
पश्चिम बागलुङमा छुट्टा छुट्टै तीन पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ६ पुगेको छ । निसीखोला गाउँपालिकाको दुई ठाउँमा गएको पहिरोमा एकै परिवारका ४ सहित ५ जनाको मृत्यु भएको हो । ढोरपाटन नगरपालिकामा १ जनाको ज्यान गएको छ । निसीखोला गाउँपालिका–२ बाहुनगाउँमा घरपुरिँदा बेपत्ता भएका एकै घरका ४ जनाको शव फेला परेको घटना स्थलबाट प्रहरी नायक निरीक्षक नारायण शर्माले जानकारी दिए ।
घटनामा ६८ बर्षीय मनिमान छन्त्याल, उनकी श्रीमती ६३ बर्षीय नन्दकली छन्त्याल, बुहारी २२ बर्षकी बिन्दु छन्त्याल र छोरी १८ बर्षीय गिता छन्त्यालको मृत्यु भएको हो । घटनामा एकै घरका चार जनाको मृत्युभएपछि आफन्त र सिङ्गो बाहुनगाउँ सोकमा ढुवेको छ ।
ढोरपाटन नगरपालिका–५ अधिकारीचौरका ओमबहादुर विकको घर पछिबाट खसेको पहिरोमा परिएर मृत्यु भएको हो । बिक पहिरो झरिरहेका बेला सामान निकाल्न खोज्दा पुरिएका बागलुङ प्रहरीका प्रबक्ता प्रहरी नायक उपरीक्षक (डिएसपी) अनिल खड्काले जानकारी दिए ।
उनका श्रीमति र छोरीलाई उद्धार गरिएकोमा छोरा सामान्य घाइते भएको प्रहरीलेको भनाई छ । त्यस्तै निसीखोला गाउँपालिका–१ हुल्दीमा पहिरोमा पुरिएर ७६ बर्षीय खगिसरा सिंजालीको ज्यान गएको छ । उनको पनि शव भेटिएको प्रहरी नायब निरीक्षक नारायण शर्माले जानकारी दिए ।
हुल्दीका १ सय ५० घर पहिरोको उच्च जोखिममा परेपछि त्यहाँका बासिन्दा सुरक्षित स्थानको खोजीमा जंगलतर्फ लागेका छन् । त्यहाँ अहिले पनि पहिरो झरिरहेको छ । पहिरोमा ज्यान जानेहरुको शव संकलन गरेर पोष्ट मार्टम गर्ने तयारी भएको उनले जानकारी दिए ।
पोष्टमार्टमका लागि घटना स्थलमै डाक्टर बोलाईएको छ । सडक पुरै अवरुद्ध भएकाले घटना स्थलबाट शव लैजान कठिनाई भएपछि प्राथमिक स्वास्थ्यकेन्द्र बुर्तीबाङबाट डाक्टर बोलाईएको हो ।
पहिरोले निसीखोलाका एक दर्जन बढी घर भत्किएका निसीखोला गाउँपालिका–१ का अध्यक्ष ईन्द्र मल्लले जानकारी दिए । देविस्थान बजारमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र समेत जोखिममा रहेको उनले बताए ।
हुल्दी गाउँका १ सय ५० घर विस्थापित
माथिबाट पहिरो झरेर पुरै वस्ती नै जोखिममा परेपछि निसीखोला गाउँपालिका–१ हुल्दीका १ सय ५० घर विस्थापित भएका छन् । उनीहरु घर छोडेर जंगलतर्फ लागेका घटना स्थाल पुगेका पत्रकार डम्मर बुढा मागरले जानकारी दिए । ‘पुरै गाउँ पहिरोको जोखिममा छ, म घटना स्थलमै छु’, पत्रकार बुढाले भने, ‘पहिरो अहिले पनि झरिरहेको छ ।’
त्यहाँ साना ठुला गरि तीन दर्जन बढी पहिरो गएको उनको भनाई छ । पहिरोमा बगेर दर्जनौँ पशुचौपाय मरेका छन् । पुरै बस्तीमा पहिरोको त्रास बढेपछि स्थानीय अन्नपात, लत्ता कपडा र पशु चौपाय लिएर दह भन्ने लेकतिर लागेका छन् । पहिरोले मध्यपडाडी लोकमार्गको बुर्तिबाङ रुकुम सडक खण्ड अबरुद्ध बनेको छ ।
बिजुलीको कुलो बगेपछि हजार घरधुरी अँध्यारोमा
निसीखोला गाउँपालिका वडा नम्ब–४ को निसीखोला दोस्रो लघु जलविद्युत आयोजनाको मुहान र कुलो पहिरोले बगएको छ । १ सय २० किलोवाट क्षेमताको विद्युत आयोजना बन्द भएपछि १ हजार ६५ घर अँध्यारोमा बस्नुपर्ने भएको आयोजनाका व्यवस्थापक रामप्रसाद चालिसेले जानकारी दिए ।
यो योजनाबाट निसीखोला को वडा नम्बर–३ र ४(साबिक बोहरागाउँ गाविस) का वासिन्दाले विजुली बाल्दै आएका थिए । विद्युत अवरुद्ध भएपछि स्थानीय एक दर्जन भन्दा बढी फर्निचर, ग्रील उद्योग र घरेलु उद्यम समेत सञ्चालन हुन सकेका छैनन् ।
गत बर्ष साउन १० मा पनि यस्तै विपत्ति आईलागेको थियो पश्चिम बागलुङमा
गत बर्ष साउनको बाढीले पु¥याएको क्षेती भुल्न नपाउँदै पश्चिम बागलुङसवासीले अर्को विपत्ति भोग्नु परेको हो । जिल्ला सदरमुकामदेखि ९३ किलोमिटर पश्चिममा बुर्तीबाङ बजार पर्छ । बुर्तिबाङदेखि पनि अझै पश्चिममा पर्ने दुर्गम बस्तीमाहरुमा यो विपत्ति आई लागेको हो ।
एक बर्ष पहिले साउन १० गते लगातारको बर्षासँगै भिषण बाढी पहिरो आउँदा ४ जनाको ज्यान गएको थियो । तीन वटा वस्ती पुरै बगेका थिए भने विद्युत आयोजना पुल, सडक लगायत सयौँ भौतिक संरचना ध्वस्त भएका थिए ।
ति संरचनाको निर्माण अहिलेसम्म हुन सकेको छैन । साबिक अधिकारीचौर गाविसमा ३० घर भएको छलहाल्ना र १७ घर भएको दोगाडी पुरै पहिरोमा पुरिएका थिए । त्यस्तै बोङ्गादोभानको बोङेगाखानीमा पनि पुरै वस्ती पहिरोले बगएको थियो ।
यो बर्ष पनि बाढी पहिरो फेरी दोहोरिएपछि पश्चिम बागलुङवासीले स्तब्ध बनेका छन् । पहिरोमा पुरिएर एकै घरका चारजनाको ज्यान गएपछि सिङ्गो बाहुन गाउँ सोकमा डुवेको छ ।