप्रेदेखि कालिमाटी सडक सुधार ३ लाख (वडा नम्बर–७)
२.  तिरुपति चोकदेखि ठुलास्वाँरा सडक ढलान ६ लाख (वडा नम्बर–४)
३.  सानो लंगाउँदेखि ठुलोलंगाउसम्मको सडक सुधार २ लाख (वडा नम्बर– ६)
४.  देउराली चोक खहरे सडक ढलान २ लाख ५० हजार (वडा नम्बर– ३)
५.  गलुवा अर्माउँदी फलाँटे रायडाँडा सडक सुधार ७ लाख (वडा नम्बर–१० र ११)
६.  बाँस्कोट अमलाचौर भैरवस्थान सडक सुधार ७ लाख ५० हजार (वडा नम्बर–१२ र १३)
७.  पैयुँपाटा मुसुरबारी सडक सुधार ४ लाख (वडा नम्बर–१३)
८.  मनकामना डिहिडाँडा हेपो सिमस्वारा सडक सुधार ४ लाख (वडा नम्बर– ९)
९ . देउराली डाँडा पञ्चासे साँधखोला मालिका सडक सुधार २ लाख (वडा नम्बर– ५)
१०.  नयाँपुल सिँचाई पाईप खरिद १ लाख (वडा नम्बर–१३)
११.  लामीचौर खानेपानी योजना २ लाख (वडा नम्बर– ८)
१२.  पैयुपाटा रोकापाला खानेपानी योजना २ लाख (वडा नम्बर–१३)
१३.  ओखलढुङ्गा बौडाई चौर सडक मर्मत सुधार ५ लाख (वडा नम्बर– ८)

नगरप्रमुख पौडेलको सतहि जवाफ

बागलुङ नगरपालिकाका प्रमुख जनक पौडेलले ४८ लाख बजेट विधिसम्मत नै छुट्याईएको दाबि गरे। यसबारे नयाँ विश्वसँग छोटो मात्रै प्रतिक्रिया दिएका उनले बजेट बिनियोजनको विधि र कुन निकायले गरेको हो भन्ने बारे केहि बोलेनन् ।
‘पत्रकार मित्रले यस्तो सानो विषयमा चासो राख्नुभन्दा भईरहेका राम्रा कामको बारेमा खोज्नुहोस् न’ उनले थपे, ‘नियम अनुसार नै काम भएको छ, कुनै शंका गर्नु पर्दैन ।’
यति ठुलो बजेट किन नगरकार्यपालिकाको बैठक बिनै छुट्याईएको हो भन्ने बारेमा उनले केहि बताउन चाहेनन् ।

वडा अध्यक्षहरुको प्रतिक्रिया

वडा नम्बर–३ का अध्यक्ष लक्ष्मी बाँस्कोटाले ३२ लाख बिनियोजन गर्ने बेलाको बैठक हुँदा ४८ लाख बजेट आउँछ आउँदैन भन्ने निष्चित नभएका कारण छलफल नभएको हुनसक्ने बताईन् । ‘पछि माथिबाट योजना पठाउ भनेको अवस्थामा तत्काल बैठक बस्ने समय नभएकाले त्यस्तो भएको हुनसक्छ, उनले भनिन्, ‘आगामी बैठकमा यसबारे छलफल होला ।’

वडा नम्बर–४ का अध्यक्ष ध्रुव केसीले यसअघिको कनिका छर्ने शैलीको बजेट बाँडफाँडले विकास योजनामा अपेक्षा अनुसारको प्रतिफल नदेखिने गरेकाले नगरप्रमुखले आफ्नो अधिकार भित्र रहेर प्राथमिकताका योजनामा बजेट छुट्यएको हुनसक्ने बताए ।
‘सबै कानुन नबनेको हुँदा कसरी काम गर्ने भन्ने केहि अन्यौल छ, केसीले भने, ‘अहिलेको संरचनामा प्रमुखलाई कानुनले नै धेरै अधिकार दिएको र खर्च गर्ने समय पनि छोटो भएको हुँदा हामीलाई थाहा नभएको होला ।’

उनले यो बजेटमा आफ्नो वडाका कुनै पनि योजना नपरेका भएपनि गुनासो नरहेको बताए । केसीले ‘सबैलाई चित्त बुझाउने गरि रमक बाँड्नुभन्दा प्राथमिकताका योनामा बजेट बढाउनु सकारात्मक हो, उनले थपे, ‘मेरो वडामा अहिले बजेट नपरे पनि कुनै गुनासो छैन, योजनाबद्ध विकासको प्रक्रियामा आगामी दिनमा मेरो वडामा पनि बजेट आउँछ ।’

वडा नम्बर–१४ का अध्यक्ष चक्रबहादुर खत्रीले पछिल्लो ४८ लाख बजेट बाँडफाँड कस्ले कसरी गरे भन्ने केहि थाहा नभएको बताए । ‘मेरो वडामा सडक मर्मतको लागि बजेट आवश्यक छ भनेर बैठकमै भनेको थिएँ, ४८ लाख बाँड्दा पनि वडामा रकम परेन, खत्रीले भने, ‘यो घटनाले त पहुँच हुनेले आफ्नो ठाउँमा बजेट पार्ने, दुर्गम गाउँ पछिको पछि पर्ने देखियो ।’

कार्यकारी अधिकृत यसो भन्छन्

बागलुङ नगरपालिकाका कार्यकारी अधिकृत सुवाशकुमार लामिछानेले बजेट बिनियोनलाई अब हुने नगरकार्यपालिकाको बैठकबाट अनुमोदन गर्ने तयारी भएको बताए । उनले कुनै बैठक तथा छलफल नभई बजेट छुट्याईएको स्वीकार गरेका छन् ।

‘मौखिक सल्लाह भएको हो’ उपमेयर

उपप्रमुख सुरेन्द्र खड्काले बजेट खर्च गर्ने योजना तथा शिर्षक तत्काल तय गर्नुपर्ने भएकाले नगर प्रमुख र आफुबिचको मौखिक सल्लाहमा बजेट बाँडिएको स्वीकार गरे । उनले अब हुने बैठकबाट अनुमोदन गरिने बताए ।
खड्काले ३२ लाख बिनियोजन गर्ने बैठकमा ४८ लाख बजेट प्राप्त हुने निष्चित नभएकाले छलफल नभएको र पछि बजेट आउने पक्का भएपछि अपर्झट योजना छनोट गर्नु परेको बताए ।

‘विधि विपरित रकम बाँड्न पाईन्न’ प्रबक्ता तामाङ

संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयका प्रबक्ता रुद्रसिंह तामाङले स्थानीय तहको सञ्चालन, योजना तर्जुमा, बजेट बिनियोजन लगायतका अन्य कार्य सञ्चालन गर्दा मन्त्रालयबाट जारी भएका आदेश तथा नमुना कानुन अनुसार हुनुपर्ने बताए । उनले नगरपालिकाको कुनैपनि निकायमा छलफल नै नगरि विधि विपरित निष्चित व्यक्तिले बजेट बाँड्न नपाईने बताए ।

 

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung