१ जेष्ठ २०८२, बिहीबार

 

बोधबाट मात्र संभव छ रुपान्तरण

– ओशो

वर्तमान शिक्षा प्रणालीले बाल्यकालदेखि नै भेद उत्पन्न गर्ने गरेको छ । बच्चाको मनमा भेद जन्मजात हुदैन । हाम्रो समग्र शिक्षा प्रणलीले भेद सिकाइरहेको छ । बच्चालाई अभेदतर्फ लैजाने शिक्षा आवश्यक छ ।

बच्चालाई त सपना र सत्यबीच पनि भेद हुँदैन । राति देखेको सपनाका कारण पनि उ बिहान, दिउसो रुन्छ । बच्चा अभेदको संसारमा हुन्छ । तर यो अभेद अज्ञानपूर्ण हो ।

अमृत र विषबीचको भेद सिकाउन जरुरी हुन्छ तर यस्तो भेदबीच पनि अभेद सिकाउन सकिन्छ । अमृत पनि कहिलेकाँही विष हुन्छ र विष पनि कुनै समय अमृत तथा औषधि बन्छ । यो अभेदतर्फ लैजाने शिक्षा हो । यस्तो शिक्षा बालकले पाउनुपर्छ । भेद जीवनका लागि काम चलाउन आवश्यक शिक्षा हो, यस्तो बोधको विकास हुन दिनुपर्छ । हामी मनुष्यको सीमाभित्र रहेकाले भेद देखिएको हो,यस्तो बोध बालकलाई हुनुपर्छ ।

शिक्षाले भेदभित्रपनि अभेदको धारणा बगाईरहेको बोध बालकलाई गराउनुपर्दछ । चीजहरु भित्र जोडिएका हुन्छन, यस्तो बोध विकसित हुन जरुरी छ । जीवन अखण्ड छ । भित्र र बाहिर, आत्मापरक र बस्तुपरक, चीज अलगअलग होइनन्, जोडिएको धारा एउटै हो ।

बालकलाई वास्तविकतामा यस्तै हुन्छ । शिक्षा र सँस्कृतिले मात्र उसलाई खण्ड सिकाएको हो, त्यसैले प्रणाली सच्याएर उसलाई अखण्डको बोध गराउन कठिन छैन । बच्चाले के देख्यो भने पिता घरमा अर्कै रुपमा प्रस्तुत हुन्छन, काम गर्ने ठाँउमा अर्काे देखिन्छन् । प्रार्थना गर्दा पिताको रुप भिन्नै हुन्छ, कामदारका अगाडि भिन्नै । बालकलाई यस्तो देखेर अचम्म हुन्छ, उसलाई यसबारे बुझ्न कठिन पर्छ । बच्चालाई पिताको आदार गर्न सिकाइन्छ, यसपछि बच्चाले घरमा काम गर्ने वयस्कलाई पनि उत्तिकै आदर गर्छ । वयस्क वा बृद्व नोकरलाई चाहिं किन आदार नगर्ने ? यो बच्चाको मनले बुझ्न सक्दैन । हामी त्यसलाई के सिकाउँछौं भने आफ्ना पितालाई आदार गर्नुपर्छ तर वृद्व भएपनि नोकरलाई त्यस्तो सम्मान दिन आवश्यक छैन । हामी यसरी बच्चालाई भेद सिकाउछौं ।

भेद सिकेपछि बच्चाले आफूभित्र दुईवटा अनुहार बनाउँछ । नोकरसँग अर्काे चेहेरा देखाउनुपर्छ, पितासँग अर्काे । मन्दिरमा अर्कै हाउभाउ देखाउनुपर्छ अनि अफिसमा अर्काे किसिमको । हामी यसरी बालकलाई खण्ड सिकाउँछौं । त्यसपछि यो भेद क्रमशः उसलाई पक्का लाग्न थाल्छ ।
शिक्षाको अवस्था वाल्यअवस्थादेखि नै बुबाआमादेखि लिएर स्कूल, कलेज, विश्वविद्यालयसम्म यस्तो हुनुपर्छ, जसले सबै चीज आपसमा जोडिएको भाव कायम राख्नुपर्छ । यसले मात्र बालकको अखण्ड व्यक्तित्व निर्माण हुन्छ । वास्तवमा इन्डिभिजुयलको अर्थ नै हो, एकत्व जो डिभिजीबल हैन जसको खण्ड खण्ड छैन ।

हाम्रो समाज र शिक्षाको वर्तमान प्रणालीले पर्सनालीटी बनाउँछ, इन्डिभिजुआलिटी पैदा गर्न सक्दैन । यसले व्यक्तिलाई व्यक्तित्व त दिन्छ, तर व्यक्ति बनाउँन सक्दैन । उसलाई धेरैवटा खण्डमा बिभाजित गरिदिनाले उ सबै खण्डमा अलग अलग हुन्छ । जहाँ जस्तो जरुरत हुन्छ त्यहाँ त्यस्तै व्यक्तित्व प्रकट गर्छ । व्यक्तिलाई भित्र एक हुन दिंदैन । यो वर्तमान शिक्षा प्रणालीको सबैभन्दा ज्यादै ठूलो कमजोरी हो ।

आजको शिक्षा प्रणलीले बर्तमान र भविष्य, साधन र साध्य, विद्यमान स्थिति र लक्ष्यबीच भेद खडा गरेको छ । समस्या यहीँ छ । हामी बच्चालाई भविष्य, साध्य र लक्ष्य सिकाइरहेका छौ । हामी भन्छौ, चोरी गर्नु हुदैन । चोरी नगर्ने लक्ष्य हो । त्यो भविष्यको कुरा हो, साध्य हो । आज चोरी गर्नु लाभदायक छ । समाजमा सबैले चोरी ठगी गरिरहेका छन् । शिक्षाले के बताईरहेको छ भने आज त कुनै न कुनै ढंगले चोरी गर्नै पर्छ । भोलि चोरी छोड्नुपर्छ । यो लक्ष्य हो ।

मनुष्य जीवनको लक्ष्य भन्ने कुरा नै ठूलो बेइमानीको कुरो हो ।

शिक्षाको यस्तो नयाँ व्यवस्था आवश्यक छ, जसले बच्चालाई झूट बोल्न नसिकाबस् । शिक्षाले भनोस, जब तिमी झुट बोल्छौ, त्यसलाई बुझ, चिन । यसबाट डराउने र भाग्ने नगर । मात्र बोध गर, तिमी झुट बोलिरहेका छौ । यो बोध र संवेदनशीलता यति बढ्ने छ, तिमी फेरी चोरी गर्ने वा झूट बोल्ने काम गर्ने छैनौ । झुट, चोरी र ठगीको जंजालमा परेपछि त्यो झन्झन् बलियो हुने छ । झुटले अन्य व्यक्तिलाई मात्र नोक्सान गर्ने होइन, आफुलाई सबैभन्दा बढी नोक्सान गर्छ । कहाँसम्म भने त्यस्तो व्यक्तिले कुनै व्यक्ति सत्य बोल्छ, कसैले चोरी र ठगी गर्दैन भन्ने पत्यार नै गर्न सक्दैन । त्यस्तो व्यक्तिले कुनै व्यक्तिले कसैको पनि भरोसा गर्न सक्दैन । त्यस्तो व्यक्तिले कसैको पनि भरोसा गर्न सक्दैन । उसमा मनुष्यता नै अत्यन्त क्षीण र कमजोर हुन्छ ।

आजको शिक्षाका ठेकेदारहरुले मुखले त सत्य बोल्नुपर्छ भनिरहेका छन, अर्कातिर उनीहरु झूटमा आधारित समाज बनाईरहेका छन् । एकथोक भन्ने अर्कैथोक गर्ने हाम्रो आधारभूत चरित्र नै बनिसकेको छ । तर हामीले बुझ्नुपर्ने कुरा के हो भने, झूटको आधारभूत कारण हो भय । सत्य बोल्नको निम्ति मानिसहरुलाई अभय तुल्याउन आवश्यक छ । दण्डको भय देखाएर झूटलाई प्रोत्साहन गरिन्छ । दण्डबाट बच्नकालागि झूट बोल्नु नै श्रेयकर छ भन्ने मान्यता स्थापित गरिन्छ । आज हाम्रो समाजको सारा व्यवस्थाले झूटलाई प्रोत्साहन गरिरहेछ ।

समस्याको गाँठी यहीँनेर छ ।

एउटा रोचक कथा छ।

एक व्यक्तिले अर्काे व्यक्तिलाई बिनाकारण छुरा हानेर हत्या गर्यो ।

चिन्दै नचिनेको व्यक्तिको हत्या ।

समुन्द्रको किनारमा दुबै बालुवामा पल्टिएर घाम तापिरहेका थिए ।

अचानक पहिलो व्यक्ति उठ्यो र दोस्रो व्यक्तिको पिठ्युमा छुरा रोप्यो । उसले त्यस व्यक्तिको अनुहार पनि कहिल्यै देखेन । अनुहार नै नदेखेको व्यक्तिलाई पिठ्यूतर्फबाट छुरा रोप्यो ।

त्यस हत्यारा व्यक्तिमाथि अदालतमा मुद्वा चल्यो ।

उसले अदालतमा भन्यो “मलाई जीवनमा के लाग्यो भने मैले जीवनमा केही पनि गरिन । मैले केही गर्न पाइँन, जीवन बेकारमा गयो । अखबारमा एक पटक पनि नाम छापिएन । अचानक बालुवामा पल्टिरहेको बेला के देखेँ भने अर्काे व्यक्तिको पिठ्यू घाममा टल्कीरहेको छ । मलाई मन लाग्यो, त्यसको पिठ्युमा छुरा रोपिदिऊ । एकपल्ट अखबारमा नाम पनि छापिन्छ, चर्चा पनि हुन्छ । अब मैले जीवनमा केही गरेजस्तो भयो । केहि गरियो रोमाञ्चक । त्यतिको लागि छुरा रोपिदिएँ । अरु कुनै कारण छैन ।”

उसको यो कुरालाई कसैले पत्याएनन् । अदालतले पनि मानेन । संसारमा कुनै मानिसले त्यसो गर्छ ? समाज पत्याउदैन । अदालतले उसलाई चेतावनी दिन्छ, तिमीलाई फाँसीको सजाय हुन्छ ।

त्यो व्यक्तिले भन्यो, “त्यो त मलाई मतलब छैन, अदालतलाई जे गर्नु छ गरोस, कुरा यति नै हो जति मैलै बताएँ । त्यो भन्दा बढी केहि छैन ।”

अदालतले साक्षी खोज्न थाल्यो । कुनै मानिसले आएर केही त भनोस, यो त पत्याउन नसकिने कुरा भयो ।

बल्लतल्ल एउटा साक्षी खोजियो ।

उसले अदालतमा आएर भन्यो,“यो व्यक्तिको आमाको मृत्यु भएको साँझतिर यसलाई मैले थियटरमा देखेको थिएँ, यो त्यस्तै छ, आमा मरेको रात यो नाचगान हेरिरहेको थियो ।”

अदालतले हत्यारालाई सोेध्यो, “के साँच्चै तिम्री आमाको मृत्यु भएकै रात तिमी थियटरमा नाच हेरिरहेका थियौ ?”

उसले भन्यो, “हो, नाँच हेरिरहेको थिएँ । मैले बिचार गरें – आमाको त मृत्यु भयो ! अब म जहिले थिएटर गए पनि आमा मरेपछि नै हुन्छु । अरु त कुनै उपाय रहेन । आमा मर्नुभन्दा अघि अब थिएटरमा कसरी जान सक्छु ? अब त जहिले जान्छु, आमाको मृत्यु भएपछि नै गएको हुन्छु । कसैको आमा मर्दैनन ? सबैका मर्छन ।”

अदालतले के भन्न चाहिरहेको छ भने यो मान्छे खतरनाक छ, यो आमा मरेको साँझ थिएटरमा नाटक हेरिहेको थियो ।

त्यस व्यक्तिले भन्यो,‘ मैले टिकट पहिल्यै लिईसकेको थिएँ थिएटरको ।’

अदालतले उसलाई पुनः प्रश्न गर्यो, तर उसले इन्कार गरेन । उसले थप भनाई राख्यो, “कसैले मलाई भन्यो, आमा मरेको दुःख तिमीलाई धेरै नै भयो होला । मैले भनें, पक्का दुःख भयो, पहिला त मलाई आमा मरेकोमा बढी दुःख भयो, तर केही क्षणपछि मलाई मलाई सुत्न नपाएकोमा बढी दुःख अनुभव भयो । मृत आमाका साथ रहनु प¥यो, रातभर सुत्न पनि सकिन ।”

यो सब सुनेर अदालतका न्यायाधीशले उसलाई भने, “ए विचित्र प्राणी, कम से कम तँ झूट त बोल् । मुर्ख यस्तो कुरा त नगर ।”

हामी एकातिर झुट नबोल भन्छौं । अर्कातिर यस्तो प्रणाली चलाएर झूट बोल्नका लागि प्रोत्साहन गर्छाै । डर देखाउछौं ।
सत्य अत्यन्त कठोर र निर्मम र निष्ठुर हुन्छ ।

हामीले बिर्सन नहुने तथ्य के हो भने, चोरी, ठगी, हत्या, झूटबाट भविष्यमा मुक्त हुने लक्ष्य होइन । तत्काल तीनबाट मुक्त हुन आवश्यक छ । वर्तमान शिक्षाले ती सबलाई भविष्यको मामिला बनाएर समस्यालाई स्थगन गरेको छ ।

‘भोलि’ जब आउँछ, त्यो ‘आज’ बनेर आउँछ । यसर्थ ‘भोलि’ कल्पना मात्र हो । ‘आज’ मात्र सत्य हो ।

ध्येय र साध्य पुरानो उपाय भए, कारगर भएनन् ।

बोध र समझबाट चै तत्काल रुपान्तरण सम्भव छ । रुपान्तरण वर्तमानमा हुन्छ, भविष्यमा होइन । बोधबाट समझदारी गहन बन्नपुग्छ । वास्तवमा शिक्षाको मुख्य काम यही हो । साधन र साध्यको भेदले धेरै प्रकारको समस्या मनुष्यले झेलिरहन विवश भएको छ । अतः शिक्षाको नयाँ प्रणालीमा बोधलाई सर्बाेपरि स्थान दिनु परेको छ । रुपान्तरण यसरी मात्र हुनसक्छ ।

(बीसौ शताब्दीका विख्यात भारतीय दार्शनिक ओशो रजनीश (सन् १९३१-९०) को प्रवचनमा आधारित पुस्तक शिक्षामे क्रान्तिबाट)

साभार: सिकाइ अनलाईन

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung