
बागलुङ शब्दको सम्बन्ध किराती राई भाषासँग छ । यस शब्दको अर्थ ‘सुँगुर जस्तो ढुङगो’ हुन्छ । मगर भाषामा ‘वाङ्’ को अर्थ समथर जग्गा चौर भन्ने लाग्दछ , ‘लुङ्’ को अर्थ ढुङ्गा । यी शब्दहरुको संयोजनबाट बागलुङ शब्द भएको हुनुपर्छ ।
बागलुङ शब्द तिब्बतो – बर्मिज परिवारसँग सम्बन्धित छ । नेवार नेपालको प्राचीन समुदाय हो । यिनीहरु नेपाल मण्डलका भुमिपुत्र पुत्री हुन् । नेपालको विश्वसम्पदा सूचीमा सुसूचीत १० सम्पदाहरुमध्ये ७ सम्पदाहरु स्वयम्भुनाथ स्तुप , पाटन दरबार परिसर , भक्तपुर दरबार परिसर , काठमाडौ दरबार परिसर , बौद्धनाथ स्तुप , चाँगुनारायण मन्दिर र पशुपतिनाथ मन्दिर नेवार समुदायकै देनको रुपमा लिन सकिन्छ ।
संयुक्त राष्ट्र संघमा दर्ता गरिएको नेपालको लिपि रञ्जना लिपि हो । नेपाल सम्वत्जस्तो नेपालको मौलिक सम्वत् पनि नेपालको गौरवको विषय हो । पर्वत राज्यअन्र्तगत बागलुङ रहँदा यसलाई बागलुङ चौर भनिएको छ । कालिका भगवतीको पुजारीको रुपमा विसं. १६१० भन्दा अगाडि बागलुङचौरमा खड्काहरु आइसेको देखेखिन्छ भने सं १७६५ अधि मुलपानीमा पन्तहरु र सं १७८० अघि सीम भान्सातिर आचार्यहरु बसोबास गरेको पाइन्छ । उनीहरु आउनुअघि मालढुङगा मगरहरु बस्ने गरेका र कालिका भगवतीको हाल रहेको स्थानमा स्थापना भएपछि हालको लभगाउँमा उनीहरु बसाई सरे ।
भक्तपुर नै बागलुङेहरुको मुल उद्गम थलो
सम्वत् १८४० मा पर्वतका राजा कीर्ति बम मल्लले भक्तपुरका राजा रणजीत मल्लको भित्रिनी पट्टीका छोरा अवधुत सिंहलाई उपल्लाचौरमा जग्गा विर्ता दिएका र निकासी माफी गरिदिएका थिए । सो समयमा पर्वत राज्यका भण्डारे जगतराम प्रधान रहेको देखिन्छ । उपल्लाचौरमा अवधुत सिंहले तेलिया इटाको , झिंगतिको छाना भएको कलात्मक काठको खाँवा र झ्याल ढोका भएको भव्य दरबार बनाएका थिए । पर्वत राज्य नेपालमा गाभिएपछि सं १८४३ मा अवधुत सिंहको विर्ता अपहरण भएको थियो । राजा राजेन्द्रको पालामा सो विर्ता थामिएको थियो । सं १८९६ सम्म अवधुत सिंहले विर्ता भोग गरेको देखिन्छ ।
सं १९१३ सम्ममा उपल्लाचौरमा नेवार र पर्वतेको कुरिया रहेको देखिन्छ । अवधुत सिंहलाई विर्ता दिदा स्वस्ति श्री श्री भनी दुई श्री लेखिएको छ । यसबाट उनको राजकीय सम्मान रहेको पुष्टि हुन्छ ।उनीसँग उनका सहयोगीहरु पनि आएका थिए । उनीभन्दा पहिले बेनी , कुश्मा , बागलुङमा नेवारहरु आइसकेको देखिएता पनि बागलुङबारे उपत्यकाका नेवारहरुले उनकै समयमा जानकारी पाँएका र रुचि बढेर गएको देखिन्छ । खास गरी भक्तपुरे नेवारहरु आएर बसोबास गरेपछि नै बागलुङचौरलाई बागलुङचौरहटिया भन्न सुरु गरेको हो ।
उपत्यकाबाट बागलुङ आइपुगेका नेवारहरमा प्रायः भादगाँउबाट आएका देखिन्छन् । बनेपाबाट बगाले खलक, भादगाँउ खौमाटोल डोको छेबाट साहू खलक, भादगाउँ सुकुलढोकाबाट मलेपती खलक , भादगाउँ ब्वलाछेबाट राजभण्डारी खलक ,पसः खल भादगाँउ खुम्बुबाट पाण्डौ खलक भादगाँउ इकुछेबाट सुन्डाँडाका सँय्जु खलक, भादगाँउबाट शाक्यमा कर्मी खलक पाटन र रामलालको पुर्खा काठमाडौ चोभारबाट बागलुङमा आएको पाइन्छ । त्यस्तै गरी दोलखा , पनौती, नाला धुलिखेलबाट पनि आएका भनिएको छ । बागलुङगे नेवारहरु धेरैजसो पाल्पाबाट आएको भन्ने पनि छ । उपत्यकाबाट गुल्मीको गेवाडी , रुपन्देहीको बेठरी , बन्दीपुर, पोखरा हुँदै बागलुङ आएका दृष्टान्तहरु पनि छन् ।
पर्वत राज्यको प्रशासनिक केन्द्रका रुपमा बागलुङ
पर्वत राज्य नेपालमा गाभिएपछि बेनी शहरबाट बागलुङ हटिया पर्वतको प्रशासनिक केन्द्र बन्यो । सं १८९७ मा बागलुङ अड्डा (अदालत) टक्सार कम्पु (सिपाही) सम्बन्धी कार्यालय रहेको पाइन्छ । १९०७ मा मलेपतिहरुको बण्डापत्रमा बागलुङचौरमा हटिया उल्लेख भएको हुँदा त्यो समयसम्म हालको पुरानो बजारको आधार तैयार भैसकेको पाइन्छ । हालको पुरानो बजार बन्नुअघि नेवारहरु उपल्लाचौरमा रहने गरेको कुरा दरबारको भग्नावशेष र इतिहास भैसकको कलेजी धारा गैरा धारा र कल्से धाराले पुष्टि गर्छ ।
नेपाल उपत्यकामा गोर्खालीहरुको घेराबन्दी सुरु भएपछि नेवारहरु उपत्यका छोड्न सुरु गरेको भएतापनि भादगाउँका राजा रणजीत मल्लको समयमा बिफरको महामारी चल्दा पनि बिफर आएकाहरुलाई भादगाउँबाट निकाला गरिएको थियो । नेपाल उपत्यका पृथ्वीनारायण शाहको नियन्त्रणमा आइसकेपछि नेवारहरुले सत्ता , अवसर स्रोत र पहुँच गुमाए । उनीहरुमाथि विभेद सुरु भयो र उनीहरु उपत्यका छोडेर बाहिरिने क्रम बढेर गयो । रणबहादुर शाहको समयमा १८६२ मा खोप नखोपाएका केटाकेटीहरुलाई उपत्यका बाहिर निकाला गरियो । नेवारहरु धेरै चाडपर्व मान्ने हुँदा धान्न नसकी रोजगारीको खोजीमा बाहिरिएका पनि देखिन्छ । उक्त कारणहरुबाट उपत्यका छोड्ने नेवारहरु नेपालको अन्य क्षेत्रहरुमा झै बागलुङचौर आइपुगेका हुन् । उनीहरु आउँदा बाग्लुङचौरको सबै जग्गा भगवती गुठी, पन्त , आचार्यहरुको विर्ता र पौडेलहरुको नियन्त्रणमा रहेको र केही जग्गा माझीको किपटको रुपमा रहेको अवस्था थियो । मलेपती आएपछि राजभण्डारीहरु उनीहरुको भाञ्जा भएको हुदाँ बागलुङ आएका भन्ने चर्चा पनि सुनिन्छ ।
पैसामा टक मार्ने कामदेखि लेखापढी , औषधोपचार र अन्य कलाशिल्प तथा व्यापार व्यवसायमा बागलुङे नेवारहरु
विस १८६२ मा इच्छाराम नेवार र जीतराम नेवारलाई टक मार्ने आदेश सरकारबाट भएको देखिन्छ । सं १९०२ को निदालमा लेखिएको अभिलेखमा बाईस पनि बेनी टक्सारका अड्डा बागलुङचौर गोरषेली पैसा टकसार तहबिल लेखिएको र त्यसको अख्तियार नरसिं प्रधानलाई भएको उल्लेख छ । उक्त कुराहरुले बागलुङमा नै टक मार्ने कार्य सीपका धनी नेवारहरुले गरी आएको देखिन्छ । बागलुङमा टक मारिएका तामाका १,२,५ पैसाका ढ्याकहरु आजभन्दा ५०–६० वर्ष पहिले प्रशस्त पाइन्थ्यो । त्यो जमानामा बागलुङका नेवारहरुको घरैपिच्छे हाते तान थियो । विसं. २००३ सालसम्म त्यो अवस्था थियो ।
प्राणेश्वर राजभण्डारीको पनि बज्यै भक्तपुरबाट बागलुङ बसाई सरेकीले बागलुङमा हाते तानबाट कपडा बुन्न सिकाएको भन्ने भनाइ पनि छ । काँशको भाँडाकँुडासमेत बनाउन बागलुङका नेवारहरु सिपालु रहेका देखिन्छ । जागिर खाने , लेखापढिको काम , आड्डा मालको काम, वैद्यको काम र झारफुकको काम , चौधरी तालुकदारीको काम, नली बुट्टा भर्ने काम, काठको काम र व्यापार व्यवसाय निकासी पैठारीको काम पनि नेवारहरुले गर्थे । कृषि पेशा पनि प्राय ः गरेको देखिन्छ ।
मठमन्दिर निर्माण र मर्मत सम्भारमा बागलुङगे नेवारहरु
वि सं १८४० मा उपल्लचौरमा भीमसेनस्थान स्थापना भैसकेको देखिन्छ । अवधुत सिंहले सो स्थापना गरेको हुनुपर्छ । त्यसैको नेरखेर छहरा धाराको हनुमान स्थापना भएको हुनुपर्छ । सं १८८४ अघि लाल सुब्बा नेवारले बाङ्गेचौरको उत्तर पूर्व लम्बोदर गणेशको स्थापना गरेको थिए । १९१९ मा राजनसिंहले देउरालीमा र १९८४ मा भिर गणेशमा घण्ट चढाएका थिए भने १९४९ मा जुजुमानले नारायणचोकको सूर्य विनायक र त्यसैताक त्यहाँको नाग स्थापना गरेको देखिन्छ । १९४९ मा भोला साहुले गणेशस्थानमा घण्ट चढाएको पाइन्छ । १९८३ तिर भारी खलकले लक्ष्मीनारायणको मन्दिर स्थापना गर्न अग्रसर रहेको देखिन्छ ।
च्वामुका बाजे हर्कमानले नौबीसे टोलको सिद्धिविनायक स्थापना गरेका थिए । पछि त्यहाँ श्याम कुदान थाङेले सानो मन्दिर बनाए । सं १९९१ मा बमबहादुर श्रेष्ठले पिता सन्तलाल र माता चन्द्रकुमारी श्रेष्ठको स्मृतिमा माइकुटी स्थापना गरेको , त्योभन्दा पहिले मलेपतिहरुले नारायणचोकको भीमसेन मन्दिर र त्यसपछि बुद्धिलाल चौधरीले उपल्लो भीमसेन मन्दिर बनाएको देखिन्छ । १९९४ मा नन्दकुमार श्रेष्ठले राधाकृष्ण मन्दिर बनाएको देखिन्छ ।
२००९ सालतिर बुद्धचोकमा बुद्धको प्रतिमा प्रतिस्थापित भएको पाइन्छ , सो भन्दा पहिले त्यहाँ विश्वकर्मा स्थापना गरिएको थियो । सुल्डाँडाको न्यायाधीश कुलबहादुर श्रेष्ठको पुर्खाले भिमसेन मन्दिर स्थापना गरेको पाइन्छ । सं १९१८ मा सुब्बा भवानीसिंह प्रधानले भगवती मन्दिरमा र कालिका भगवती मन्दिरको उत्तर ढोका अगाडिको आकर्षक पित्तलको सिँहको मुर्तिहरु नयाँ बजार निवासी हीराकाजी शाक्यका पिता बृजमान शाक्यले निर्माण गरेको यथार्थले नेवार अथवा शाक्यहरुमा मुर्तीकला सम्बन्धी विशेष ज्ञान भएको र त्यसको जगेर्ना गर्नमा यहाँका नेवारहरुको उल्लेखनीय योगदान रहेको स्पष्ट हुन्छ ।
बाटोघाटो निमार्ण र मरमत सम्भारमा बागलुङे नेवारहरु
नारायणचोकको चौतारी भक्तिलालले, त्यहाँबाट कैलाम पोखरीसम्म जाने बाटो र चौपारी पोखरी जुजुमानले बनाएका थिए । कालीगण्डकीको निरहेघाटमा नन्दकुमारका पत्नीहरुले २०१३ मा तिर झोलुङगे पुल बनाएका थिए । निरहे जाने बाटो राजभण्डारीहरुले, तित्याङ जाने बाटो अम्मरबहादुर (ग्वालि साहिला) ल, काठेखोलाको पुल टीकाबहादुर राजभण्डारीले, चर्के ढाँडमाथिको साँघु अश्विनीकुमारले, आनन्द धारा र चौतारी डि टेकनारायणले, लालीगुरासँ चोकदेखि मरेपिपल जाने बाटो शेरजङग राजभण्डारीले, श्रीनगर टोलको बाटो भक्तिलालले, लोकतान्त्रिक चोकदेखि पुरानो सिनेमा हल तोकसम्मको बाटो हरिशंकर श्रेष्ठले बनाएका थिए ।
सुल्डाँडाको पुरानो बाटो मर्मत सिंहजङग राजभण्डारीले गरेका थिए । काठेखोला जाने बाटोको वर पिपलका २ चौतारी हीराकाजी शाक्य र भक्तिलाल शाक्यले र निरहेको सत्तल देवबहादुर विजुक्छेले बनाएका थिए । चिप्लेटीमुनि भकुण्डे र तित्याङतर्फ जाने बाटोको वर पिपल पिता ताराप्रसादको स्मृतिमा अयोध्याप्रासद तथा श्यामप्रसाद बझान्थाछेका परिवारले बनाएका थिए । मरेपिपल निवासी चिरञ्जीवीकुमार श्रेष्ठ तथा सहनशीला श्रेष्ठले आफ्ना मातापिता दानबहादुर श्रेष्ठ तथा देवीकुमारी श्रेष्ठको स्मृतिमा छहरा पँधेरामा रहेको हुनुमान मन्दिरको जीर्ण पौवालाई जगैदेखि पक्की भवनका रुपमा निमार्ण गर्नमा योगदान गरेको देखिन्छ ।
त्यस्तै निरहे ओर्लने लाम्पाटामा नेवारहरुको दशौ र एघारौ दिनमा सम्पन्न गर्नुपर्ने ‘जाबो खायगु’ कार्यका लागि स्व दलबहादुर तथा बत्तीकुमारी प्रधानाङगो स्मितिमा हरिकुमार तथा मोहनकुमारी प्रधानबाट र स्व कृष्णकुमारी राजभण्डरीको स्मृतिमा उज्यालुजङ राजभण्डारीबाट संयुक्त, रुपमा पानी ट्याङ्की निमार्ण गरेमो पाइन्छ ।
त्यस्तै माइस्थान प्रवेश गर्ने मुल द्धारमा आफ्ना पिता माताको स्मिृतिमा स्व दिलप्रसाद प्रधानका परिवारजनले पानीको ट्याङ्की बनाएका छन् ।