२ जेष्ठ २०८२, शुक्रबार

 

माझखर्कमा महाअष्टमी मेलाको तयारी

 “कला संस्कृतीको प्रदर्शन, स्थानीय विकास र पर्यटन प्रवद्र्धन” भन्ने नाराका साथ ताराखोला गाउँपालिका वडा नं। १ माझखर्कमा महाअष्टमी मेलाको तयारी भइरहेको छ ।

विजया दशमीको अवसर पारेर विगत झण्डै दुई दशकदेखि निरन्तर रुपमा विविध मनोरञ्जनात्मक कार्यक्रमहरूको आयोजना गर्दै आएको श्री शिव लेकाली जीवन ज्योति युवा क्लवले यस वर्ष पनि उक्त मेलालाई निरन्तरता दिने भएको छ । “युवाको एकता आजको आवश्यकता” भन्ने मूल नारालाई आत्मसाथ गर्दै स्थापना कालदेखि विविध मनोरञ्जनात्मक साथै जनचेतनामूलक कार्यक्रमहरूको आयोजना गर्दै आएको यस क्लवले माझखर्क चगाडी खेलमैदानमा “महाअष्टमी मेला २०७४” भनेर मेलाको तयारी थालेको हो ।

यहि असोज ६ गते देखि ११ गते सम्म चल्ने मेलामा खुल्ला पुरुष भलिबल, खुल्ला महिला भलिबल, एकल नृत्य, धनुषबाण, क्यारमबोर्ड, रस्साकस्सीलगायतको प्रतियोगिता हुने क्लवका प्रमुख सल्लाहकार एवं महाअष्टमी मेला व्यवस्थापन समितिका संयोजक श्री कर्ण बहादुर पुनले जानकारी दिनुभयो । प्रतियोगिताको साथसाथै “राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकारहरूको बेजोड प्रस्तुती रहने छ”, पुनले भन्नुभयो, “यस पटक पनि मयूँर अथवा याक नृत्यको विशेष स्थान रहनेछ” । त्यस्तै मेलामा शिवलेकाली मगर पञ्जे बाजामा लाइभ दोहोरी, मञ्चे बाजाकै विशेष प्रस्तुती, गोपिचन नाच, हास्यव्यंग नृत्य लगायतको सांस्कृतिक प्रस्तुतीहरू पनि रहने आयोजकले जनाएको छ ।

राष्ट्रिय खेल अर्थात बागलुङ जिल्लाकै लोकप्रिय खेल भलिबल प्रतियोगितामा प्रथम हुने टिमले नगद रु। ४०,५५५, ट्रफि, मेडल, खादा र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले नगद रु। २५,५५५, ट्रफि, मेडल, खादा र प्रमाणपत्र प्राप्त गर्नेछ भने सान्त्वना हुने २ टिमले नगद रु। ५००० प्राप्त गर्नेछन् । त्यस्तै खुल्ला महिला भलिबलमा प्रथम हुने टिमले नगद रु। १२,२२५, ट्रफि, मेडल, खादा र प्रमाण पत्र, द्वितीय हुने टिमले नगद रु। ८,२२५, ट्रफि, मेडल, खादा र प्रमाण पत्र प्राप्त गर्नेछ ।

करिब ६ दिन सम्म चल्ने मेलाको क्लवका प्रमुख सल्लाहकार श्री कर्णबहादुर पुनको संयोजकत्वमा हुने आयोजकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung