३० बैशाख २०८२, मंगलवार

 

‘बागलुङका व्यवसायीको अधिवेशनमा गृहमन्त्रीको मोवाईल सम्बोधन’

- राष्ट्रिय समृद्धिका लागि स्वाधिन र आत्मनिर्भर अर्थतन्त्र आवश्यक

नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङ शाखाको पहिलो अभिवेशन बागलुङ बजारमा सुरु भएको छ । अभिवेशनको संगठनका केन्द्रिय उपाध्यक्ष श्याम श्रेष्ठले राधाकृष्ण मन्दिर हलमा उद्घाटन गरे ।

कार्यक्रममा प्रमुख अतिथीको रुपमा गृहमन्त्री जनार्दन शर्मा प्रभाकरलाई निमन्त्रणा गरिएकोमा कार्यव्यस्तताले बागलुङ आउन नपाएपछि उनले मोवाईलबाट सम्बोधन गरेका थिए । शनिबार दिउँसो करिब ५ मिनेट अधिवेशनलाई सम्बोधन गरेका गृहमन्त्री शर्माले स्वाधिन अर्थतन्त्रका लागि उद्योग, व्यापारको विकासमा जोड दिए ।

उद्घाटन मन्तव्य राख्दै केन्द्रिय उपाध्यक्ष श्याम श्रेष्ठ

उनले मुलुकको आर्थिक समृद्धिको लागि जल, जमिन, जङ्गल र जनश्रमलाई अधिकतम उपयोग गर्नुपर्ने बताए । ‘अर्थतन्त्रलाई सुदृढ र स्वाधिन बनाउन सके मात्र मुलुक अघि बढ्छ’ गृहमन्त्री शर्माले भने । उद्यमशीलता विकास र उत्पादनलाई अन्तराष्ट्रिय बजारमा पु¥याउनतर्फ उद्योगी, व्यवसायीले ध्यान दिनुपर्ने उनको भनाई छ ।

आर्थिक समृद्धिबाट मात्र नागरिक हक, अधिकारको पूर्ण प्रत्याभूति दिलाउन सकिने मन्त्री शर्माले बताए । ‘मुलुक राजनीतिक परिवर्तन हाँसिल गर्दै आर्थिक क्रान्तिको बाटोमा अघि बढेको छ’ मन्त्री शर्माले भने, ‘राष्ट्रिय पूँजी र स्वाधिन अर्थतन्त्र निर्माणको लागि सबै लाग्नुपर्ने बेला आएको छ ।’ उनले आउँदो १५ वर्ष भित्रमा मुलुक आर्थिक विकासको नयाँ चरणमा पुग्ने समेत दावी गरे ।

शान्ति, सुव्यवस्था र सार्वजनिक प्रशासनलाई सुदृढ गराउन आफू लागिपरेको भन्दै मन्त्री शर्माले सबैको सहयोगको अपेक्षा गरे । कार्यक्रम उद्घाटनपछि बोल्दै सङ्गठनका केन्द्रीय उपाध्यक्ष श्याम श्रेष्ठले उद्योग, व्यवसायको प्रवद्र्धन र व्यावसायीको हकहितमा सङ्गठन सक्रिय रहेको बताए । उनले पछिल्लो पटक बनेका स्थानीय तहसम्म आफ्नो संठन विस्तार गरेको व्यवसायीको संस्था राष्ट्रिय उद्योग व्यापार संगठन मात्र भएको बताए ।

उनले सङ्गठनलाई देशभरका स्थानीय तहमा विस्तार गर्ने योजना रहेको सुनाए । ‘राष्ट्रिय अर्थतन्त्र र स्वाधीनताको लागि सङ्गठन बनेको हो’ उपाध्यक्ष श्रेष्ठले भने, ‘देशकै ठूलो व्यावसायिक सङ्गठन बनाउने हाम्रो लक्ष्य छ ।’

सहभागी

संगठनलाई स्थानीय तहको राजश्व परामर्श समितिमा सहभागी गराउन माग
स्थानीय तहमा शाखा विस्तार गरेको राष्ट्रिय उद्योग व्यापार संगठनले आफ्नो संस्थाका प्रतिनिधिलाई गाउँपालिका र नगरपालिकाको राजश्व परापर्श समितिमा अनिबार्य सहभागी गराउन माग गरेको छ ।

संगठनका केन्दिय्र उपाध्यक्ष श्याम श्रेष्ठले स्थानीय तहलाई आत्मनिर्भर र आर्थिक रुपमा समृद्ध बनाउनुपर्नेमा जोड दिए । ‘राष्ट्रिय उद्योग व्यापार संगठन स्वाधिन अर्थतन्त्रका पक्षधर उद्योगी व्यवसायीको साझा संस्था हो’, श्रेष्ठले भने, ‘स्थानीय स्रात, साधन र जनशक्तिको परिचालन गरेर समृद्धिको बाटोमा अघि बढ्न स्थानीय तहसँग सहकार्य गरेर जाने संगठनको नीति छ, यसका लागि राजश्व परामर्श समितिमा हाम्रो प्रतिनिधित्व आवश्यक छ ।’

 

बागलुङका १० वटै स्थानीय तहमा शाखा र महिला उद्यामी समिति
नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनले बागलुङका १० वटै स्थानीय तहमा आफ्नो शाखा गठन गरेको छ । ‘जिल्लाका ४ नगरपालिका र ६ गाउँपालिकामा हामीले संगठनको शाखा गठन गरिसकेका छौँ’, जिल्ला कार्यसम्पादन समिति सदस्य राज थापाले भने, ‘सवै तहमा राष्ट्रिय स्वाधिनता पक्षधर उद्योगी व्यापारी संगठित भएर समृद्धिको बाटोमा अघि बढ्नु आवश्यक छ ।’

उनले महिला आफै उद्यामशिल बनेर आफु, परिवार, समाज र देशलाई नै आत्मनिर्भर बनाउनुपर्ने अवश्यकतालाई महसुस गर्दै सवै स्थानीय तह मतहतमा छुट्टै महिला उद्यामी समिति गठन भएको जानकारी दिए ।

स्थानीय तहले तोकेको कर महंगो भएको व्यवसायीको गुसानो
उद्योगी व्यवसायीले चालु आर्थिक बर्षका लागि कतिपय स्थानीय तहले तोकेको कर महंगो भएको गुनासो गरेका छन । बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष जयराम भारीले चालु बर्षको लागि स्थानीय तहबाट पारित भएको कतिपय करको दर अघिल्ला बर्ष भन्दा ५, ६ गुणाले बढी भएको बताए ।

‘ढोरपाटन नगरपालिकामा राजनितिक दलले समेत कर बढि भयो भनेर कुरा उठाउनुभएको छ’, अध्यक्ष भारीले भने, ‘बागलुङ नगरपालिकामा पनि हामीसँग सल्लाह नगरि अधिकांश करको दर एक्कासी बढाईएको छ, यसले व्यवासयीलाई निरुत्साहित गर्ने सम्भावना छ ।’

उनले व्यवासायीलाई मर्का नपर्ने गरि करको दर समायोजन गर्नुपर्ने बताए । यसबारे अनौपचारिक छलफल समेत भएको जानकारी दिए ।
राष्ट्रिय उद्योग व्यापार संगठन ४ नम्बर प्रदेशका उपाध्यक्ष अर्जुन चोखालले उद्योग बाणिज्य संघ र व्यवसायीबाट गुनासो आएका स्थानीय तहसँग समन्वय गरेर अव्यवहारिक देखिएको कर समायोजन गर्न संगठनले पहल गर्ने बताए ।

व्यवहारिक नभएको भए छलफल गरेर मिलाउन सकिन्छ उपप्रमुख खड्का
करको दरबारे व्यवसायीको तर्फबाट गनासो आएको नमिलेका विषयमा छलफल गरेर मिलाउन आफुहरु तयार रहेको बागलुङ नगरपालिकाका उपप्रमुख सुरेन्द्र खड्काले बताए । ‘व्यवसायी साथीहरुबाट कर बढि भयो भन्ने कुरा पनि आएको छ’, खड्काले भने, ‘स्थानीय तहको प्रमुख आम्दानी कर हो, राज्य चलाउनपनि कर त तिर्नै पर्छ तर नमिलेका कुरा मिलाएर जान हामी तयार छौँँ ।’

आत्मनिर्भर अर्थतन्त्र आवश्यक–नेताहरु
नेताहरुले आत्मनिर्भर अर्थतन्त्र आवश्यक रहेकोमा जोड दिए । नेकपा माओवादी केन्द्र बागलुङका संयोजक चन्द्रबहादुर बुढा सागरले स्वाधिन र आत्म निर्भर अर्थतन्त्र निर्माणको मुद्धामा आफ्नो पार्टी पनि सहमत रहेको बताए । ‘जनयुद्ध तथा जनआन्दोलन लगायत संघर्षका विभिन्न चरण पार गर्दै मुलुकमा संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ’, सागरले भने, ‘अब स्थानीय उत्पादनलाई बढाएर आर्थिक विकास मार्फत नागरिकको जीवनलाई सहज बनाउनुपर्ने छ, राष्ट्रिय पुजीको निर्माण गर्दै अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने हाम्रो पार्टीको नीति नै छ ।’

नेपाल कम्युनिष्ट पार्टी बागलुङका नेता बाबुलाल शाक्यले संविधानमा समाजवाद लेख्दैमा शासन व्यवस्था समाजवादी नहुने भन्दै दलाल व्यवस्थाको अन्त्य गरेर वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नुपर्ने बताए । ‘देशको सिङ्गा अर्थतन्त्र केहि ठुला व्यवसायीको तहमा छ’, शाक्यले थपे, ‘हाम्रो अर्थतन्त्रमा धनी र गरिबविचको खाडल झन गहिरो बन्दै गएको छ ।’ उनले दलाल पुजीको अन्त्य गरेर सवै नागरिककालाई उत्पादनमुखी बटोमा लैजान राज्यको भुमिका त्यस अनुकुल हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्ती, राष्ट्रिय उद्योग व्यापार सङ्गठनका ४ नंं. प्रदेश संयोजक गोपी अधिकारी, बागलुङ शाखाका संस्थापक संयोजक लालचन्द्र राजभण्डारी, बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष जयराम भारी, नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरीष, बागलुङका प्रहरी प्रमुख प्रहरी उपरिक्षक चन्द्रकुबेर खापुङ, नेपाल राष्ट्रिय बाणिज्य संघ बागलुङका उपाध्यक्ष भवनराज बराल, राष्ट्रिय उपभोक्त मञ्च बागलुङका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ लगाएतले शुभकामना मन्तव्य राखे ।

अधिवेशनले सङ्गठनको नयाँ नेतृत्व चयन गर्ने बागलुङ शाखाका संयोजक रतन मलेपतिले जानकारी दिए । अधिवेशनमा जिल्लाका १० वटै स्थानीय तहबाट २ सय बढी प्रतिनिधिहरु सहभागी छन् । वि.सं. २०६४ सालमा स्थापना भएको सङ्गठनको पहिलो पटक जिल्ला अधिवेशन हुन लागेको हो । कार्यक्रम संयोजक श्रेष्ठको अध्यक्षता र सहसंयोजक बाबुडियर हमालको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung